मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरला नाकामा आन्तरिक पर्यटक बढे

मङ्गलबार, ०२ कात्तिक २०७३, ११ : ०९
मङ्गलबार, ०२ कात्तिक २०७३

म्याग्दी - चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ ।

सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक संवाद र भौतिक संरचनाको स्तरोन्नति गर्न थालेपछि व्यापारी, विद्यार्थी र अनुसन्धानकर्ता नाका पुगेर त्यहाँको वस्तुस्थिति अवलोकन गर्न थालेका हुन् ।

पश्चिमाञ्चल क्षेत्रका व्यापारी दसैँको बिदा मनाउन नाका अवलोकन गर्न थालेको लोमान्थाङका स्थानीय सुवर्ण विष्टले जानकारी दिए । “नाका खुले व्यापारिकरुपमा कसरी लाभ लिन सकिन्छ भन्ने नै व्यापारीको भ्रमणको मुख्य उद्देश्य हुने गरेको छ, उनले भने “दसैँलगत्तै लोमान्थाङ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दैनिक २०० को हाराहारीमा पर्यटक त्यहाँ पुग्ने गरेको विष्टको भनाइ छ ।

लोमान्थाङबाट आधा घन्टाभित्र सवारीसाधनमै कोरलानाका पुग्न सकिन्छ । जीर्ण भएपनि नाकासम्म सडक सञ्जाल पुगेपछि सर्वसाधारणको पहुँच बढ्दै गएको हो ।

सीमा क्षेत्रमा चिनियाँ पक्षले सुरक्षामा कडाइ गर्ने भएकाले धेरै बेरसम्म बस्न नपाइने त्यहाँ पुगेका म्याग्दी उद्योग वाणिज्य सङ्घका महासचिव राजेश शाक्यको भनाइ छ । “नाका सञ्चालनका विषयमा हामीले आफ्नो ठाउँबाट व्यापक दबाब दिइरहेका छौँ, यो जसरी पनि खुल्नुपर्छ,” शाक्यले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप