सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा ८ देशका शरणार्थी, अझै पनि सबैभन्दा धेरै भुटानका

मङ्गलबार, १६ माघ २०७४, १५ : २७
मङ्गलबार, १६ माघ २०७४

काठमाडौँ । नेपालमा झण्डै ८ देशका नागरिकहरु शरणार्थीको रुपमा बस्दै आइरहेका छन् । भुटान, तिब्बत, पाकिस्तान, म्यानमार, अफगानिस्तान, श्रीलंका, बंगलादेश र सोमालिया लगायतका देशका नागरिक नेपालमा शरणार्थीको रुपमा बस्दै आइरहेका छन् । 

नेपाल सरकारको गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अझैसम्म पनि शरणार्थीको रुपमा सबैभन्दा धेरै भुटानका नागरिक रहेका छन् । हाल ९ हजार ८ सय ४ जना भुटानी नागरिकहरु नेपालमा शरणार्थीका रुपमा बस्दै आईरहेको छन् ।

यस्तै, बालबालिकाको संख्यामा पनि शरणार्थीको रुपमा भुटानका नागरिकनै रहेका छन् । नेपाल सरकार गृहमन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार आ.व २०७३/०७४ मा नेपालमा १ हजार ७ सय ६९ जना बालक र १ हजार ६ सय ६७ जना बालिका गरी जम्मा ३ हजार ४ सय ३६ जना बालबालिका नेपालमा शरणार्थीको रुपमा रहेका छन् । ती बालबालिका हाल आफ्नो परिवारसँग झापाको बेलडाँगी शिविरमा २ हजार ७ सय ३५ जना, मोरङको शनिश्चरे शिविरमा ६ सय ९५ जना र शिविर बाहिर ६ जना बालबालिका रहेको जनाएको छ । 

यो शरणार्थी बालबालिकाको अवस्था हेर्ने हो भने अघिल्लो वर्ष भन्दा अहिले आधा घटेको केन्द्रीय बालकल्याण समितिले जनाएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा नेपालमा शरणार्थीको रुपमा भुटानका ६ हजार १ सय ९२ जना बालबालिका थिए । जसमा ३ हजार १ सय ७५ जना बालक र ३ हजार १७ जना बालिका रहेका थिए । 

यो संख्या र अहिलेको अवस्था हेर्ने हो भने २ हजार ७ सय ५६ जना घटेको देखिन्छ । पाकिस्तान, म्यानमार, अफगानिस्तान, श्रीलंका, बंगलादेश र सोमालियाका शरणार्थीहरुमध्ये ९५ जना बालक र ८९ जना बालिका गरी जम्मा १८४ जना बालबालिका गत वर्ष देखिएको थियो । 

भुटानका एक लाख भन्दा बढी नागरिक तेश्रो मुलुकमा पुनःस्थापना कार्यक्रम अन्तर्गत गइसकेका छन् । तेस्रो देश पुनःस्थापना कार्यक्रमअन्तर्गत शरणार्थीहरु अहिलेसम्म क्यानाडा, ब्रिटेन, नेदरल्यान्ड, नर्वे, डेनमार्क, अस्ट्रेलिया र न्युजिल्यान्डमा पुनःस्थापित भएका छन् । अन्य बाँकी शरणार्थी मात्रै शिविरमा रहेका छन् । बाँकी शरणार्थीलाई फर्काउनने सवालमा छलफल भइरहेको गृहमन्त्रालयले जनाएको छ ।

तेस्रो मुलुक पुनःस्थापना कार्यक्रम अन्तर्गत १ लाख ३ हजार ६८ मध्ये अमेरिकामा ९० हजार ३ सय ५८, क्यानाडामा ६ हजार ७ सय ५९, बेलायतमा ३ सय  ५८, नेदरल्यान्डमा ३ सय २९, डेनमार्कमा ८ सय ७५ जना, नर्वेमा ५ सय ७० जना, अस्ट्रेलियामा ६ हजार ६१ जना र न्युजिल्यान्डमा १ हजार ५८ जना भुटानी शरणार्थी पुनःस्थापना भइसकेका छन् ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप