मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

'हरियो नम्बरप्लेटमा गैरपर्यटक बोक्न नपाइने'

शुक्रबार, १७ भदौ २०७३, १६ : १७
शुक्रबार, १७ भदौ २०७३

काठमाडौँ - यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले हरियो नम्बरप्लेटका सवारी साधनमा गैरपर्यटक बोक्न नपाइने बताएका छन्।

पर्यटन पत्रकार सङ्घ (जाट) नेपालले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा महानिर्देशक श्रेष्ठले पर्यटक र गैरपर्यटकको स्पष्ट पहिचान गरी आवतजावत गराउनुपर्ने बताए । “निजी सवारीले पर्यटकलाई बोक्न पाउनुहुँदैन कानुनमा स्पष्ट लेखिएको छ, बोकेमा कारबाही हुन्छ,” उनले भने– “सरकारले अब व्यावसायिक सवारी र निजी सवारी भनी उल्लेख गर्न लागेको छ ।”

दर्ताको नाममा सहुलियत लिने र नाफा कमाउन लागेको भन्दै उनले आक्रोश व्यक्त गरे । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक दीपकराज जोशी घरबाट निस्केर केही पैसा खर्च गर्ने व्यक्ति पर्यटक भएको बताए । आवश्यक मात्रामा पर्यटक बसको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

टुरिष्ट बस एसोसियसन अफ नेपाल (टिवान)का अध्यक्ष श्रीकान्त आचार्यले पर्यटक र गैरपर्यटकलाई स्पष्ट रुपमा छुट्याउनुपर्ने बताए । पर्यटकीय सवारीसाधनले आन्दोलनको समयमा समेत सेवा दिएको र अहिले स्वेदशी पर्यटकलाई बोक्न पाउँदैन भन्नु उचित नभएको उनी बताउँछन् ।

सोसाइटी अफ ट्राभल एजेन्सी (सोट्टो) नेपालका अध्यक्ष ज्ञानबहादुर खड्काले आन्तरिक र विदेशी दुबै पर्यटक भएकाले पर्यटकीय बसमा पनि स्वदेशी पर्यटक बोक्न पाउनुपर्ने बताए । उनले पर्यटकीय सवारी साधनलाई एम्बुलेन्स सरहको सुविधा दिन माग गरे ।

नेपाल पर्यटन यातायात व्यवसायी सङ्घका अध्यक्ष साङ्गे लामाले विस २०३७ देखि रातो नम्बरप्लेटमा सेवा दिएको अवस्थामा अहिलेमात्र हरियो नम्बरप्लेटमा सेवा दिए पनि यथेष्ट रुपमा सञ्चालन गर्न नसकेको स्पष्ट पारे । उनले पर्यटक धेरै र हरियो नम्बरप्लेटको कमी भएको अवस्थामा रातो नम्बरप्लेट समेत सञ्चालन गर्न पाउनुपर्ने बताए ।

ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल (टान)का महासचिव कर्ण लामाले पर्यटकीय सवारी साधनको अभाव भएको समयमा रातो नम्बरप्लेट सञ्चालनमा ल्याउन पाउनुपर्नेमा जोड दिए । नेपाल एसोसियन ‘टुर एन्ड ट्राभल्स एजेन्सी’ (नाट्टा)का अध्यक्ष मधुसुधन आचार्य पर्यटन ऐन २०३२ मा स्वदेशी र विदेशी दुबैलाई पर्यटकीय मान्यता दिएकाले नेपालीलाई रोक्न नपाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप