आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्याम्पस प्रमुखमाथि ६ आरोप लगाउँदै विद्यार्थी आन्दोलित

आइतबार, १२ भदौ २०७३, ०६ : ०६
आइतबार, १२ भदौ २०७३

नुवाकोट– नुवाकोटको नुवाकोट आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नारायणमान डंगोलविरुद्ध विद्यार्थीहरुले विभिन्न आरोप लगाउँदै आन्दोलन चर्काएका छन् । उनले भ्रष्ट्राचार गरेको तथा कमिशन र ठगीधन्दा चलाएको लगायतको आरोप लगाउँदै विगत तीन महिनादेखि विद्यार्थीहरु आन्दोलित बनेका हुन् । डंगोललाई कारबाही गरी शुसासन र पारदर्शीता कायम गर्न विद्यार्थीहरुले क्याम्पस प्रशासनसँग माग गरेका छन् । यस्तै उनीहरुले क्याम्पसमा अनिश्चितकालिन तालाबन्दीसमेत गर्दै क्याम्पस प्रमुख डंगोलको राजिनामा समेत मागेका छन् । डंगोलविरुद्ध आन्दोलन अनेरास्ववियू, अखिल (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघ गरी तीन विद्यार्थी संगठनले कार्यगत एकता नै गरेका छन् । संयूक्त विद्यार्थी मोर्चा खडा गरी आन्दोलनमा उत्रिएका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले बुधवारदेखि अर्को चरणको आन्दोलन थालेका छन् । क्याम्पसमा हुने विकास निर्माण कार्यमा कमिसनका लागि बिना प्रकृया ठेक्का सम्झौता, विद्यार्थी शुल्कमा ठगी, दोहोरो सुविधा लिनेजस्ता क्याम्पस प्रमुखको गैरकानुनी गतिविधिले बदमासीको पनि पराकाष्ठा नै नाघेको विद्यार्थी संगठनको आरोप छ ।

पेन्सनप्राप्त प्रमुख डंगोलले लिइरहेको दोहोरो सुविधालेसमेत नपुगेर क्याम्पसमै कार्यरत प्राध्यापक र विद्यार्थी नेता भनिएका केही व्यक्तिसँग मिलेर कमिशन लिँदै गरिब विद्यार्थीमाथी भइरहेको ज्याजती, भ्रष्ट्राचार र दादागिरीविरुद्ध लड्न आफूहरु एक भएको अनेरास्ववियूका क्याम्पस कमिटि अध्यक्ष सत्य रिमालले बताए । नुवाकोटकै शैक्षिक केन्द्र मानिने यो क्याम्पसलाई मागीखाने भाँडो बनाउँदै विद्यार्थीको भविष्यमाथी खेलबाड गरिएको टुलुटुलु हेरेर नबस्ने र त्यसका विरुद्ध शसक्त आन्दोलनमार्फत् प्रतिकार गरिने अखिल (क्रान्तिकारी) का अध्यक्ष राजेन्द्र पनेरुले चेतावनी दिए । विद्यार्थीलाई कुनै सेवा र सुविधा नदिने तर, विद्यार्थीकै नाममा विभिन्न सेवा शुल्कको नाममा आर्थिक भार थोपरेर विद्यार्थीमा खुलेआम भइरहेको ठगी र दिनानुदिन क्याम्पसमा मौलाएको भ्रष्ट्राचार नेपाल विद्यार्थी संघले सहन नसक्ने त्यसका इकाई अध्यक्ष अनिल ढकालले बताए ।

क्याम्पस प्रमुख डंगोलमाथी लागेका ६ आरोप १. भवन निर्माणका लागि प्राप्त २८ लाख रुपैयाँको वैदेशिक सहायतामा घोटाला भएको । जसमा समय अभावको कारण देखाएर विना प्रकृया अवैधानिक र एकलौटी ढंगले निर्माण गरिएको । २. भित्तेपात्रो छपाईका क्रममा अनियमितताका साथै भ्रष्टाचार भएको । ३. सफ्टवेयर जडान गर्ने क्रममा ३५ हजार रुपैयाँ लागत पर्ने सफ्टवेयरलाई १ लाख ५० हजार रुपैयाँमा आफूखुसी सम्झौता गरि जडान गर्ने कार्य सुरु गरेको र त्यसको जानकारी पाएलगत्तै विद्यार्थीले रोक लगाएको । ४. क्याम्पस हाताभित्र चक्रपथ निर्माण गर्ने बहानामा सधैँजसो विनाप्रकृया टेण्डर नै नगरी कामदार लगाउने गरेको र जसमा १५०० रुपैयाँको भर्पाई गराई ८ सय रुपैयाँ मात्रै दिने गरिएको । ५. सम्बन्धित सबै पक्ष (क्याम्पस सभा सदस्य, सञ्चालक, प्राध्यापक र विद्यार्थी) सकैसँगपनि छलफल र सहमति नै नगरी मनोमानी ढंगले आफू अनुकुल विद्यान निर्माण र पास गर्ने गरिएको । ६. नेपाल सरकारले अवैधानिक भनिएको दोहोरो सुविधा प्रयोग गरी क्याम्पस प्रमुख पदको दुरुपयोग र खिल्ली उडाएकोले नैतिक रुपमा राजिनामा दिनुपर्ने ।

के भन्छन् डंगोल ? ढंगोलले भने आफू वैधानिक रुपमा नै क्याम्पस प्रमुख र पूणकालिन भएको दाबी गरेका छन् । क्याम्पसमा हुने हरेक कामकारबाही प्रकृयामा विधिसम्वत भूमिका निर्वाह गरिरहेको उनले बताए । ‘क्याम्पसको निति, नियम र विधानविपरित काम गर्नेहरुले मविरुद्ध षड्यन्त्र रचेका हुन्, उनले प्रष्ट पार्ने कोसिस गर्दै भने, यसैको परिणाम क्याम्पसका कतिपय प्राध्यापकहरु र सञ्चालक समितिमा रहेकाहरुले नै आफ्नो स्वार्थ पूरा गर्नकै लागि विद्यार्थी संगठनहरुलाई मेरो विरुद्ध प्रयोग गरिएको हो ।’

यसैगरी, क्याम्पसका सञ्चालक समितिका अध्यक्ष वसन्तलाल श्रेष्ठले डंगोल सञ्चालक समितिको निर्णयबाट विधिसम्वत रुपमा नै क्याम्पस प्रमुख भएको र पहिलो कार्यकालमा प्रशंसनिय काम गरेकाले दोस्रो कार्यकाल पुनः थप गरिएको बताए । ‘ अध्यापनरत प्राध्यापकहरुलाई क्याम्पसमै पूर्णकालिन हुनुपर्ने निति बनाइएको छ, उनले भने, ‘क्याम्पसमा पूर्णकालिन भएर पढाउन नचाहने र अधिकाँश समय बाहिर आफ्नो अरु व्यवसाय गर्नेहरुले क्याम्पस प्रमुखसहित हामीविरुद्ध आतंक मच्चाएका हुन् । जो–जो संगठनले जे–जे मन लाग्छ गरुन्, हामीलाई केही असर पर्दैन ।’ तर विद्यार्थी मोर्चाले भने क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तलाल श्रेष्ठले विद्यार्थीहरुको समस्या तथा जायज मागलाई वेवास्ता गर्दै क्याम्पस प्रमुख डंगोलको अनुचित प्रभाव र प्रलोभनमा परेर उल्टै विद्यार्थीहरुलाई धम्क्याउने, हप्काउने काम गरेको आरोप लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप