आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चितवन दुर्घटनाका मृतक सबैको सनाखत, थप ९ जना बेपत्ता भएको भन्दै प्रहरीमा निवेदन

शनिबार, ११ भदौ २०७३, २२ : ०१
शनिबार, ११ भदौ २०७३

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डको चितवनको चण्डिभञ्ज्याङ गाविस–६ कालीखोला नजिकैबाट शुक्रबार बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु भएका २२ जनाकै सनाखत भएको छ ।

सनाखत भएका सबै शव परिवारले बुझेर लगेका छन् । घटनामा घाइते भएका १६ जनाको भरतपुरको दुई मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा मृत्यु भएकाहरुमध्ये शुक्रबार साँझ ७ बजेसम्म १८ जनाको सनाखत भएको थियो । बाँकी चारजनाको पनि आज सनाखत भएको छ । उनीहरुमा रौतहट झुनखुनुवा पत्थरा–३ का ३४ वर्षीय गणेश साह, रौतहटकै बन्जरा–३ की ४१ वर्षीया तुलसाकुमारी सिंह, रौतहटकै १४ वर्षीय कन्चन साह र भारत विहार शिवहर जिल्लाका ११ वर्षीय सन्दिप भगत रहेका छन् । रौतहटको गौरबाट पोखराका लागि बिहीबार साँझ छुटेको ग १ ख ३७०९ नम्बरको बस दुर्घटनामा परेको थियो । यसैबीच, बाइसजनाको मृत्यु हुनेगरी भएको चितवन कालिखोला बस दुर्घटनामा नौजना बेपत्ता भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन परेको छ ।

प्रहरीले दिएको जानकारीअनुसार सोही गाडीमा सवार आफ्ना आफन्त हराइरहेको भन्दै खोजीका लागि प्रहरीमा निवेदन परेको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

चारजना बेपत्ता भएको प्रहरीको रेकर्डमा भएपनि अहिले नौजना बेपत्ता भन्दै निवेदन परेकाले खोजी जारी रहेको उनले बताए । बेपत्तामध्ये सातजना रौतहटका छन् । एकजना भारतका र एकजना सर्लाहीका रहेका छन् । गाडीको चलानीमा भने उनीहरूको नाम उल्लेख नभएको प्रहरीले जनाएको छ ।

बेपत्ता भएको भनिएकामा रौतहटका शम्भु यादव, दिपेन्द्र शाह, रामबालक जयसवाल, मुकेश राम, ललनकुमार कलवार, विश्वनाथ शाह, रञ्जन यादव, सर्लाहीका राजेश सिंह तथा भारत रक्सौलका राकेश गुप्ता बेपत्ता भएको भन्दै निवेदन परेको प्रहरीले जनाएको छ ।

हिजो सनाखत भएका हरु रौतहट, मुडवलवा–३ बस्ने ३६ वर्षीय चितरञ्जन यादव, महम्मदपुर–८ बस्ने २४ वर्षीय प्रमोद राम, लौकाह बस्ने ३० वर्षीय राकेश यादव, कटहरिया–९ बस्ने ३५ वर्षीय वृजकिशोर कुशवाह, वसतपुर–१ बस्ने २५ वर्षीय गणेशकुमार साह, मुदलवा–६ बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव, गौर –१२ बस्ने ५५ वर्षीय जोखु साह (खानेपानी संस्थानका कर्मचारी) , रौतहटकै इनर्वा–७ बस्ने ६५ वर्षीय जोगेन्द्र गिरी, राजपुरतुल्सी–३ बस्ने २५ वर्षीय कामेश्वरप्रसाद साह, गरुडा–१४ जयनगर बस्ने २६ वर्षीय शेष सहजित आलम, लौकाह–२ बस्ने ३६ वर्षीय सचिन्द्रप्रसाद यादव र गौर –१३ बस्ने ३५ वर्षीया सन्ध्या श्रीवास्तव छन् । सनाखत भएका अन्यमा कास्की पोखरालभल्ली डाँडा बस्ने ४१ वर्षीय चित्रबहादुर बोहरा (राकेश) र बसका चालक कास्की, लेखनाथ–१ बस्ने ३३ वर्षीय लोकराज पौडेल , भारत पूर्वी चम्पारण विहार बस्ने ३६ वर्षीय थेकन ठाकुर र ३७ वर्षीय शङ्कर ठाकुर, भारत मोतीहारी बस्ने ४० वर्षीय रामसागर भगत र मोतीहारी बेरेवाढाका थाना विहार बस्ने ३५ वर्षीया नथुनी चौधरी ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप