मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सगरमाथा नभइदिए धेरैलाई नेपाल थाहा हुँदैनथ्यो

बिहीबार, ०४ कात्तिक २०७३, ११ : २०
बिहीबार, ०४ कात्तिक २०७३

एउटै बाटो हिँड्नुको मज्जा उनलाई मात्रै थाहा होला । ३० वर्षदेखि हिँडेको बाटो उनले परिवर्तन गरेका छैनन् । गर्ने सोच पनि छैन । यत्तिका अवधिमा एउटै बाटो हिँड्दा सम्बन्धित बटुवाको भोगाइ धेरैका लागि शिक्षाप्रद ठानिन्छ ।

३४ गाउँ विकास समिति समेटिएर सोलुखुम्बु जिल्ला बनेको छ । त्यसमध्येको एक गाविस हो– टाक्सिन्दु । सगरमाथा आरोहण गर्न जानेहरू टाक्सिन्दुकै नुनथला, फुलेली हुँदै लस्करै उकालो लाग्थे । उनीहरू उकालो लागेको लोभलाग्दो दृश्य देख्दा पाँच कक्षामा अध्ययनरत विद्यार्थीले के सोच्लान् ? उत्तर दिन कठिन भए पनि उनलाई त्यही दृश्यले पर्यटन व्यवसायी बनाउन उत्साहित गर्यो ।

त्यसताका उनी पढ्ने टाक्सिन्दु प्राथमिक विद्यालय सर्वप्रथम चोमोलुङ्मा (सगरमाथा) आरोही सर एड्मन्ड हिलारीले बनाइदिएका हुन् । विद्यालयमात्रै होइन, गोठाला जाँदासमेत उनले सगरमाथा आरोहणमा जानेको लस्कर (क्याराभान) देख्थे । टाक्सिन्दु फुलेलीको छिगाउँमा जन्मेका उनलाई कहिलेकाहीँ खुम्बु जाने बाटोछेउछाउ साथीभाइसँग खेल्दै, गाईबस्तु चराउँदै, सगरमाथा आरोहणमा जानेको ताँती नियाल्दा छुट्टै आनन्द लाग्थ्यो । उनले जानी–नजानी कल्पनाको महल ठड्याउँथे । त्यसपछि ट्रेकिङ (पदयात्रा) बारे बुझ्न थाले । त्यता गएकाले पैसा लिएर फर्कंदा उनी पनि पर्यटन व्यवसायमा लाग्न लालायित हुन्थे ।

दूधकोसीमा ठूलो बाढी आयो । धनजनको क्षति भयो । नदी वारपार गर्ने पुलसमेत बाढीले बगायो । यो ३९ सालको कुरा हो । बाटो अवरुद्ध भयो । सगरमाथा आरोहण गर्न जाने पर्वतारोहीका सामान नुनथलामै रोकियो । सहयोगको आवश्यकता खड्कियो । पाँच कक्षामा पढ्दै गरेका उनले त्यतिबेला ट्रेकिङ जान पहिलोपटक अवसर पाए । बाटो र साँघु बनाउँदै नाम्चे बजारसम्म पुग्दा आफूले बोकेको सामान के थियो ? थाहा नभए पनि त्यतिबेला दैनिक ३८ रुपैयाँ पारिश्रमिक पाउँदा ट्रेकिङले उनलाई मोहनी लगायो । पर्यटन व्यवसायी बन्ने रहरले पढाइ छाडे । रहर पूरा गर्न घरबाट सुटुक्क काठमाडौं पुगे । लगत्तै भरियाका रूपमा अन्नपूर्णसम्म ट्रेकिङ जाने अवसर पाए । बेलाबखत महिनामा तीन/चारपटक ट्रेकिङमा निस्कने उनी किचनको भाँडाकुँडा बोक्थे । उनी कुकको साथीका लागि जोकोहीको छनोटमा पर्थे । अन्यको तुलानामा अंग्रेजी भाषा राम्रो भएकाले उनले भरियाका रूपमा लामो समय काम गर्न परेन । जुनैसुकै भूमिकामा काम गरे पनि ०४० तिर पर्यटन व्यवसायीको इज्जत त्यति थिएन । वर्ष दिन काठमाडौंै बसेपछि उनी गाउँ फर्के । पढाइले निरन्तरता पायो । पढाइमा अब्बल उनले जुनबेँसी माध्यमिक विद्यालयबाट ०४५ मा एसएलसी उत्तीर्ण गरे । क्याम्पस पढ्ने एकझोला सपना बोकेर धन खालिङ ०४६ मा पुनः काठमाडांै पसे । काठमाडौंको ताहाचलमा रहेको महेन्द्र–रत्न क्याम्पसमा भर्ना भए । भर्ना भए पनि ट्रेकिङ गइरहनुपर्ने बाध्यता छँदै थियो । सिजनको बेला क्याम्पस नियमित जान सकेनन् । तर पनि पढाइले निरन्तरता पाएकै थियो । ०४६ देखि ट्रेकिङलाई पेसा बनाएका पर्यटन व्यवसायी खालिङलाई पढाइको महत्व थाहा थियो ।

ट्रेकिङ गर्दै काठमाडौंमा बसेर अध्ययनलाई निरन्तरता दिए पनि उनले गाउँकै विद्यालयबारे सोच्थे । सरस्वती निम्नमाध्यमिक (हाल : सरस्वती आधारभूत विद्यालय भन्नुपर्ने) विद्यालयको चिन्ता गर्थे । ०४३ मा स्थापित सो विद्यालयमा आठ कक्षासम्मको पढाइ हुन्छ । इसीडी (अर्ली चाइल्ड डेभलपमेन्ट) अनुसार पढाइ हुने सरकारी विद्यालय भए पनि विद्यालयलाई यो अवस्थासम्म ल्याइपुर्याउन समाजसेवीसमेत रहेका पर्यटन व्यवसायी धन खालिङले विवेक खर्चेका छन्, थुप्रै पसिना बगाएका छन् । विद्यालयको नाममा पहिलोपटक ६५ हजारको ‘प्रोजेक्ट’ हात पारेका उनले करिब ६३ हजार रुपैयाँमा शिक्षक/शिक्षिका बस्ने घर बनाएपछि दाताको मन जित्न सफल भए । अहिलेसम्म जितिरहेका छन् ।

शैक्षिक पर्यटनलाई प्राथमिकता दिँदै आएका उनले लामो समय अरूकहाँ काम गरे । ०६१ देखि ‘वाइल्डर प्लेसेस नेपाल ट्रेक्स’ नामक ट्रेकिङ एजेन्सी सञ्चालनमा ल्याए । वाइल्डर प्लेसेस नेपाल ट्रेक्सले रोजगारीमात्र दिँदैन, पर्यटनसम्बन्धी तालिमसमेत दिँदै आएको छ । त्यसअघि उनी ‘पोर्टर गाइड’ का लागि ‘हायर’ हुन्थे ।

स्थानीय संस्कृतिको सम्मान र विकास

पर्यटनले स्थानीय संस्कृति प्रवद्र्धन गर्छ । उदाहरणका रूपमा कास्कीको घान्द्रुकलाई लिन सकिन्छ । घान्द्रुक गुरुङ समुदाय बाहुल्य रहेको गाउँ हो । त्यहाँ पुगेका जोकोहीलाई गुरुङ आमा समूहले नृत्य देखाउँछन् । नृत्य देखाइरहँदा पर्यटकलाई नाच्न प्रेरित गराउँछन् । उनीहरूसँग पर्यटक नाच्नु भनेको स्थानीय संस्कृतिको सम्मान हो । यसैगरी, धेरै विदेशी सोलुखुम्बुमा मनाइने बुद्ध धर्मावलम्बीको मनिरिम्डु, डुम्जीजस्ता चाडबाड अवलोकन गर्न पुग्छन् । किरात खालिङ समुदायको वास् (भूमे) हेर्न सोलुखुम्बु पुग्ने पर्यटक बढ्दै गएका छन् । प्रकृतिपूजक खालिङ समुदायको वासख्वाम (भूमेथान) विस्तार तथा विकास गर्ने काम भइरहेको छ ।

कोदाको केक

युरोपबाट नेपाल आउने जोकोही सामान्य हुँदैनन् । युरोपका सबै नेपाल आउन सक्दैनन् । क्षमता भएकै आउँछन् । उसले नेपालमा रहँदा आफूसँग भएको क्षमता बाँड्छ । तसर्थ, पर्यटनले ज्ञान आदान–प्रदान गर्छ । यसले प्राविधिक कुरासमेत सिकाउँछ । विचार फराकिलो बनाइदिन्छ । युग र परिस्थितिअनुसार सिपालु बनाइदिन्छ । जीवनशैलीमा स्तरीकरण गराउँछ ।

हामी कोदाको ढिँडो, रोटी, पुवा, फुलौरा पकाएर खान्छौं । कोदाको जाँड पनि बनाइन्छ । त्यतिमात्रै जान्ने हामीलाई कोदाको केक बन्छ भन्ने थाहा छैन । केक बनाउँदा चाहिने आवश्यक सामान स्थानीय भए पनि कोदाबाट नयाँ परिकार (कोदोको केक) बन्छ भन्ने कुरा पर्यटकको आगमनबाट थाहा भएको हो । ढिँडो, रोटी र जाँड खाइरहेको जिब्रोले कोदाको केक खाँदा स्वादमात्रै होइन, किसानको पसिनाले मूल्य पाउँछ । नेपाल आएका पर्यटकलाई कोदाको केकमात्रै खुवाउन सके गतिलै अर्थोपार्जन गर्न सकिन्छ ।

सोलुखुम्बुमा बसेर मुस्ताङको कल्पना

पर्यटनले ज्ञानगुनका कुरा सिकाउँछ । उदाहरणका रूपमा मुस्ताङ र सोलुखुम्बुलाई तुलना गर्न सकिन्छ । उपल्लो मुस्ताङ मरुभूमिजस्तै मानिन्छ । रूखपात धेरै कम हुन्छ । मुक्तिनाथमै रूखपात कम पाइन्छ । तर, त्यहाँ निरन्तर पानी हालेर रूखपात लगाइएका छन् । मौसम परिवर्तनसँगै असोज÷कात्तिक लागेपछि ती रूखका पात पहेँला हुन्छन् । पहेँला रूखपात रहरलाग्दो देखिन्छन् । पहेँलो रूखदेखि पर क्षितिज, क्षितिजभन्दा पर हिमाल टल्केको दृश्य देख्दाको मज्जा शब्दमा व्यक्त गर्न सकिँदैन । त्यस्तो मज्जा सोलुखुम्बुमा लिन पाइँदैन । तर, त्यही पहेँलो देखिने रूख सोलुखुम्बुमा छ कि छैन ? छ नि । मुस्ताङले दिएको प्राकृतिक स्वाद सोलुखुम्बुलगायत अन्य ठाउँमा पनि दिन सकिन्छ । सोलुखुम्बुका जंगलमा हात्तीपाइले, कुकुरपाइले प्रजातिका रूखपात प्रशस्तै पाइन्छन् । पैयुँले प्रकृतिलाई उत्तिकै सुन्दर बनाएको हुन्छ । ऋतु परिवर्तनसँगै हात्तीपाइले, कुकुरपाइले पहेँला देखिन्छन् । पहेँलो पाखादेखि पर क्षितिज, क्षितिजपर हिमशृंखला नियाल्नुको स्वर्गीय आनन्द केहीसँग तुलना गर्न सकिँदैन । त्यसो भएपछि सोलुखुम्बुमा बसेर मुस्ताङको कल्पना गर्न त सकिन्छ नै ‘नलेज एक्सचेन्ज’ समेत हुन्छ ।

पर्यटकको आकर्षण सगरमाथा

विदेशी पर्यटकलाई हिमालबारे राम्रै थाहा छ । ‘पर्यटनको मुख्य आकर्षण भनेको प्राकृतिक रूपमा सगरमाथा, अन्नपूर्ण, मनास्लु, मुस्ताङ, डोल्पा, मकालु, कञ्चनजंघा आदि हुन् । अन्य आकर्षणमा यहाँका विभिन्न प्रजातिका रूखबिरुवा, फूल, जीवजन्तु पर्छन् । तीमध्ये विश्वको सर्वोच्च शिखर चोमोलुङ्मा, माउन्ट एभरेस्ट जे भने पनि सगरमाथा नै हो । ‘सगरमाथाको नामबाट पर्यटन प्रवद्र्धन नभएको भए नेपालबारे धेरैलाई थाहा हुँदैनथ्यो,’ पर्यटन व्यवसायी खालिङले सुनाए, ‘जब तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सगरमाथा आरोहण गरे, त्यसपछि विश्वमा सगरमाथा र नेपालबारे प्रचार–प्रसार बाक्लै भयो । सगरमाथा नेपालमा पर्छ भनेर थाहा पाएपछि विदेशी नेपाल आउन थाले । नेपालमा विदेशी मुद्रा भित्रिने माध्यममध्ये पर्यटन पनि हो ।’

विविध विधामा पर्यटनको सम्भाव्यता

नेपालको पर्यटन व्यवस्थित छैन । नेपाली मौलिकतालाई दृष्टिगत गर्दै विश्वमा नेपालको पर्यटनलाई व्यवस्थापन गर्न सकिन्छ । यहाँ विभिन्न विधाको पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना धेरै छन् । सांस्कृतिक पर्यटनको सम्भावना त्यत्तिकै छ । जर्मनी, फ्रान्स, इटाली, अस्ट्रिया, इङ्ग्ल्यान्ड, स्वीट्जरल्यान्ड, आयरल्यान्ड, भारत र तिब्बत घुमिसकेका पर्यटन व्यवसायी धन खालिङ सुझाउँछन्, ‘पूर्वाञ्चलमा किरात हेरिटेज ट्रेल प्रवद्र्धन गर्न सकिन्छ । पदयात्रा, पर्वतारोहण, दृश्यावली, र्याफ्टिङ, ऐतिहासिक स्थल अवलोकन तथा भ्रमण, पशुपक्षी, जीवजन्तु, विभिन्न प्रजातिका फूल, विभिन्न भाषा तथा संस्कृतिसम्बन्धी अवलोकन तथा अध्ययन, कृषि पर्यटन, साइक्लिङ आदि विविध विधाअन्तर्गत पर्यटन सम्भावना उल्लेख्य छ ।’ किरात भनेको सिभिलाइजेसन हो । किरात सिभिलाइजेसन भनेको के हो ? यसको विकास कसरी भयो ? यसको सभ्यतामा के–के पर्छन् ? आदि सांस्कृतिक पक्ष जोड्दै नेचुरल व्युटिजदेखि लिएर मोमेन्टम् कल्चर एक्टिभिटिज्लाई सुन्दर ढंगले जोडे पलासको फूलमा सुगन्ध भेटेजस्तै हुन्छ ।’

चिन्तामा वातावरणविद्

पर्यटन व्यवसाय फस्टाउँदै गए पनि वातावरणमा असर पर्दै गएकोमा वातावरणविद्ले चिन्ता व्यक्त गर्दै आएका छन् । विदेशी पर्यटक नेपाल आएपछि सम्बन्धित गन्तव्यसम्म पुग्न उनीहरूलाई आवश्यक पूर्वाधार चाहिन्छ । व्यापारीले व्यापार गर्नैपर्यो । उसले होटल तथा लज चलाउँछ । त्यो बनाउँदा काठ काट्नैपर्यो । देख्नेले फलानोले होटल तथा लज चलाएर कमायो, म पनि त्यसै गर्छु भन्छ । दोस्रोको देखेर तेस्रोले सिको गर्छ । त्यो क्रम जारी रहँदा जंगल फँडानी बढ्दै गइरहेको छ । यसले कसैलाई भलो गर्दैन ।

यसैगरी, आन्तरिक तथा बाह्य पर्यटकका लागि होटलमा प्रयोग हुने अधिकांश खानेकुरा थाइल्यान्ड, जापान, चीनलगायत मुलुकमा बनेका हुन्छन् । ती खानेकुरा प्लास्टिक वा क्यानमा प्याक गरिन्छन् । खानेकुरा खाइसकेपछि त्यो कहाँ फाल्ने ? आज दुई काटुन बियर बिक्री भयो भनेर व्यापारी खुसी हुन्छन् तर बोतल कहाँ फाल्ने ? त्यो त्यत्तिकै लथालिंग हुन्छ । त्यसको वैज्ञानिक व्यवस्थापन गर्न कसैको ध्यान गएको छैन ।

मानिसका इच्छा र आवश्यकता अनेक भए पनि जीवन एक हुन्छ । प्रत्येक मानिसले अर्थपूर्ण जीवन जिउनुपर्छ । पर्यटन व्यवसायी धन खालिङ त्यही अर्थपूर्ण जीवन जिउन प्रयासरत छन् । एकबारको जीवनमा खालिङले पर्यटन व्यवसायसँग आफ्नो सालनाल गाडिएको गाउँठाउँको उत्थान, ऐतिहासिक वस्तु संरक्षण, सम्बद्र्धन गर्नु भनेको समाजसेवाको उत्कृष्ट नमुना हो ।

तस्विर : उजोल राई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप