बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एक्ली नेपाली महिलाको सपनाः अमेरिकामा ‘धौलागिरी किचन’

शुक्रबार, १० भदौ २०७३, १४ : ०७
शुक्रबार, १० भदौ २०७३
‘अमेरिकाको क्विन्सको ज्याक्सन हाइटमा आजकाल जो सुकैले पनि रेष्टुरेन्ट चलाउन सक्छ,’ अमेरिकामा कमला दिदी भनेर चिनिने कमला गौचन भन्छिन् । अब उनले निकै ठूलो चुनौती आत्मसाथ गरेकी छिन्– म्यानहाटनमा नेपाली रेष्टुरेन्ट खोलेर । सन् २०१२ मा गौचनले ज्याक्सन हाइटमा धौलागिरी किचनको शुभारम्भ गरिन् । रेष्टुरेन्ट र आफ्नो नाम स्थापित गरिसकेपछि म्यानहाटनको १२४ लेक्जिङ्टन एभमा सरेर उनले निकै ‘साहसिक कदम’ उठाइन् । ‘म्यानहाटन निकै महँगो छ र मेरा इमान्दार ग्राहकहरुलाई यहाँ ल्याउनु मेरो लागि निकै ठूलो चुनौती हो,’ गौचनले भनिन् । ‘मै सधैं चुनौतीहरुको सामना गरेरै बाँचेकी छु ।’ गत मार्च ४ मा उनले लेक्जिङटनस्थित एउटा खाली ठाउँ भाडामा लिइन् । उनलाई त्यो पुर्ननिर्माण गर्न लगभग दुई महिना लाग्यो । ‘मैले भाडा र इन्सुरेन्सबापत् अहिले १० हजार डलर तिरिरहेकी छु,’ उनले भनिन् । ‘ज्याक्सन हाइटमा हुँदा मैले ६ हजार डलर तिर्ने गर्दथे । यसका साथै मैले क्विन्समा नै सबै किनमेल गर्नुपर्ने हुन्छ किनभने त्यहाँ तुलनात्मक रुपमा सस्तो पाइन्छ ।’ अमेरिकामा बस्ने नेपाली ड्राइभरले दिएको सुझावका कारण आफूले नेपाली रेष्टुरेन्ट खोलेको उनी बताउँछिन् । ‘धेरैजसो नेपाली ड्राइभरले म्यानहाटनमा नेपाली खाना खान पाए आफूहरु निकै खुसी हुने बताएपछि मैले यसबारे निर्णय गरेकी हुँ ।’ उनी थप्छिन्, ‘थुप्रै नेपाली ग्राहकसँग कुराकानी गरेपछि म्यानहाटनमा नेपाली रेष्टुरेन्टको राम्रो व्यापार हुने मैले छाँट देखें ।’ उनले बनाउने खानाले नै उनलाई म्यानहाटन सर्ने साहस दिलायो । ‘उनको रेष्टुरेन्टमा पाइने खानाको स्वाद ठ्याक्कै घरमा बनाइने जस्तै हुन्छ,’ रेष्टुरेन्टका नियमित ग्राहक बुद्ध पौडेल, ३९, ले बताए । ‘यो रेष्टुरेन्ट नेपालीहरु बिच निकै चर्चित हुनुको पछाडि यो पनि कारण छ , ’ पौडेलले मःम खाँदै भने । ‘ज्याक्सन हाइटमा हुँदा देखि नै म यो रेष्टुरेन्टको नियमित ग्राहक थिएँ । उनी अहिले म्यानहाटनमा सरेकी छिन्, यसमा म निकै खुसी छु । यहाँको मूल्य पनि रिजनेबल छन् ।’ ज्याक्सन हाइटमा हुँदा उनी एक भारतीय रेष्टुरेन्ट, तावा फुड कर्प, सँग सहकार्य गर्दथिन् । रेष्टुरेन्टको लागि ठाउँ सानो भएका कारण एउटै ठाउँमा दुई रेष्टुरेन्ट थिए । उनको रेष्टुरेन्टमा मुश्किलले १० जना अट्दथे । ‘धेरैजसो मेरा ग्राहकहरु रेष्टुरेन्ट बाहिरै खाने गर्दछन्, ’ उनले भनिन् । ‘मैले पार्टीका अर्डर थुप्रै लिने गर्दथे र अहिले पनि यो गर्दै आएकी छु । यसले मेरो खानालाई चर्चित हुन मद्दत गर्यो ।’ मानिसहरुले बोलेकै भरमा रेष्टुरेन्ट मिडियामा पनि छाएको उनी बताउँछिन् । सन् २०१४ मा न्यूयोर्क टाइम्सले पनि उनको रेष्टुरेन्टबारे ‘निटनेश डजन्ट काउन्ट’ नामक शीर्षकमा एउटा आर्टिकल छापेको थियो जसले उनको रेष्टुरेन्टलाई चर्चाको शिखरमा पुर्याउन सफल भएको उनी बताउँछिन् । यसका साथै ‘ट्राभल च्यानल’ र ‘कोन्डे नाष्ट ट्राभलर’ ले पनि उनको रेष्टुरेन्टबारे आर्टिकल लेखेका छन् । सुसन ह्याङगेन, न्यूजर्सी स्थित रामापो कलेजकी प्राध्यापकले न्यूयोर्क टाइम्समा छापिएको रेष्टुरेन्टको रिभ्युपछि सुकुटी खान त्यहाँ आइपुगिन् । ‘मलाई लाग्छ, संसारको सबैभन्दा मिठो खानेकुरा यस्तै स–साना ठाउँमा पाइन्छन् जहाँ मानिसहरुले आफ्नो देशको खानाहरु पस्कन्छन्, विशेषगरी उनीहरुको समूदायका लागि,’ उनले भनिन् । ‘त्यसकारण मैले यसबारे पढ्ने बित्तिकै यहाँ आएँ ।’ ह्याङ्गेन, ४७, १४ वर्ष वासिङ्टन हाइटमा बसेकी उनी नेपाली बोल्छिन् र उनी नेपाल र नेपालीबारे लेख पनि लेख्छिन् । ‘धौलागिरी किचेन ज्याकसन हाइटमा हुँदा म ५–६ पटक त्यहाँ गएकी छु ।’ उनले भनिन् । ‘उनीहरुको सेल रोटी मलाई निकै मिठो लाग्छ ।’ ‘मलाई त्यहाँको अचार पनि मिठो लाग्छ ।’ उनले थपिन् । ‘उनीसँग थुप्रै स्वादका अचार छन् र यसले मलाई निकै आकिर्षत गर्ने गरेको छ । त्यहाँको मःम पनि निकै मिठो छ ।’ उनले दाल भातलाई असाधारण बताइन् । आफ्नो व्यवसाय फक्रनुमा आफ्नो इमान्दारीता प्रमुख रहेको गौचनले बताइन् । ‘म मेरा ग्राहकका लागि सधैं ताजा खानेकुरा दिन्छु ,’ उनले भनिन् । ‘यदि खाना बिक्रि भएनन् भने म त्यसलाई फालिदिन्छु ।’ ‘यदि मैले बासी खाना दिने गरेको भए, म उहिले यो व्यवसायबाट बाहिरिसकेको हुन्थें,’ उनी थप्छिन् । ‘म सँग उहाँहरुको विश्वास छ ।’ उनको कथाः सन् २००० मा बिजनेस भिसामार्फत अमेरिका छिरेकी गौचनले आफू एक मन्त्रीमार्फत त्यहाँ गएको बताइन् । उनले मन्त्रीको नाम भने बताइनन् । तर अमेरिका छिर्नलाई मन्त्रीले गरेको सहयोग उनले जिन्दगीमा कहिले नबिर्सने उनले बताइन् । पछि उनले स्थायी रुपमा अमेरिका बस्ने अनुमती पाएको बताइन् । लगभग सात वर्षको लागि उनले एक भारतीय परिवारको लागि हाउसकिपिङको रुपमा काम गरिन् । त्यतिबेला नै उनले आफ्ना श्रीमान्, छोरा र छोरीलाई अमेरिका ल्याउन सफल भएको बताइन् । ज्याक्सन हाइटस्थित लाली गुराँस नामको नेपाली रेष्टुरेन्टमा कुकको रुपमा काम गर्नको लागि उनले हाउस किपिङको काम छोडिदिइन् । ‘मेरो बुवाको नेपालको कैलालीमा आफ्नै रेष्टुरेन्ट थियो र मलाई कसरी खाना बनाउने भन्ने ज्ञान थियो,’ उनले भनिन् । त्यहाँ १८ महिना काम गरिसकेपछि उनले अरु २ रेष्टुरेन्टमा काम गरिन् । पछि उनले तावा फुड कर्पले आफ्नो ठाउँ सेयर गर्न चाहेको थाहा पाएपछि उनले ती व्यक्तिलाई फोन गरिन् । केही कुराहरुमा सम्झौता भएपछि उनी सन् २०१२ डिसेम्बर १ मा धौलागिरी किचेनकी सेफ र मालिक भइन् । उनका श्रीमान् अमेरिकाको तेज गतिसँग मिल्न सकेनन् र उनी अहिले नेपाल फर्किसकेका छन् भने उनकी छोरीको विवाह भइसकेको छ र उनीपनि अहिले नेपालमा छिन् । ‘न्यूयोर्कमा कुनै व्यवसाय सुरु गर्नु र त्यसलाई निरन्तरता दिनु निकै कष्टपूर्ण छ तर म मा त्यसो गर्ने दृढ संकल्प छ,’ उनले भनिन् । सुरुवाती अवस्थामा उनका २७ वर्षीय छोराले उनलाई सहयोग गरेको उनी बताउँछिन् । ‘तर मेरो छोरा अहिले यसमा चासो राख्दैनन् किनभने रेष्टुरेन्ट व्यवसाय चलाउनु निकै गाह्रो छ,’ उनले भनिन् । ‘त्यसकारण उनी अहिले ड्राइभिङ गर्छन् ।’ उनी अहिले नेपाली ग्राहकका साथै अन्तर्राष्ट्रिय ग्राहक तान्न निकै कसरत गरिरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप