मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मेलम्ची : अब १० किमी मुख्य पाइपलाइन बिच्छ्याउन बाँकी

शनिबार, १३ माघ २०७४, १७ : २८
शनिबार, १३ माघ २०७४

काठमाडौँ । मेलम्चीबाट काठमाडौ आउने पानी वितरणका लागि काठमाडौँमा अब १० किलोमिटर मुख्य पाइप लाइन बिच्छ्याँउन बाँकी छ । कुल ७७ किलोमिटर थोक वितरण प्रणाली अन्र्तगत ६७ किलोमिटर पाइपलाइन बिच्छ्याइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

घर घरमा पानी वितरणका लागि ६ सय ७० किलोमिटर मध्ये ६ सय ४४ किलोमिटर पाइपलाइन बिच्छ्याउने काम सकिएको छ । वितरण पाइपलाइनबाट उपत्यकाका ८४ हजार २ सय १७ घरमा पानी पुग्नेछ । हालसम्म ४५ हजार १ ससय ८६ घरमा धारा जडान भइसकेको छ । 

आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालका अनुसार पाइपलाइन बिस्तार गरिएको स्थानमा कालोपत्रे गर्ने काम पनि शूरु भएको छ । भत्काइएका यस्ता सडक कालोपत्रे गर्नका लागि सडक विभागसँग सम्झौता गरेको उनको भनाई छ । हालसम्म २८ किमी सडक मर्मतको काम सकिएको छ । 

पाइप लाइन बिच्छाइएका ६१ किलोमिटर सडकमा कालोपत्रे गर्नका लागि सडक विभागसँग सम्झौता समेत गरिएको छ । पाइपलाइन बिच्छाइएका सडक निर्माण तथा कालोपत्र गर्न विभागले ८५ करोड खर्च गर्ने भएको छ । बाँकी १ सय किलोमिटर हाराहारीको सडक निर्माण एवं कालोपत्रको काम भने आयोजना निर्देशनालयले गर्ने भएको छ । 

३ महिनाभित्र उपभोक्ताको घर घरमा पानी 
आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौंको सुन्दरीजलमा ८ करोड ५० लाख लिटर पानी संकलन तथा प्रशोधनका लागि पानी भण्डारण केन्द्र निर्माण सम्पन्न गरेको छ ।  मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने क्षमता छ । दोश्रो चरणमा थप  आठ करोड ५० लाख लिटर पानी संकलन तथा प्रशोधन केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । सुन्दरीजलबाट काठमाडौंका विभिन्न ठाँउमा रहेका ९ वटा पानी संकलन केन्द्रमा पठाइनेछ । 


सिन्धुपाल्चोकको मेलम्चीदेखी काठमाडौंको सुन्दरीजलसम्म रहेको साढे २७ किलोमिटर सुरुङमध्ये अब ३ सय मिटर बनाँउन बाँकी रहेको छ । यो दुरी खनेपछि सिन्धुपाल्चोकबाट बनाँउदै आएको टनेल र सुन्दरीजलबाट बनाँउदै गएको सुरुङ जोडिनेछन् । सुरुङ निर्माण सकेर पानी संकलन केन्द्रमा पानी आएको ३ महिनाभित्र उपभोक्ताको घर घरमा पानी पुग्ने निर्देशनालयका प्रवक्ता ढकालले जानकारी दिए । यसका लागि मुख्य पाइपलाइन सफाईको पनि भइरहेको छ । काठमाडौंमा अब धूम्बाराही, महाराजगञ्ज, सामाखुसी र कलंकी क्षेत्रका  ३ सय किलोमिटरमा खानेपानी वितरण लाइन राख्न बाँकी रहेको छ ।  यसका लागि झन्डै  आठ अर्ब रकम आवश्यक पर्ने निर्देशनालयले जनाएको छ । 

मेलम्चीको पानी आएपछि दैनिक ५ घण्टा पानी
काठमाडौं उपत्यकामा यतिबेला दैनिक ३५ करोड लिटर खानेपानीको माग रेहेको छ । उपत्यका र छेउछाउका पानीको स्रोतबाट बर्षायाममा दैनिक १६ करोड लिटरसम्म र हिँउदमा ९ देखि १० करोड लिटर हाराहारी पानी वितरण हुँदै आइरहेको छ । मेलम्चीको पानी राजधानी भित्रिएपछि पानी वितरणमा सहजता थपिने भएको छ । पहिलो चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आँउदा दैनिक ५ घण्टा लगातार उपभोक्ताको घरमा पानी वितरण गर्न सकिने अनुमान छ । 

दोश्रो चरणमा मेलम्ची भन्दा परका अन्य दुई खोलाहरु याङरी र लार्के खोलाबाट थप १७  करोड लिटर दैनिक पानी ल्याउने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यसरी ३ खोलाबाट दैनिक ३४ करोड लिटर पानी काठमाडौं ल्याँउदा काठमाडौंमा पानीको माग धेरै हदसम्म पूरा गर्न सकिने भएको छ । दैनिक ३४ करोड पानी भित्रिएमा २४ सै घण्टा काठमाडौंमा पानी वितरण गर्न सम्भव हुने आयोजना निर्देशनालयले जनाएको छ । सुरुङमार्ग बिस्तार तथा वितरण लाइन बिस्तारमा भइरहेको कामको गति हेर्दा आगामी बैशाखबाट पानी वितरण हुने अनुमान गरिएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप