बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आफन्तले खिल्ली उडाएपछि यी व्यक्तिले संसारकै अग्लो ‘बुर्ज खलिफा’ मा किने २२ फ्ल्याट

सोमबार, २७ भदौ २०७३, १० : १६
सोमबार, २७ भदौ २०७३

संयुक्त अरब इमिरेट्समा अवस्थित संसारको सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’ मा एक भारतीय व्यापारीले २२ वटा फ्ल्याट किनेका छन् । आइतबार भारतको एक स्थानीय पत्रिकाले दिएको जानकारी अनुसार मेकानिकबाट व्यवसायी बनेका जर्ज वी नेरियापाराम्बिलले उक्त चर्चित भवनमा ती लगभग दुई दर्जन फ्ल्याट किनेका हुन् । यदि भाउ मिले उनको अरु फ्ल्याट पनि किन्ने मनसाय भएको ती व्यवसायीले बताएका छन् ।

खलिज टाइम्ससँगको उनको अन्र्तवार्तामा उनले भने, ‘यदि मैले राम्रो सम्झौता हात पारें भने म अरु फ्ल्याट पनि किन्नेछु । म एक स्वप्नद्रष्टा हुँ । म कहिले पनि सपना देख्न बन्द गर्दिनँ । ’

नेरियापाराम्बिलले सम्पत्ति खरिद गर्न त्यतिबेलादेखि सुरु गरे जब उनका एक आफन्तले उनलाई बुर्ज खलिफालाई विषय बनाएर उनको खिल्ली उडाए ।

उनी भन्छन्, ‘मेरा एकजना आफन्तले मलाई बुर्न खलिफा देखाउँदै भने, ‘तिमी कहिले पनि यसको भित्र जान सक्दैनौ’’ । सन् २०१० मा एक पत्रिकामा उक्त भवनको एक फ्ल्याट भाडामा लिनसकिने विज्ञापन देखेपछि नेरियापाराम्बिलले त्यस दिन नै उक्त फ्ल्याटलाई भाडामा लिएर त्यहाँ बस्न सुरु गरेको उनले जानकारी दिए ।

६ वर्षपछि ८ सय २८ मिटर अग्लो भवनको ९ सय फ्ल्याटमध्ये २२ वटा उनको छ । उनका अनुसार उनले पनि २२ मध्ये पाँच वटालाई भाडामा लगाएका छन् र अन्यलाई भाडामा लगाउनका लागि राम्रो मानिस खोजिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप