बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

‘मैले कहिलेदेखि ब्रा लगाउन सुरु गरें मेरो दाइलाई पत्तै भएन’

आइतबार, १२ भदौ २०७३, १५ : ३५
आइतबार, १२ भदौ २०७३
मेरो निकै नजिककी साथीले मलाई एकदिन भनिन्, ‘एउटा कुरा सोधौं ? तिमी र तिम्रो दाइबिचको सम्बन्ध त्यति राम्रो छैन हो ?’ म अलमल्लमा परें । उनले भनिन्, ‘वास्तवमा कुरा के हो भने तिमीले तिम्रो आमा–बुवालाई लगातार फोन गरिरहेको मैले देखेकी छु तर तिम्रो दाइसँग कुरा गरेको कहिले पनि देखेको छैन । १ मिनेटको लागि पनि छैन ।’ दाइसँग मेरो निकै राम्रो सम्बन्ध छ । भेटेको खण्डमा हाम्रो घण्टौंसम्म कुराकानी चल्छ । तर मेरो साथीको यो प्रश्न जायज थियो । मैले सोचें । पछिल्लो पटक दाइको विवाहको वर्षगाँठमा कुरा भएको थियो । उनी अफिसमा थिए । म पनि अफिसमा नै थिएँ । सायद त्यो ३३ सेकेन्डको सम्वाद थियो । अहिले दुई महिना भइसक्यो । त्योभन्दा पहिले मेरो जन्मदिनमा कुराकानी भएको थियो, त्योभन्दा पहिले नयाँ वर्षमा । भाउजुको हातमा फोन भए, आधा घण्टासम्म कुराकानी चल्छ । दाइसँगको सम्वाद १ मिनेटभित्र सिमित हुन्छ । पछिल्लो वर्ष कलेजमा रहुञ्जेल, महिनामा एकपटक कुरा हुन्थ्यो । खर्च पठाउनका लागि । तर त्यसको लागि पनि ह्वाट्सएपमा मेसेज पठाउन सुरु गरियो । हामी यसमा खुसी त थिएनौं तरपनि हामीबिच यस्तै हुन्थ्यो । मेरी आमाले भन्ने गर्छिन्, जब म जन्मिएकी थिएँ, दाइ मेरो नजिक आउँन डराउँथे । उनी हाम्रो जेनेरेसनको पहिलो सन्तान थिए । धेरै दिन लाग्यो उनलाई सम्झाउन । आमाको छातीमा टाँसिएको यो मासुको डल्लोलाई ‘बहिनी’ भन्नुपर्छ भनेर उनलाई धेरैले सम्झाए । दाइ मभन्दा चार वर्ष जेठा हुन् । हामी दुबै मिलेर कुनै उट्पट्याङ काम गरेको मलाई ठोस् याद छैन । हामीले सँगै पिटाई खाएको, उनीबारे केही गोप्य कुरा थाहा भएको, यस्तो केही घटना छैनन् । हामी सँगै स्कूल पनि गएनौं । उनलाई को–एड स्कूलमा पढाइयो भने मलाई गर्ल्स स्कूलमा । त्यतिबेला हामीसँग हजुरबुवा हुनुभएकाले हामी दुबै पढाईमा औसत र राम्रोको बिचमा थियौं । यसमा लागि म हजुरबुवाप्रति निकै आभारी छु । दुबैको आवश्यकता भिन्न रह्यो । त्यसकारण कहिले पनि हामी दाजु बहिनीबिच केही कुराको लागि पनि झगडा भएन । उनले कहिले पनि आफ्नो ‘पकेट मनी’ बचाएर मलाई किरिंग गिफ्ट दिएनन् र मैले पनि उनको गोप्य प्रेमिका भएको कुरा लुकाएर राखिनँ । हामी यसरी नै हुर्कियौं । बुवाले मलाई निकै माया गर्नुहुन्थ्यो । हजुरआमाले दाइलाई । हजुरबुवाले दुबैलाई पढाउनुहुन्थ्यो । आमाले सबैकुरा ठिक्क मिलाएर राख्नुभएको थियो । लिंगभेद त्यतिबेला महसुर गरें जब हजुरआमाले दुधको ग्लासमा थप चिनी मिसाएर दाइलाई दिनुहुन्थ्यो यो दाइलाई निक्कै मनपर्दथ्यो । ठूलो आकारको अंगुरलाई छानेर दाइको कचौरामा हालिदिँदा पनि मैले यस्तै महसुस गरेकी थिएँ । सायद यो पनि लिंगभेद थिएन । मात्र घरको ठूलो बच्चा हुँदाको सुख थियो । जुन घरमा हामी हुर्कियौं, त्यहाँ भिन्न कोठा र गोपनीयताको सिद्धान्त अपनाइएको थिएन । अहिले लाग्छ कि मेरा आमा बुवालाई भिन्न कोठा यसकारण मात्र दिइयो ता कि हामी दुईको जन्म हुन सकोस् । मुख्य ढोकाबाहेक घरको कुनै पनि ढोका भित्रबाट बन्द गरिएन । कम्तिमा त्यतिबेलासम्म जतिबेलासम्म हामी निदाउँदैनथ्यौं । तर यो अचम्म छ कि गोपनीयता नहुँदा पनि म र दाइलाई कहिले पनि एकअर्काको व्यक्तिगत जीवनमा प्रवेश मिलेन । किनभने उनी किशोर थिए अनि म किशोरी । मैले बाल्यकालदेखि नै आफ्नो अण्डरवेयर आफैं धोएँ । हजुरआमाले दाइको अन्डरवेयर धुन कहिले बन्द गर्नुभयो, मलाई थाहा भएन । जसरी मैले सेनेटरी न्यापकिन प्रयोग गर्न कहिले सुरु गरे उनलाई थाहा भएन । आमाको दराजको एउटा यस्तो कुनामा सेनेटरी न्यापकिन राखिन्थ्यो जहाँ पुरुषको हात पर्न सक्दैनथ्यो । यसमा कुनै शंका छैन कि मेरो दाइले पनि यो ठाउँ देखेका छैनन् । पछि मैले ब्रा लगाउन सुरु गरें । सायद मेरो दाइलाई त्यसबारे पनि थाहा छैन होला । यदि थाहा थियो भने पनि उनले नदेखेझैं गरे होलान् । मेरी आमा जहिले पनि आफ्नो ब्रा, पेटीकोटलगायतका पहिरन अरु कपडा मुनी सुकाउँथिन् । मैले केही नभनी त्यही बानीको अनुसरण गरें । मैले पनि मेरा अन्र्तवस्त्र टिसर्ट, रुमालजस्ता लुगामुनि सुकाउन थालें किनभने मेरो दाइ वयस्क हुँदै थिए । जुन युवतीलाई उनी बहिनी भन्छन्, उनीभित्र पनि एउटा यस्तो जीव छ जसको स्तन हुनसक्छ, जो महिनावारी हुनसक्छिन्, जो सम्भोग गर्न सक्छिन्, जो बच्चालाई जन्म दिन सक्छिन् । सायद यो कुरा पत्ता लगाउन उनको लागि ठिक थिएन, यस्तो घरका सदस्यहरुले पनि सोच्ने गर्दथे । एकपटक मेरो महिनावारी सुरु भयो र घरमा प्याड सिद्धिएको थियो । आमाले पत्रिकाको सानो टुक्रा च्यातेर त्यसमा ‘विस्पर’ लेखिन् र दाइलाई दिइन् । उनले त्यो कागजको टुक्रा पसलेलाई दिने भनी सम्झाइन् । पसलले पनि प्याडलाई पत्रिकाले बेरेर दाइको हातमा थमाइदिए । यो दाइ र मेरो व्यक्तिगत जीवनमा पहिलो र अन्तिमपटकको प्रवेश थियो । जब पहिलो पटक महिनावारीका कारण भयानक पेट दुख्यो, दाइको पहिलो टिप्पणी थियो, ‘हिजो यसले चाउमिन नखाएको भए हुन्थ्यो, आज नतिजा भोग्दैछे ।’ पछिका महिनावारीमा पेट दुख्दा उनले केही भन्न छोडिसकेका थिए । उनले यो अन्दाज लगाएको हुनुपर्छ कि यो कुरा आमा र बहिनीबिचको निजी कुरा हो । जब म हजुरबुवा र बुवासँग टाँसिएर बस्थें, हजुरआमाबाट तत्काल प्रतिक्रिया आउँथ्यो, ‘अब ठूली भइसक्यौ, टाँसिएर बस्ने नगर ।’ यो सबै सुनेर सायद दाइले थाहा पाए कि बहिनी अब ठूली भइसकी । हामीबिच भएको आक्कल, झुक्कल झगडा नभनेरै बिलाए । हामी अलग हौं । हाम्रो शरिर भिन्न छ । उनले न अब मलाई गाली गर्दथे न मेरो नाक तान्दथे । उनलाई सायद थाहा छैन कि जुन बहिनीको महिनावारी सुरु भइसक्यो तब उनीसँग कस्तो व्यवहार गर्नुपर्छ । पछि मेरो दाइ शहर छोडेर पढ्न गए । हजुरबुवालाई कालले टपक्क टिपेर लग्यो । घरमा महिलाको संख्या बढि भयो । अब पीडाका बेला मुख छोपेर रुनुको साटो खुलेर कराउन सकिन्थ्यो । तर मेरो दाइ र मबिचको सम्बन्धमा केही सुधार आउन सकेन । जब म कलेजमा आए त मेरा केटा साथीबाट थाहा पाएँ, इरेक्सनका बेला शरिरमा परिवर्तन आउँछ । नाइटफल हुँदा कस्तो महसुस हुन्छ । दाइबाट टाढा रहेर मैले दाइलाई बुझ्न सुरु गरें । दाइले पनि मसँग टाढा रहेर मलाई बुझ्न थाले भन्ने सोच्छु । महिला साथीको मुखबाट वा भाउजुको बोलीबाट । तर मैले उनलाई फोन गरिनँ । जब पुरुषहरुले मलाई जिस्काउँथे मेरो दाइलाई पनि कोही केटीले जिस्काएका होलान् भन्ने सोच्छु । जब दाइ प्रेममा परे तब उनले के सोचे होलान् । सायद उनीपनि यस्तै सोच्दै होलान् । तर मेरो दाइले पनि फोन गरेनन् । यसकारण हामी थोरै कुराकानी गर्छौं किनभने हामीले एकअर्कालाई भर्खरै बुझ्न सुरु गरेका छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप