मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यसरी पनि गर्न सकिन्छ समाजसेवा

शुक्रबार, १२ माघ २०७४, ११ : २७
शुक्रबार, १२ माघ २०७४

‘शैक्षिक शुल्क बुझाउन नसक्नेको अध्ययन नरोकियोस्,’ नेनाज फाउन्डेसन सचिव नारायण पन्थीले सुनाए, ‘त्यस्ता विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले फाउन्डेसन स्थापना भएको हो । सन् २०१५ मा स्थापित फाउन्डेसनले शिक्षाका लागि सहकार्य गर्छ । 

फाउन्डेसनले आर्थिक समस्यामा परेका विद्यार्थीलाई आर्थिक र भौतिक सहयोग गर्दै आएको छ । उसले सालिन्दा चारपटक आर्थिकसहित किताब, कापी, कलम, झोला उपलब्ध गराउँछ । ‘एकपटक सहयोग पाएका विद्यार्थीले १२ कक्षासम्म सहयोग पाउँछन्,’ सचिव पन्थीले थपे, ‘प्रत्येक तीन–तीन महिनामा आर्थिक र भौतिक सहयोग उपलब्ध गराउँछौं । प्रत्येकपटक २५ सयका दरले सहयोग पाउने विद्यार्थीले सालिन्दा १० हजार रुपैयाँ पाउँछन् ।’ 

मालारानी गाउँपालिका अर्घाखाँचीका आठ विद्यार्थीले नेनाजको सहयोग पाएका छन् । उसले तल्लोभन्दा आठ, नौ कक्षामा अध्ययनरतको खर्च बढी हुने भएकाले माथिल्लो कक्षाका विद्यार्थीलाई बढी सहयोग गर्ने योजना बनाएको छ । 

नेपाल र अस्ट्रेलियामा दर्ता भएको नेनाज स्थापनाको परिकल्पना नारायण पन्थीकै हो । १० वर्षदेखि अस्ट्रेलियामा रहेका पन्थीले नेपालमा रहँदासमेत बीएडमा शुल्क बुझाउन नसक्ने दुई÷चारजना विद्यार्थीको शुल्क बुझाइदिएका थिए । उनी अस्ट्रेलिया जानुअघि राप्ती शिक्षा क्याम्पस दाङमा पढाउँथे । उनले त्यतिबेला सहयोग गरे पनि अभिलेख छैन । सहयोगको अभिलेख राख्नका लागि पनि संस्थागत प्रयास थालिएको हो । 

नेनाज अस्ट्रेलियाले आर्थिक संकलनसँगै नीति निर्माण गर्छ । उसले धेरैभन्दा विद्यार्थीलाई कसरी सहयोग गर्न सकिएला भनेर योजना बनाउँछ । नेनाज नेपालले भने प्राप्त सहयोग वितरण गर्छ । प्राप्त सहयोग सही सदुपयोग भएको छ कि छैन भनेर निगरानी राख्छ । सहयोग पाउने विद्यार्थीका अभिभावकसँग समन्वय गर्नु त छँदै छ । 

फाउन्डेसनमा २८ सदस्य छन् । त्यसमध्ये आधा नेपाली, आधा अस्ट्रेलियन नागरिक हुन् । फाउन्डेसनमा रहेका १४ जना अस्ट्रेलियनमध्ये धेरैजसो नेपाल आएका र आउने इच्छा गर्ने छन् । नेपाललाई माया गर्ने उनीहरू समाजसेवी, सरकारी कर्मचारी र उद्योगी हुन् । 

संस्थालाई सहयोग गर्ने फाउन्डेसनबाहिरका पनि छन् । आधाभन्दा बढी सहयोगी अस्ट्रेलियन नागरिक हुन् । ‘संस्थागत सहयोग माग्दा अस्ट्रेलियामा पैसा संकलन गरेर नेपाल पठाउने भनेर सोच्छन्,’ पन्थीले प्रस्ट्याए, ‘तर, फाउन्डेसनको उद्देश्य सुनाएपछि सहयोग गर्न राजी हुन्छन् । हामीले संकलन गरेको सबै रकम विद्यार्थीले पाउँछन् । सेभ द चिल्ड्रेन र रेडक्रसलाई दिनुभन्दा तिमीहरूको संस्थालाई किन दिने भन्ने प्रश्न गर्छन् ।’

त्यतिबेला तर्कपूर्ण ढंगले सम्झाउन सक्नुपर्छ । ‘ठूलो संस्थाको प्रशासनिक खर्च ३० देखि ५० प्रतिशत हुन्छ । तर, हामीद्वारा संकलित रकम सतप्रतिशत विद्यार्थीको हातमा पर्छ,’ उनको दाबी छ, ‘त्यसैले यसको उपयोगिता छ । हाम्रो संस्थामा कार्यरत सबै स्वयम्सेवी हुन् । हाम्रो कहीं कतै खर्च हुँदैन । यति भनेपछि दाता कन्भिन्स हुन्छन् ।’ 

सहयोग गरेबापत दाताले केही अपेक्षा गर्छन् कि ? ‘गर्दैनन्,’ उनले भावी योजना सुनाए, ‘फाउन्डेसन सदस्यका लागि १ सय अस्ट्रेलियन डलर तोकेका छौं । त्यो भनेको ८ हजार नेपाली रुपैयाँ हो । अहिले नभए पनि भविष्यमा दाताको जन्मदिन, क्रिसमस वा नयाँ वर्षमा उहाँहरूले जसलाई सहयोग गर्नुभएको छ, उनीहरूको तर्फबाट शुभकामना कार्ड दिने र सम्पर्कमा राखिराख्ने उपाय निकाल्दै छौं ।’ 

‘प्राइमरी लेभल’का बालबालिका पढाउने विषयमा स्नातकोत्तर गरेका पन्थीले ‘चाइल्ड केयर’का बालबालिकालाई पढाउँछन् । उनले छोराछोरीको जन्मदिन वा महत्वपूर्ण अवसरमा आफन्त, शुभचिन्तकलाई निम्ता गर्छन् । निम्ता गर्दा सक्नुहुन्छ भनेर नगद दिनुहोस्, उपहार नल्याउनुहोला भनेर अनुरोध गर्छन् । संकलित नगदमा थपथाप गरेर संस्थाका लागि खर्चन्छन् । फाउन्डेसनको प्रशासनिक खर्च उनले नै बेहोर्दै आएका छन् । 

संस्थागत उद्देश्य पूरा गर्न अस्ट्रेलियामा वनभोज, ‘फन्ड राइजिङ डिनर’ लगायत विभिन्न कार्यक्रम आयोजना गरी आर्थिक संकलन गरिन्छ । त्यतिमात्रै होइन, फाउन्डेसनले अन्य स्रोत पहिचान गर्दै छ । ‘अस्ट्रेलियन नागरिकले सालिन्दा कर तिर्दा करदाताले बढी वा घटी कर बुझाएको खण्डमा दाबी गर्ने समय हुन्छ,’ पन्थीले भने, ‘कसैले कर धेरै बुझाएका रहेछन् भने सरकारबाट निश्चित प्रतिशत फिर्ता हुन्छ । नेनाजलाई सहयोग गर्नेको च्यारिटेबल संस्थाको डिजिआर (डिडिसेबल गिफ्ट रिसिपियन्ट) सरकारसँग फिर्ता गर्ने काम गर्छ ।’ 

यसैगरी, सम्बन्धित व्यक्तिले नेनाजलाई सहयोग गर्यो भने मैले यति पैसा फलानो संस्थालाई दिएको छु भनेपछि उसले त्यो पैसा करका रूपमा दाबी गर्न पाउँछ । त्यसका लागि पनि नेनाजले काम गर्दै आएको छ । ‘त्यसो भयो भने सहयोग गर्ने व्यक्तिलाई सजिलो हुन्छ । हामीलाई दुई सय डलर दिनेले करमा दाबी पाउँछ,’ पन्थीले भने, ‘उनको आम्दानीअनुसार कर फिर्ता हुन्छ ।’ 

ठुल्ठूला कर्पोरेट अर्गनाइजेसनले हामीले फलानो संस्थालाई सहयोग गरेका छौं भनेर विज्ञापन गर्न पाउँछ । नेनाजले पनि फलानो संस्थाले सहयोग गरेको हो भनेर विज्ञापन गरिदिन्छ । सम्बन्धित संस्थाले नेनाजलाई सहयोग गरेको पैसा सरकारबाट करबापत दाबी गरी फिर्ता पाउँछ । फाउन्डेसन त्यो प्रक्रियामा छ । यसले आर्थिक स्रोत संकलन गर्न सहज हुन्छ । त्यसो भएपछि धेरैभन्दा धेरै विद्यार्थीलाई सहयोग गर्न सहज हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप