मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्लेनसँगै आकासमा उड्ने ‘एक्ली’ आमा

आइतबार, १२ भदौ २०७३, १४ : २१
आइतबार, १२ भदौ २०७३

समयको गतिसँगै हरेक महिलाको चाहना हुन्छ आमा बन्ने । विमान परिचारिका अपवाद हुन सक्दैनन् । जब तिनमा मातृत्व भाव जागृत हुन्छ, जागिर छाडेर पनि आमा बन्न तयार हुन्छन् । तर प्रतीक्षा राईको कथा फरक छ, जसले आमा र विमान परिचारिकाको भूमिका सँगसँगै लान सफल भएकी छिन् । जो आमा बनेर विमान परिचारिकाका रुपमा बुद्ध एयर फर्कने पहिलो महिला बनेकी छिन् ।

जब उडानका लागि तयार जहाजमा यात्रुहरु पस्न थाल्छन्, उनी मुस्कानका साथ नमस्कार गर्दै स्वागत गर्छिन् । नम्र बोली, हसिलो मुहार र मिजासिलो बानी उनका थप विशेषता हुन् । तिनमा सहयोग र सम्मानको भाव लोभलाग्दो छ । विमानभित्रका यात्रुलाई मुस्कानसहितको सेवा दिने उनको सुन्दरता कुनै चर्चित मोडेलभन्दा कम छैन । उनी हुन्– बुद्ध एयरकी वरिष्ठ विमान परिचारिका प्रतीक्षा राई । उनी भर्खरै किशोरावस्था पार गर्दै गरेकी युवती होइनन्, उनी हुन् एउटी आमा । प्रतीक्षाले सन् २०११ मा छोराको जन्म दिएकी थिइन् । गर्भावस्थाका बेला उनलाई बुद्ध एयरले पछि परिचारिकाकै रुपमा लिने नलिने निश्चित थिएन । ‘मलाई फेरि एयर होस्टेसकै रुपमा करियरमा फर्कन्छु फर्कन्न भन्ने दोधार नै थियो ।’ उनी भन्छिन्, ‘त्यसबेला कम्पनीको नियम नै त्यस्तै खालको थियो ।’ अझ कतिपय राष्ट्रिय अन्तर्राष्ट्रिय विमान कम्पनीहरुमा जागिर अवधिभर बिहेवारीमा रोक नै लगाएको पाइएको छ । तर पछि, प्रतीक्षा सुत्केरी नहुँदै कम्पनीले यो नियम परिवर्तन गरेर एयर होस्टेसलाई बच्चा जन्माउन र परिवार बसाउन बाटो खुला गरिसकेको थियो ।

प्रतीक्षाको जीवनमा एउटा सबैभन्दा महत्वपूर्ण संयोग छ– बुद्ध एयर र आफ्नो छोराको एउटै जन्मदिन । उनले पहिलो सन्तानका रुपमा ११ अक्टुबरमा छोरालाई जन्म दिइन्, जुन दिन बुद्ध एयरको पनि वार्षिकोत्सव हो ।

‘हरेक सदस्यलाई हामीले दक्ष बनाउन सबैखाले सीप सिकाएका छौँ । उनीहरु हाम्रा हरेक उपलब्धिका साक्षी हुन् ।’ बुद्ध एयर क्याबिन क्रिउतर्फका कार्यकारी प्रबन्धक भवानी शंकर श्रेष्ठ भन्छन्, ‘त्यसैले गर्दा हामीले उनीहरुको परिवार बढाउने चाहनाकै आधारमा जागिर छोडाउनु न्यायसङ्गत हैन ।’ प्रतीक्षा राईलाई नै हेर्ने हो भने उनले बच्चा जन्माउने निर्णय गर्दा लामो समय बुद्ध एयरमा काम गरिसकेकी थिइन् । उनले छाडेर जाँदा कम्पनीले एउटा अनुभवी र दक्ष एयर होस्टेस गुमाउथ्यो भने राईका लागि पनि अर्को जागिर खोज्नुपर्ने हुन्थ्यो । उनले सन् २००० मा नेपाल एयरलाइन्सबाट जागिर सुरु गरेकी थिइन् । त्यसको दुई वर्षपछि नै उनले बुद्ध एयरमा काम थालिन् । १६ वर्षमा राईको दक्षता मात्र बढेको छैन, आत्मविश्वास र कार्यक्षमता उच्च हुँदै गएको छ । त्यस्तो कामदारलाई गुमाउन न बुद्ध एयर चाहन्थ्यो न त यो काम छाडेर प्रतीक्षा नै अरु जागिर खोज्न चाहन्थिन् । आफ्नै बच्चा हुनुपूर्व नै उनले आमाले गर्ने जस्तै हेरचाह गर्नुपथ्यो तर बच्चाको हैन, यात्रुको । यसले आज पनि निरन्तरता पाएको छ । जब जहाज अग्ला पहडाका चुुचुरा र आकासको बादल छिचोल्दै अघि बढ्छ, पतीक्षाको ‘प्रतीक्षा’ गर्ने समय सकिन्छ । उनले हरेक यात्रुलाई सेवा र सल्लाह दिनुपर्छ । ‘धेरैले एयर होस्टेसको काम सजिलो देख्छन्,’ राई भन्छिन्, ‘मुसुक्क मुस्काउँदा पुग्ने काम सम्झिन्छन् तर हाम्रो मुख्य चिन्ता चाहि“ यात्रु र पूरै जहाजको सुरक्षामा केन्द्रित हुन्छ ।’ प्रतीक्षाको जीवनमा एउटा सबैभन्दा महत्वपूर्ण संयोग छ– बुद्ध एयर र आफ्नो छोराको एउटै जन्मदिन । उनले पहिलो सन्तानका रुपमा ११ अक्टुबरमा छोरालाई जन्म दिइन्, जुन दिन बुद्ध एयरको पनि वार्षिकोत्सव हो । त्यसैले त उनी अहिले पनि त्यस दिन दुईवटा उत्सव मनाउँछिन्–एउटा अफिसको वार्षिकोत्सव र अर्को घरमा छोराको जन्मदिन । अफिसमा वार्षिकोत्सवको केक काटेर घर पुग्दा उनलाई छोराको ‘बर्थ डे केक’ पर्खिरहेको हुन्छ । बच्चा जन्मेको ४५ दिनसम्म सुत्केरी बिदा बसेर प्रतीक्षाले काम सुरु गरिन् । बुद्ध एयरले आफ्ना कामदारलाई अलिकति पनि दक्षताका कमी हुन नदिन विशेष ध्यान दिने भएकाले उनले फेरि एकपटक दक्षताको परीक्षा दिनुप¥यो । तर प्रतीक्षाले यसलाई सजिलै पार गरिन् र कम्पनीमा आमा भएपछि निरन्तर एयर होस्टेस हुने पहिलो महिला बनिन् । ‘धेरैले मैले आमा बनेपछि पनि कामलाई निरन्तरता दिएर पुरानो नियमलाई परिवर्तन गराएको मान्छन्,’ राई भन्छिन् । बुद्ध एयरले आमा बनेपछि पनि एयर होस्टेसलाई पुनः जागिरमै फर्काउने निर्णयको एकदमै सकारात्मक प्रभाव परेको छ । आमा बनिसकेका महिलामा धैर्य राख्ने र रेखदेख गर्ने क्षमता अझ बढ्ने हु“दा यसको सकारात्मक असर परेको हो । प्रतीक्षा पनि आमा बनेपछि अझ सफल एयर होस्टेस बन्न सहयोग पुगेको बताउँछिन् । ‘आमा बनेपछि मलाई धेरै धैर्यवान हुने प्रेरणा मिल्यो,’ राई भन्छिन्, ‘अनि बच्चाहरुलाई कसरी रेखदेख गर्ने सिकेकाले अहिले जहाजमा यात्रा गर्ने बच्चाको रेखदेखमा विशेष ख्याल गर्छु ।’ प्रतीक्षा आमा बनिसकेपछि पनि उनको प्रगतिको शृङ्खला रोकिएको छैन । उनी २००७ मा एयर होस्टेसमा बढुवा भएकी थिइन् भने २०१० मा वरिष्ठ एयर होस्टेसमा बढुवा भइन् । राईले बुद्ध एयरकै अरु दुई क्याबिन सदस्यका साथ फ्रान्स पुगेर प्रशिक्षार्थी प्रशिक्षण लिने अवसरसमेत पाइन् र आईएफएस इन्ट्रक्टर बनिन् । प्रतीक्षाले आमा र आकासको भूमिकालाई एकदमै सहजरुपमा निभाइरहेकी छिन् । परिवारलाई दिन समयमा कमी त भएको छैन ? यस्तो सोधे उनको सहज उत्तर छ, ‘परिवारलाई दिने समय र कामका लागि मिलाउने भन्ने कुरा सहयोग र आफ्नो सङ्कल्पमा भर पर्छ ।’ उनका अनुसार घरको जिम्मेवारी र कामको जिम्मेवारी फरक विषय हुन् । उनी घरमा हुन्छिन् आमाको भूमिका निभाइरहेकी हुन्छिन् तर जब उनी एयर होस्टेसको पोसाकामा ठाटिन्छिन् तब जिम्मेवारी यात्रु सुरक्षामा केन्द्रित हुन्छ । ‘म पोसाक लगाएर कक्पिटमा छिर्छु आफूलाई वरिष्ठ एयर होस्टेसको जिम्मेवारीमा समाहित गर्छु ।’ उनी भन्छिन्, ‘सानो नानी छाडेर हिँड्नु सहज नभए पनि घरबाट निस्केपछि मेरो मुख्य उत्तरदायित्व भनेको एयर होस्टेसका रुपमा भूमिका निभाउनु नै हो । यसमा म सन्तुष्ट र खुशी छु ।’ बुद्ध एयरको सानो सहयोग र परिवारको साथले प्रतीक्षा आफ्ना मातहतका एयर होस्टेसका लागि प्रेरणा बनेकी छिन् । उनको सङ्कल्पले राईलाई आमा र एयर होस्टेसको भूमिका निभाउन प्रेरित गरिरहेको छ । तिनको सङ्कल्प उनका लागि मात्र होइन, बुद्ध एयर र अरुका लागि समेत अनुकरणीय बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप