मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाँच स्वादका ३० नेपाली परिकार अन्तर्राष्ट्रियकरण गर्ने तयारी

मङ्गलबार, १६ माघ २०७४, १३ : ०९
मङ्गलबार, १६ माघ २०७४

काठमाडौँ । ‘भोकाएको पेटलाई मात्रै हामीले खाना खुवायौं,’ पर्यटनविद् कर्ण शाक्यले सुनाए, ‘हामी थालमा खानाको पहाड हेर्छौं । थालमा खानाको पहाड हेर्नेसँग पैसा हुँदैन । प्लेटमा चटक्क राखिएको खाना आँखा, नाक र जिब्रोले खानुपर्छ ।’

नेपाली खाना ८४ व्यञ्जनका हुन्छन् भनिन्छ । ‘अहिलेसम्म नेपाली खानाबारे अध्ययन भएको छैन,’ लेखक तथा साहित्यकारका रूपमा समेत परिचित शाक्यले जानकारी गराए, ‘नेपालमा झन्डै १८६ प्रकारको रैथाने तथा मौलिक परिकार पाइन्छन् । तिनमध्ये आँखा, नाक र जिब्रोले खाने नेपाली परिकार अन्तर्राष्ट्रियकरण गर्न लागिपरेका छौं ।’
\नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नेपालभरि कुन खाना कहाँ पाक्छन् भनेर अनुसन्धान भइरहेको छ । नेपालभरि पाक्ने खानाको सूचीमात्रै होइन, ती खाना कसरी पकाइन्छन् भनेर पाककलाबारे पनि जानकारी लिइँदै छ । 

नेपाली खाना अन्तर्राष्ट्रियकरण गर्न पाँच स्वादका ३० परिकार पहिचान भइसकेका छन् । पहिचान गरिएका नेपाली परिकार अन्तर्राष्ट्रिय स्वादमा कसरी पस्कने भनेर अध्ययन अनुसन्धान भइरहेको छ । ‘एक प्लेट मःमःमा ४०० क्यालोरी हुन्छ,’ उनको मान्यता छ, ‘खल्तीमा पैसा र खानमा सौखिनले जस्तोतस्तो खाना खाँदैनन् । तसर्थ, अन्तर्राष्ट्रियकरण गर्न लागिएको नेपाली परिकार २०० क्यालोरीभन्दा बढी हुँदैन ।’  

खाना भनेको पर्यटनको महत्वपूर्ण अध्याय हो । पर्यटनमा दुई सम्पदा हुन्छन् । पहिलो भौतिक र दोस्रो सांस्कृतिक सम्पदा । ‘भौतिक सम्पदा पर्यटनमा अति आवश्यक मानिन्छ । सांस्कृतिक सम्पदा त्यत्तिकै जीवन्त हुन्छ,’ उनको तर्क छ, ‘खाना सांस्कृतिक सम्पदामा पर्छ । खाना भनेपछि इमोसन वा सेन्टिमेन्ट हुन्छ । जब सम्पदामा इमोसन र सेन्टिमेन्ट हुन्छ, त्यसपछि सम्पदाले सास फेर्छ । जब सम्पदाले सास फेर्छ, पर्यटन जीवन्त हुन्छ ।’ 

नेपालको पर्यटन जीवन्त बनाउन नाचगान, गीत–संगीत र खानेकुराको त्यत्तिकै महत्व हुन्छ । ‘तर, हामीले त्यता ध्यान दिएकै छैनौं । नेपाल आएका पर्यटक हिमाल र जीवन्तता हेर्न चाहन्छन्,’ उनको भनाइ छ, ‘कुनै पर्यटक पटक–पटक नेपाल आउँछ भने उसले यहाँको जीवन्तता हेर्न आएका हुन् । ४० प्रति विदेशी पर्यटक पटक–पटक नेपाल आउने गरेको छन् ।’ पर्यटन भनेको अन्त्यहीन परिवर्तनको चिह्न हो । पर्यटनमा कहिल्यै पूर्णविराम लाग्दैन । लागेको दिन पर्यटन बासी हुन्छ । बासी माल पर्यटनमा बिक्री हुँदैन ।

‘१९६४ मा पढ्न अमेरिका पुगें । त्यहाँको सबैभन्दा महँगो खाना भनेकै चाइनिज रहेछ,’ कर्ण शाक्यले अतीत सम्झे, ‘त्यतिबेला अमेरिकामा अन्य खाना पाइँदैथ्यो । सन् १९७२ मा नेपालीले लन्डनमा रेष्टुरेन्ट खोल्यो । रेष्टुरेन्ट सञ्चालक नेपाली भए पनि नान र चिकेन तन्दुरीमात्रै बेच्थ्यो । नेपाली खाना पाइँदैनथ्यो ।’

त्यही अभाव पूर्ति गर्न कर्ण शाक्यहरू नेपाली परिकार अन्तर्राष्ट्रिय गर्न लागिपरेका हुन् । यो कामले मूर्त रूप लिएपछि नेपाली पर्यटन उकासिनेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप