मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मिथिला परिक्रमा: बुद्ध एयरको उडानले सहज

आइतबार, ०७ कात्तिक २०७३, १३ : ३१
आइतबार, ०७ कात्तिक २०७३

काठमाडौं–प्रामाणिक हुन् वा मिथक, हरेक स्थानका आफ्नै कथा हुन्छन् । कतिले तिनै कथा पछ्याउछन् त कतिले वेवास्ताको पर्खाल लगाउँछन् । मुलुकको वर्तमान राजनीतिक रेखा कोरिनु भन्दा धेरै अघि उत्तर भारत र नेपालको तराई क्षेत्रमा एउटा समृद्ध मुलुकको जन्म र मृत्यु भएको थियो । महाभारत कालमै मृत्यु हुन पुगेको त्यस पौराणिक राज्यको नाम थियो–मिथिला । जसका मिथक मात्र हैन, ऐतिहासिक दस्तावेज समेत अझै जीवितै छन्–जनकपुर र यसको आसपासमा । भनिन्छ, महाभारतकालीन युद्धले पौराणिक मिथिला राज्यको विघटन गरायो, जुन सदियौंसम्म मिथकमै सिमित हुन पुग्यो । भक्तजनबीच विवाहपूर्व सीताले बिताएको स्थान र रामसँगको रोचक बिहेको कथा एउटा सुखद सम्झनामा सिमित भयो । पौराणिक मिथिला मिथकमा सिमित भएको धेरैपछि १६ र १७ औ शताब्दीमा अयोध्यामाथि मुगल शासकले कब्जा जमाए । मुगलको डरले हिन्दु सन्तहरु तराइको घना जंगल छिचोल्दै उत्तरतर्फ लागे र सीताका धर्म पिता जनकद्वारा शासित क्षेत्र खोज्न थाले । नयाँ बस्तीमा पहिलो पल्ट आइपुगेका सन्तहरुले देवता मानिससँगै हिाडेका बेलाका पुराना अवशेष र कलाकृतिको खोजीलाई तिव्र पारे । रामायणका अनुसार वैदेही वंशको २३ औं पुस्ता बित्दै गर्दा मिथिलामा ठूलो खडेरी पर्‍यो । इन्द्रदेवलाई खुशी पारी खडेरीबाट छुटकारा पाउन राजा जनकले ठूलो यज्ञ गराए । उनी आफै खेत जोत्न गए । जनकले जोत्दै गरेको हलोको टुडोमा नवजात बालिका भेटिइन् । जनकले उनलाई छोरी मानेर पाले र सीता नामाकरण गरे । सीता कसरी ठूली भइन् र तिनको बिहे रामसँग कसरी भयो सबै धर्मग्रन्थ र इतिहासमा लेखिएकै छ । रामायणको कथा सायदै कुनै नेपालीका लागि नौलो होला । तर, हामीमध्ये धेरै अझै पनि जनकपुरभित्रका कतिपय रहस्यपूर्ण रोचक तथ्यबारे जानकार छैनौं । एउटा सप्ताहन्त जनकपुरमा बिताउनु भनेको रामायणको कथालाई फेरि एकपल्ट पछ्याउनु मात्र होइन, पुन: अन्वेषण गर्नु समेत हो ।

पहिलो दिन : शिवधनुषको कथा विवाहको समय भएपछि जनकले सीताका लागि वर खोज्ने निधो गरे । उनले आफ्नी छोरी सबैभन्दा बलवान् र बुद्धिमान पुरुषलाई दिनका लागि धनुष उचाल्नु पर्ने सर्त अघि सारे । भगवान शिवको धनुष भएकाले त्यसलाई शिवधनुष भनिन्थ्यो । राज्यको रक्षाका लागि राखिएको त्यहि धनुष उचाल्न सक्नेलाई छोरी दिने जनकको घोषणापछि धेरै राजकुमारहरु जनकपुरमा भेला भए । करिब ५० हजार मानिसले उचालेर दरबारमा पुर्‍याएको शिव धनुषलाई कसैले उचाल्न त के हल्लाउन समेत सकेनन् । अयोध्याका राजकुमार रामले भने शिव धनुषलाई सजिलै उचालेनन् मात्र, बाँण हान्न खिच्दै गर्दा धनुषलाई नै तीन टुक्रा पारिदिए । यसरी भाँचिएका तीन टुक्रा मध्ये एउटा स्वर्ग, अर्को मत्र्य (पृथ्वी) र अर्को पाताल (नर्क) तर्फ गए । धनुष भाँचिएकै आधारमा मिथिलामा रामलाई स्वर्ग, मत्र्य र पाताल तीनै लोकको इश्वरकोरुपमा चिनिएको थियो ।

जनकपुरधाम सहर विश्वप्रसिद्ध जानकी मन्दिरबाट घर र सडक हुँदै बाहिरतिर फैलदै गएको छ । यसकारण तपाईका लागि सहर बाहिरको यात्रा नै पहिलो दिनका निम्ती उपयुक्त हुनेछ । धनुषको टुक्रा खसेको स्थानबाट यात्रा सुरु गर्दा तपाईलाई मुख्य सहरबाट बाहिर निस्कने मात्र हैन, अन्य क्षेत्रको भ्रमण गर्ने अवसर समेत मिल्नेछ । मुख्य सहरबाट केही मिनेटको दूरीमा रहेको धनुषसागर जनकपुरमा भक्तजनका लागि महत्वपूर्ण स्थान हो । राम मन्दिरको ठिक अगाडी रहेको यो पोखरीमा रामले भाँचेको धनुषको एउटा भाग खसेको विश्वास गरिन्छ । धनुषसागर भक्तजनको दैनिक स्नान केन्द्र हो, जसले पानी र मधेसी बिचको प्रगाढ बन्धन समेत दर्शाउँछ । पोखरीबाट जिरो माइलसम्म हिडेपछि स्थानीय बसपार्क छ, जहाबाट तपाई दक्षिणतर्फ भारतीय सीमा नजिकैको जलेश्वर जान सक्नुहुन्छ । बसपार्कको छेवैमा त्यस क्षेत्रकै पवित्र शिव मन्दिर रहेको छ । विशेष अवसरमा शिव मन्दिर परिसरमा सबै समूह र जातजातिका महिलाले शुद्ध मानिएको पोखरीबाट ल्याइएको जल अर्पण गर्छन् । धनुष मन्दिर भ्रमण गरेर पहिलो दिनको यात्रा समापन गर्नु सबैभन्दा उत्तम हुनेछ । धनुष मन्दिर जनकपुरधामबाट करिब १५ किलोमिटर उत्तरमा रहेको छ । यो मन्दिर रामले भाँचेको शिव धनुषका तीन टुक्रामध्ये नर्कतर्फ गएको टुक्रा खसेकै स्थानमा बनाइएको विश्वास गरिन्छ । यहा रामायणको एकदमै अविश्वसनीय र आश्चर्यजनक प्रमाण भेटिन्छ । मुख्य मन्दिरभित्रै रहेको एउटा पौराणिक वृक्षको जराबाट चट्टान बढ्दै गरेको देखिन्छ । स्थानीयका अनुसार यो चट्टान बाहिरपट्टि विस्तार बढ्दै आइरहेको छ । पहिलो रात जनकपुर फर्किएपछि तपाई महा गंगासागरको शान्त जल हेदै साँझ बिताउन सक्नुहुनेछ, जहा हर रात आरती समेत हुने गर्दछ । मह गंगासागर त्यहाका विभिन्न पोखरीमध्ये सबैभन्दा ठूलो हो । यो एउटा नहरद्वारा धनुषसागरसँग जोडिएको छ । स्थानीय गंगासागरको गहिराई गंगा नदीकै बराबर भएको विश्वास गर्छन् । गंगासागरको दक्षिणपूर्वी कुनामा हालसालै बनाइएको भूतनाथ मन्दिर परिसर रहेको छ । जसमा रहेको मनोरम बगंैचामा एक नजर लगाएर तपाई होटलतर्फ प्रस्थान गर्न सक्नुहुन्छ । भूतनाथको प्रागङ्गणमा अन्त्येष्टी कार्य गरिन्छ । दोस्रो दिन: पवित्र विवाह विवाहकोरुपमा राम र सीताको मिलन जनकपुरको प्राचिन इतिहासको एक महत्वपूर्ण अंग मानिन्छ । यो दिव्य जोडी जानकी मन्दिरभित्रको प्रसिद्धि नै हो । मुस्लिम परम्परा मिसिएको यो मन्दिर हिन्दु राजपुत शैलीमा बनेको छ । जसलाई एक भारतीय रानीले सीता आफ्ना पितासँग बसैकै स्थानमा बनाउन लगाएकी थिइन् । सन्त सुर किशोर दासले सहरको मुटुमै मन्दिर रहेको स्थानमा सीताको सुनौलो मूर्ति पत्ता लगाएका थिए । सेता चम्किला पर्खाल र रातो एवं हरियो रङद्वारा सजिएको गजुरयुक्त मन्दिर घाम लागेका बेला एकदमै शानदार देखिन्छ । भित्री चोकको पवित्रस्थलमा संगमर्मरद्वारा कुदिएका सीता, राम र उनको भाईका प्रतिमाहरु रहेका छन् । मन्दिर भ्रमणका लागि सबैभन्दा उपयुक्त समय भनेको शनिबार बिहान करिब ८ बजेको हो । त्यसबेला भक्तजन एवं पुजारीहरु एक सुरले मन्त्रोच्चारण गर्छन् र तत्कालै आशिर्वादका लागि भित्रका मुर्तिबाट पर्दा हटाउँछन् । साँझमा पनि भक्तजनहरु मन्दिरमा बत्ति बाल्छन् र परिसरमा प्रार्थना गर्दै यताउता गर्छन् । त्यहा सीताको जन्म र पालन झल्काउने सानो संग्राहलय समेत रहेको छ । यो संग्राहलय मुख्य प्रतिमाको दक्षिणपश्चिममा अवस्थित छ, जुन दिनभर खुला हुन्छ । दिव्य विवाहको चिनोकोरुपमा रहेको राम जानकी विवाह मण्डप जानकी मन्दिरसँगै जोडिएको छ । आश्चर्यजनकरुपमा यो मण्डप भने काठमाडौं उपत्यकाको नेवारी शैलीमा निर्माण गरिएको छ । मण्डपमा राम सीताका अतिरिक्त रामायणमा वर्णित अन्य पात्रका पूर्णकदका प्रतिमा बनाइएका छन् । मुख्य सडकदेखि मण्डपसम्म जोडिएको रंगमञ्च छ । जसलाई स्थानीयरुपमा बाह्र विगाह समेत भनिन्छ । हरेक वर्ष राम र सीताको विवाह भएको मानिने विवाह पञ्चमीका दिन यहा जनसमूदायको ठूलो भीड लाग्ने गर्दछ । धनुषसागरकै उत्तरी पश्चिममा राजा जनककको मन्दिर रहेको छ । जसलाई जनक मन्दिरले चिनिन्छ । त्यसैगरि राममन्दिरसँगै राजदेवीको पनि मन्दिर रहेको छ । जहाँ दशैंमा भव्य मेला लाग्ने गर्छ । जानकी मन्दिर र यस आसपासको भ्रमण सकेर दिउसो नेपालको एउटै मात्र रेलवे स्टेसन जनकपुर रेलवे जान सकिन्छ । यो स्टेसन अहिले निर्माणाधिन रहेको छ, तर यसले भारतीय रेलवे प्रणालीकै जस्तो रेल सेवा दिन सक्छ । साँझका लागि भने जनकपुरका सडक र अन्य मन्दिरमा नयाँ–नयाँ परिकार चाख्न र किनमेल गर्न सकिन्छ । तेस्रो दिन: सामाजिक–सांस्कृतिक उपहार

तिर्थस्थल भएकाले जनकपुरले सबैखाले पर्यटकको जरुरत पुरा गर्दैन । यहा आधारभुत आवश्यकताका वस्तु, पुजाआजाका सामान र केही उपहार बाहेक अन्य पर्यटकीय केन्द्रमा जस्ता सामान पाइदैनन् । उपहारका निम्ती सबैभन्दा उपयुक्त विकल्प हुनसक्छ–जनकपुर महिला विकास समितिको भ्रमण । सन् १९९२ मा स्थापना भएको समितिले मिथिला कलालाई पुर्नजीवित गरेको छ । यो कला रामायणसँग समेत जोडिएको छ । मिथिला कलाको पुर्नजीवनले त्यस क्षेत्रका महिलाको जीवनस्तर उकास्न समेत मद्दत गरिरहेको छ । विभिन्न माध्यमबाट उनीहरु परम्परागत मिथिला कला, माटाका भाडा, ऐना, मुद्रित कपडालगायतका सामग्री निर्यात र बिक्री गरिरहेका छन् । जनकपुर महिला विकास समिति त्यहाको विमानस्थल नजिकै शान्त आप बगैंचासँगै रहेको छ । यसको आँगनमा तपाइलाई पन पर्ने मिथिला कला र उपहारहरु पर्खिरहेका हुनेछन्, जुन यसरी सजाइएका छन् की, तपाई जनकपुरका अन्य स्थानमा कतैपनि देख्नु हुनेछैन ।

जनकपुरको भ्रमण यो शहर पूर्व पश्चिम राजमार्गसँगै जोडिएकोले देशको कुनै कुना ठाउँबाट सजिलै पुग्न सकिन्छ । अझ राजधानीबाट बीपी राजमार्ग हुँदै आधा दिनको यात्रामै पुग्न सकिन्छ । बुध्द एयरको यहाँ दैनिक उडान हुने गरेको छ । टिकटको लागि ५५४२४९४ तथा धार्मिक–पर्यटकीय प्याकेजको लागि ५५४२४९४, एक्सटेन्सन नं. ११९/१४९ मा सम्पर्क गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप