मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटक लोभ्याउने पुनहिलको सौन्दर्यता (फोटोफिचर)

बिहीबार, २० असोज २०७३, ०८ : ५१
बिहीबार, २० असोज २०७३

म्याग्दी – म्याग्दीको पुनहिल घोडेपानी पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तब्य स्थलको रुपमा विकसीत भएको छ ।

समुन्द्रि सतहदेखि ३ हजार २१० मिटरको उचाईमा पहाडको टाकुरामा अवस्थित पुनहिल दृश्याअवलोकनका लागि चर्चित बनेको हो । एकै स्थानबाट धेरै हिमालका साथै टाढा टाढा र सुर्योदयको मनमोहन दृश्य अवलोकन गर्न सकिने भएकाले पुनहिलले आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ ।

घोडेपानी र पुनहिल अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तरगत म्याग्दीको घार गाविसको १ नम्बर वडामा पर्छ । मगर समुदाय अन्तरगत पुन थरसंग सांस्कृतीक सम्बन्ध जोडिएको पुनहिलबाट अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी, धौलागिरि, गुर्जा, मानापाथी लगायतका १५ भन्दा बढी हिमालको नजिकबाट अवलोकन गर्न सकिन्छ ।

यसैगरी बिहानीको सुर्योदयको दृश्य अवलोकन गर्न पाउनु पुनहिलको अर्को आकर्षण हो । बिहानीमा झुल्कने सुर्यको उषाकिरणले पुनहिल अगाडि उभिएका सेताम्मे हिमालका टाकुराहरुलाई मोतीझै टल्काउँदा यहाँ पुग्ने पर्यटकहरु प्राकृतिक सौन्दर्यले मोहीत हुन्छन् ।

चारैतिर जंगल रहेको पुनहिल पुग्ने पर्यटकहरु सुर्योदय र आँखै अगाडीका हिमश्रृङखलाहरुको दृष्यमा रमाउँछन् । पदयात्राका लागि असोज पहिलो हप्ता पुनहिल पुगेकी ललीतपुरकी नेहा प्रजापतीले यहाँको प्राकृतिक सौन्र्दयताले खुसी र उत्साहीत भएको बताईन् ।

यो स्थानको सौन्दर्यताले पदयात्राको थकाई मात्र मेटाउँदैन कोलाहल र प्रदुषित वातावरणदेखि टाढा बनाएर प्रकृतिमा रमाउने अवसर पनि दिन्छ । एक पटक पुनहिल पुगेपछि यसको प्राकृतिक सोन्दर्यताले मन मस्तीष्कमा दिगो छाप नपार्ने कमै हुन्छन् ।

क्यानडाकी सेलेनाले पहिलो पटक पुनहिल भ्रमण गर्दाको अनुभव साथीहरुलाई सुनाईन् । उनि हालै अन्य दश जना साथीहरुलाई पुनहिल भ्रमणमा ल्याएर आएकी थिईन् । सेलेना जस्तै धेरै पर्यटक अर्कोपटक साथीहरुलाई लिएर घुम्न आउने गरेका छन् ।

नेपाल टे«कर्स साउथ एसीयाका सञ्चालन रामचन्द्र सुवेदीले एकै स्थानबाट धेरै हिमश्रृङला र सुर्योदयको आकर्षक दृष्यले पुनहिलमा पर्यटकलाई आकर्षित गरेको बताउनुभयो । एकपटक यहाँ आएका पर्यटकले आफ्नो देशमा पुगेर पुनहिलको बिशेषताबारे प्रचार गर्ने र फेरी साथी लिएर आउने गरेका छन् ।

भ्यु प्वाईन्टको रुपमा विकसित पुनहिल जैविक विविधता, वन्यजन्तु, पंक्षी र सांस्कृतीक हिसावले पनि उत्तिकै महत्वपूर्ण छ । भुगोल, संस्कृती, जनजिवन र जैविक विविधताले पर्यटकलाई यो स्थानमा आकर्षित गर्ने गरेको छ ।

पुनहिल क्षेत्रमा रहेको जंगलमा १६ प्रजातीका लालीगुँरास पाईन्छ । बसन्त ऋतुमा ढकमक्क रामाम्मे भएर फुल्ने लालीगुरासले पर्यटक लोभ्याउन सहयोग गरेको छ । शरद ऋतुमा यहाँका पाखाहरु बुकी फुलेर रंगीन्छन् ।

कालीज, डाँफे जस्ता पंक्षी मृग लगायत बन्यजन्तुको अवलोकन पनि गर्न सकिने भएकाले पुनहिलले प्रसिद्ध अझ बढेको छ । घोडेपानी पर्यटक प्रहरी चौकीका प्रमुख शुशिल लामिछानेका अनुसार २०७३ बैशाखदेखि असोज पहिलो सातासम्म साढे १२ हजार पर्यटक यस क्षेत्रको भ्रमणमा आएका छन् ।

२०७१ को बैशाख देखि असोजसम्म सात हजार ५९७ जना पर्यटकले भ्रमण गरेको घोडेपानीमा २०७२ को सोही अवधिमा चार हजार २१६ जना पर्यटक आएका थिए । चिन, दक्षिण कोरीया, अस्ट्रीया, अमेरीका, बेलायत, जापान, बेल्जीयम, ईजरायल लगायत देशका नागरीक यो क्षेत्रको भ्रमणमा आउँछन् ।

काठमाडौ, पोखरा, चितवन, तनहुँ, बागलुङ, भैरहवा लगायत ठाउँका आन्तरीक पर्यटकको आगमन पनि बढेको छ । यो सिजनमा पर्यटक आगमन उत्साहजनक रहेको घोडेपानी होटल ब्यवसायी समितिका उपाध्यक्ष देवेन्द्र पुन (शुशिल)ले बताउनुभयो । अनुकुल मौसम, विद्यालय, कलेज छुट्टि भएकाले आन्तरीक पर्यटकको संख्या पनि बढीरहेको छ ।

कास्कीको नयाँपुल, घान्द्रुक, म्याग्दीको राम्चे, पोखरेबगरको बाटो भएर घोडेपानी पुग्न सकिन्छ । पर्यटकीय नगरी पोखरा र बेनी देखि एकै दिनमा घोडेपानी पुग्न सकिन्छ । घोडेपानीमा ४३ घरधुरी मगर समुदायको बसोबास छ । घोडेपानीदेखि एक घण्टाको पैदल दुरीमा उकालो हिँडेपछि पुनहिल पुगीन्छ ।

पुनहिल पहिले सामान्य पहाडको टाकुरा थियो । पर्यटक आउने क्रमसँगै घार खिवाङका मेजर टेकबहादुर पुनले २०२१ सालमा सो डाँडोलाई पुनहिल नामाकरण गरेका थिए । उनका आफन्तले २०४६ सालतिर मेजर पुनको स्मृतिमा भ्यूटावर स्थापना गरेपछि पर्यटकलाई थप सुविधा पुगेको छ ।

घोडेपानीका बासिन्दाहरुले स्थानीय स्रोत जुटाएर गाउँको वरपर पदमार्ग र प्रवेशद्धार निर्माण गरेका छन् । लालीगुराँसको जंगल संरक्षण गर्न चरिचरन बन्द गरिएको छ । एक्यापको सहयोगमा जंगलमा तारबार लगाएर घेराउ गरिएको छ ।

पर्यटक आगमन बढेसँगै घोडेपानीका होटल व्यवसायीले सेवा र सुविधा विस्तार गरिरहेका छन् । घोडेपानीमा रहेका २३ वटा सुविधा सम्पन्न होटलमा एक दिनमा पाँच सय जनासम्म पाहुना बास बस्न सक्छन् ।

पोखरा, काठमाडौंलगायत सहरी क्षेत्रमा रहेका होटल सरहको सुविधा दिइएको घोडेपानी होटल व्यवस्थापन उपसमितिका संयोजक जुनबहादुर पुनले बताए । यहाँ ईन्टरनेट, तातोपानीले नुहाउने र माग अनुसारका खानाको परिकार पाईन्छ । घोडेपानीका प्राय होटलका कोठाबाटै हिमाल देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप