मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सहस्रधाराधाम आन्तरिक पर्यटक र तीर्थालुको गन्तव्य बन्दै

सोमबार, २२ कात्तिक २०७३, ०८ : ०७
सोमबार, २२ कात्तिक २०७३

पर्वत – पर्वतको पाङमा रहेको सहस्रधाराधाम पछिल्लो समय तीर्थयात्री र आन्तरिक पर्यटकले भरिन थालेको छ ।

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ प्रवेश गर्दा सहस्रधारामा स्नान र दर्शन गरेर मात्र जानुपर्ने मान्यता रहेकाले सहस्रधारामा पछिल्लो समयमा आन्तरिक र बाह्य पर्यटक तथा तीर्थालुको भीड लाग्न थालेको हो ।

पैदलमार्गबाट आउने तीर्थालुले बास बस्ने र स्नान गरेर मात्र फर्कने यस स्थान पोखरा बागलुङ सडक निर्माणसँगै ओझेलमा परेको थियो । पछिल्लो समयमा यसलाई धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यसहित १०८ धारा निर्माण गरिएपछि मुस्ताङ जाने आन्तरिक पर्यटक र तीर्थालुको भीड लाग्न थालेको छ । सहस्रधारामा हिन्दू धर्मशास्त्रमा माता पार्वतीले तपस्या गरेको भन्ने किम्वदन्तीका आधारमा यस स्थानलाई पवित्र स्थान मानिन्छ । कालञ्जार पर्वत अर्थात् पर्वतको हम्पाल क्षेत्रबाट अलप भएको सहस्रधारा पाङमा आएर निस्किएको र त्यहाँ स्नान गर्नाले मनोकामना पूरा हुने तथा विभिन्न रोग निको हुने जनविश्वास रहेको छ ।

तीर्थालुको सहजताका लागि हाल यहाँ १०८ गौ धारा निर्माण गरिएको सहस्रधारा दिव्यधाम विकास समितिका सदस्य राजुप्रसाद पौडेलले बताए । पोखरा बागलुङ राजमार्गमै पर्ने भएकाले पनि यस स्थानमा अहिले धार्मिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । सहस्रधारा दिव्य धाम र राष्ट्रिय परोपकार महासङ्घले आयोजना गरेको महायज्ञबाट उठेको रकमले यहाँ विभिन्न संरचना निर्माण भएका छन् ।

हाल सहस्रधाराको वरिपरि विभिन्न पूर्वाधार बनिसकेका र अहिले बनेका पूर्वाधारका कारण तीर्थालु बढ्ने विश्वास स्थानीयवासीको छ । सहस्रधारालाई धार्मिक र पर्यटकीय रुपमा पवित्र र प्रसिद्ध पनि भएका कारण यस क्षेत्रको विकासका लागि अझै धेरै गर्नुपर्ने आवश्यकता रहेको पौडेलले बताए ।

धेरै वर्ष पहिलादेखि नै सहस्रधारामा लक्ष्मी नारायणको मन्दिर निर्माण गरी मुक्तिनाथ जाने आउने तीर्थालुका लागि निःशुल्क बस्ने तथा खाने व्यवस्था गरिँदै आएको र आगामी दिनमा पनि सोही अनुसार नै अगाडि बढाइने स्थानीय बताउँछन् ।

हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल मुक्तिनाथ र दामोदर कुण्ड पुग्ने तीर्थालुको प्रवेशद्वारको रुपमा रहेको सहस्रधारामा स्नान गर्न आउने तीर्थालुलाई खान र आवासका लागि धर्मशाला तथा मुक्तिनारायणको आकर्षक मन्दिर निर्माण भइरहेको छ ।

पोखरा बागलुङ राजमार्ग निर्माण पूर्व पैदल यात्राबाट मुक्तिनाथ पुग्ने स्वदेशी र भारतीय समेत तीर्थालुले एकरात सहस्रधारामा बिताउँदै आएका थिए । अहिले पनि यहाँ पुग्ने सबै तीर्थालुलाई खान र बस्न निःशुल्क व्यवस्था हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप