मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भ्युफाइण्डर : टेकोमा अड्किएको विश्व सम्पदा

शनिबार, १८ भदौ २०७३, १२ : ०३
शनिबार, १८ भदौ २०७३

काठमाडौं - काठमाडौं उपत्यका अन्तर्राष्ट्रिय भौतिक सांस्कृतिक सम्पदामा धनी मानिन्छ, जसको अन्तराष्ट्रिय चर्चा पनि उत्तिकै छ । तर भुइँचालोपछि सम्पदास्थल जोखिममा छन् । मन्दिर र दरबारहरु काठको टेकोले अड्याएको देखिन्छ । गहुँ्रगा ढुंगा र ईंटले बनेका मन्दिरहरु हेर्दा लाग्छ, वर्षाले कुहिएका काठको टेकोले कहिलेसम्म धान्ने हो ?

त्यसो त पछिल्लो समय सम्पदास्थलको पुनर्निर्माण कार्य केही अघि बढेको देखिएको थियो । बौद्ध स्तुपा पुनर्निर्माण अन्तिम चरणमा छ । पाटनको योगनरेन्द्र मल्लको सालिक र दरबारपरिसरको काम पनि अन्तिम चरणमा पुगेको छ । कृष्णमन्दिर र भिमसेन मन्दिर पुनर्निर्माणको काम सुरु हुँदैछ ।

नयाँ सरकार गठनलगत्तै पाटन, वसन्तपुर र भक्तपुर दरबार स्क्वायर, चाँगुनारायणलगायत विश्व सम्पदा क्षेत्रका मन्दिर र प्राचीन दरबारहरु पुनर्निर्माण सुरु भएको थियो । तर स्थानीय निकाय र पुरातत्व विभागको विवादले कतिपय स्थाको काम रोकिएको छ । यसै सन्दर्भमा रानीपोखरीको यमलेश्वर महादेवको मन्दिरको पुनर्निर्माणमा काठमाडौं महानगरपालिकाले सिमेन्ट र रड प्रयोग गरेपछि पुरातत्व विभागले मन्दिर पुरानै संरचनामा पुनर्निर्माण गर्नुपर्ने भन्दै काम रोक्यो । अन्तरनिकाय समन्वय प्रभावकारी नहुँदा अन्यत्र पनि यस्ता विवाद देखिने सम्भावना उत्तिकै छ ।

सम्पदा पुनर्निर्माणका सन्दर्भमा एकातिर यस्ता विवाद सुल्झिन सकेका छैन भने अर्कातिर बजेट अभावको बहाना पनि छँदैछ । तर सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि वैदेशिक दाता पनि तयार देखिन्छन्, नागरिककै तहबाट सहयोग जुटाउन सकिन्छ । त्यसमा अभाव योजना र संवेदनशील चासोको मात्रै हो ।

सरकारले सम्पदा पुनर्निमाणका सन्दर्भमा भइरहेको विवादलाई हेरीबस्ने र काममा वेवास्ता गर्ने हो भने पुर्खाको पौरखले बनेका ऐतिहासिक¬–पुरातात्विक दरबार, मठ–मन्दिर, पाटीपौवा र सत्तलहरु हामीले अर्को पुस्तालाई देखाउन पनि नपाउने हो कि भन्ने आशंका बढ्दै गएको छ ।

(राजधानीका सम्पदास्थल डुलेर रातोपाटीका फोटोपत्रकार अशोक दुलालले भ्युफाइण्डर कोलमका लागि खिचेका तस्बिरहरु)

     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप