मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विश्वका पर्यटन व्यवसायी जाकार्तामा

बिहीबार, २३ भदौ २०७३, २१ : ४०
बिहीबार, २३ भदौ २०७३
जाकार्ता– आ–आफ्ना मुलुकका गन्तव्य प्रवद्र्धन गर्ने उद्देश्यले विश्वका पर्यटन व्यवसायी समुन्द्री टापुको पहिचान बोकेको मुलुक इन्डोनेसियाको राजधानी जाकार्तामा जमघट भएका छन् । पाटा ट्राभल मार्ट २०१६ ले उनीहरुलाई आफ्ना पर्यटकीय गन्तव्य प्रवद्र्धन गर्ने अवसर सिर्जना गरिदिएको हो । सत्र हजार बढी समुन्द्री टापु भएको इन्डोनएसिया विश्व पर्यटनको आकर्षक गन्तव्य हो । बुधबारदेखि सुरु भएको पाटा ट्राभल मार्टको ३९औँ संस्करणमा नेपालसहित ६३ वटा मुलुकबाट एक हजार २८४ प्रतिनिधिको सहभागिता रहेको छ । यसमध्ये १०० भन्दा बढी सञ्चारमाध्यमका प्रतिनिधि सहभागी रहेको आयोजकले जनाएको छ । दिगो विकासका लागि पर्यटनको अवधारणालाई आधार मानेर आयोजना गरिएको यो मेला विश्वकै चर्चित मेलामध्येको हो । इन्डोनेसियाको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा एक समारोहबीच मार्ट उद्घाटन गर्दै यहाँका उपराष्ट्रपति मोहम्मद जुसुफ कालाले पर्यटनकै ठूलो मार्ट आफ्नो देशमा आयोजना हुनु गर्वको विषय भएको उल्लेख गर्दै यसले विश्व पर्यटन बजरलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । इन्डोनेसियाका पर्यटन मन्त्री आरिफ यायाले विश्वका प्रमुख मेलामध्ये पाचौँ स्थानमा पर्ने पाटा ट्राभल मार्ट आफ्नो मुलुकमा आयोजना गरिएकामा खुसी व्यक्त गर्नुहुँदै आफ्नो मुलुकले पर्यटन प्रवद्र्धनका लागि नयाँ गन्तव्यको विकास र पर्यटकीय पूर्वाधार निर्माणमा विशेष प्राथमिकता दिएको बताए । दक्षिण पूर्वी एसियाको पर्यटकीय गन्तव्यका रुपमा स्थापित इन्डोनेसियाले पर्यटकलाई आकर्षित गर्न हालै नेपालसहित १६९ मुलुकलाई अनएराइभल भिसा सुरु गरेको छ । आधारभूत भौतिक पूर्वाधार तथा वातावरणमैत्री संरचनामा उदाहरणीय इन्डोनेसियाले पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा थप समुद्री टापुको प्रवद्र्धन गर्ने योजना अगाडि बढाएको छ । चर्चित, बाली, सुमात्रा, जाकार्ता आदि पर्यटनका लागि आकर्षक गन्तव्य हुन् । यसका अतिरिक्त अन्य टापुको पर्यटन प्रवद्र्धनमा इन्डोनेसिया लागिपरेको पर्यटनमन्त्री यायाले बताए । विश्वभरका पर्यटन व्यवसायीले उच्च गुणस्तरीय पर्यटकीय सेवाका लागि पाटा ट्राभल मार्ट उपयुक्त माध्यम रहेको उनको भनाइ छ । आफ्नो सेवा तथा गन्तव्यको प्रवद्र्धनमा विश्वभरका पर्यटन व्यवसायी तथा सङ्घसंस्थाले पाटा ट्राभल मार्टलाई उपयोग गर्र्दै आएका छन् । प्रकृति र संस्कृतिलाई पर्यटन समृद्धिका प्रमुख आधारका रुपमा लिएको इन्डोनेसियामा आदिवासी संस्कृति र परम्परागत रीतिरिवाजले विविधतामा एकता छाएको छ । जाकार्तामा नेपाली पर्यटन प्रवद्र्धन जाकार्तामा सुरु भएको मार्टमा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डको संयुक्त नेतृत्वमा नेपालबाट नेपाल वायुसेवा निगम, एक्सप्लोर हिमालय ट्राभल एन्ड एडभेन्चर, होटल मस्र्याङ्दी, हिमालयन गाइड नेपाल टे«क एन्ड एक्सपिडिसन, नेपाल इजी ट्राभल, लाङ्टाङ रि ट्रेकी एन्ड एक्सपिडिसन, सोल्टी क्राउन प्लाजा र टाइगर ल्यान्ड सफारी रिसोर्ट सहभागी छन् । पर्यटकीय गन्तव्य खरिद गर्न विभिन्न २६० क्रेता र २२० वटा बिक्रेता सहभागी रहेको मार्टमा ताइवान, मकाउ, हङ्कङ, अफ्रिका, मलेसिया आदि मुलुक पनि सहभागी छन् । सन् १९९१ देखि विभिन्न मुलुकमा नियमित रुपमा आयोजना भइरहेको ट्राभल मार्टमा यस वर्ष नेपालबाट १० कम्पनी तथा संस्थाले भाग लिएका छन् । नेपालबाट ट्राभल मार्टमा प्रतिनिधित्व गरिरहेका नेपाली सङ्घसंस्था तथा कम्पनीका प्रतिनिधिले मार्ट नेपाली पर्यटकीय सेवा तथा गन्तव्यको प्रवद्र्धनका लागि उपयुक्त माध्यम भएको बताए । पाटा ट्राभल मार्टमा राखिएका विभिन्न मुलुकका पेभिलियनमध्ये नेपालको पेभिलियनमा दर्शकको आकर्षण देखिन्छ । खासगरी परम्परागत प्यागोडा शैलीमा सजाइएको नेपाली पेभिलियनमा सगरमाथा, पशुपतिनाथ मन्दिरलगायत नेपाली पर्यटनका विविध उत्पादनलाई सजाइएको छ । भूकम्पपछि नेपालको पर्यटनबारे मार्टमा सहभागी धेरैको चासो रहेको पाटाले जनाएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप