मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

रसुवागढी एक्सप्रेस

सोमबार, २९ कात्तिक २०७३, ११ : ४७
सोमबार, २९ कात्तिक २०७३

झिल्टुङको साहित्यिक कार्यक्रमको बिट मारेर काठमाडौँबाट गएको टोली सिधै त्रिशुलीको किनारस्थित रातमाटे फाँटतिरको ओरालो लाग्यौँ । भर्खरै खनिएको ठाडै ओरालो बाटोको स्थिति हेर्दा बाटो खन्दा गर्नुपर्ने सामान्य प्रारम्भिक अध्ययन पनि नगरेझैँ देखिन्थ्यो । त्यसो त अहिले गाउँघरतिर जताततै बाटो खन्ने क्रम तीव्र छ, बाटोको नक्सासम्म सबै गाउँमा पुगेकै छ । एउटा गाउँमा तीन चार वटासम्म बाटा खनिएका छन् । यसरी विना कुनै इन्जिनियरिङ डिजाइन, विना भौगोलिक अध्ययन खनिएका बाटाहरू स्वभावतः बर्खाको समयमा प्रयोगविहीन हुन्छन् र प्रत्येक वर्ष त्यसलाई खनीखोस्री चालू अवस्थामा ल्याउनको लागि निकै बजेट खर्च गर्नुपर्ने बाध्यता छ । गाउँमा ठूलाबडा र स्थानीय राजनीतिज्ञहरूको घरघरलाई केन्द्रित गरेर खनिएका त्यस्ता बाटाहरूले एक त गाउँघरमा जाने बजेट पूर्णतया अनुत्पादक हुन पुगेको छ भने अर्कोतिर कमजोर धरातलमा खनिएका साँघुरा बाटाहरूले पर्यावरणमै असर पुग्नुका साथै त्यस्ता सडकमा दुर्घटनाका सम्भावनाहरूलाई पनि बढाइदिएको छ । यसर्थ, हामीले अब कति र कस्तो सडकको आवश्यकता पर्ने हो, त्यसमा बृहत् अध्ययन गर्न जरुरी छ ।

त्यसो त अहिलेको सडक सञ्जालको पहुँचलाई हेर्दा केही अपवादबाहेक सबैजसो जिल्लाका गाउँमा सडक सञ्जाल पुगेको छ तर ती सबैजसो सडकमा बाह्रै महिना सवारी आवागमन हुनसक्ने अवस्था छैन । अनि प्रत्येक वर्ष बर्खामासमा झरेको पहिरो पन्छाउनमै बजेट खर्च गर्नुपर्ने बाध्यता आउँछ । यसलाई व्यवस्थित गर्नका लागि प्रत्येक गाउँमा एउटा सामूहिक सडक खन्ने र त्यसैलाई बलियो र दिगो बनाउनेतिर सोच्नुपर्ने बेला भइसकेको छ । प्रतिस्पर्धात्मक र प्रतिशोधात्मक रूपमा खनिएका अनगिन्ती सडक न त प्रयोगमा आएका छन् न त तिनले वातावरणीय सन्तुलन कायम राख्न सकेका छन् । यसर्थ, अब यसतर्फ पनि ध्यान जानु जरुरी छ । हो, हामी त्यस्तै सडक खण्डबाट ओरालो झरेर रातमाटे फाँटमा पुग्यौँ । त्यहाँ चिया पिइसकेपछि निनु चापागाईं, स्नेह सायमीहरूलाई त्यहाँबाट काठमाडौँको लागि बिदा गरेर युग पाठक, नरेश ज्ञवाली, पाठकपुत्र ईशान, मित्र ज्वालामुखी र पंक्तिकारसहितको हामी पाँच जनाको टोली हुईंकियौँ रसुवातिर । अबको भूगोल मेरा लागि नितान्त नौलो र अपरिचित थियो । अनि हामीलाई भूगोल, स्थानीय रहनसहन, सामाजिक, सांस्कृतिक तथा अर्थ प्रणालीका बारेमा जानकारी दिने उनै मित्र ज्वालामुखी थिए ।

त्रिशुलीको किनारैकिनार घुम्तीमोड हुँदै अगाडि बढेको बाटो ठाउँठाउँमा बिग्रिएर खराब भएको थियो । तथापि हामीलाई मोटरसाइकल ड्राइभ गर्न भने त्यत्ति गाह्रो भएन । हामी त्रिशुलीको छाल, अनि पाकेको धानले सुनसरी बनेको त्रिशुलीकै फाँट, सडकका दायाँबायाँ छरिएर रहेको ससानो बजार क्षेत्रको दृश्यावलोकन गर्दै अघि बढ्यौँ । हामी चिया नास्ताका लागि रसुवा र नुवाकोटको सिमानामा पर्ने बेत्रावती बजारमा रोकियौँ । त्यसपछि कालिकास्थानको उकालो हुईंकियौँ । उकालो नागबेली परेको घुर्माइलो सडक अनि सडक वरिपरिका ससाना बस्ती र बाटाभरि फुलेका सयपत्री, मखमली फूलको सुन्दरता, घरका आँगनहरूमा भिœयाइन लागेका अनेकन बाली, भर्खरै बर्खा सकिएर सफा बनेको नीलो आकाश, त्यही आकाशमा अपराह्नमा मलिन बन्दै गएको घामको प्रकाश अनि कात्तिकको हल्का गुलावी जाडोको मोटरसाइकल यात्रा, अनि यात्रामा आत्मीय मित्रहरूको साथ, बस रोमाञ्चित बनाउन थप केही जरुरी थिएन । यसर्थ, हामी यात्राको भरपूर आनन्द लिँदै अघि बढ्यौँ । रसुवाको कालिकास्थान पुग्दा केहीबेर अघिसम्म पारिलो बनेको रातो सूर्य पश्चिमका डाँडाहरूमा बास बस्न तम्तयार देखिन्थ्यो ।

ठाउँठाउँमा रोकिएर भूगोलको दृश्यावलोकन गर्दै हामी अघि बढ्यौँ । अबको बाटो भने केही खराब थियो, किनकि कालिकास्थानको उकालो पार गरिसकेपछिको आउने मूलखर्क लेकको सडकखण्ड भने बिग्रिएको रहेछ । फेरि तिनै साँघुरा सडकमा रसुवागढी नाका सञ्चालनमा आएपछि अत्यधिक लोडयुक्त सवारीहरूको चाप पर्दा बाटो बिग्रिनु स्वाभाविकै थियो । यसको प्रत्यक्ष दर्सी त्यही बाटोमा देखियो । यद्यपि भूकम्पपछि असाध्यै चर्चाको शिखरमा रहेको रसुवागढी नाकाको सडकमार्ग योजना अनुसार विस्तार गर्ने काम भने सुरु भएको देखिएन । रसुवाको धुन्चे पुग्दा झमक्कै साँझ परिसकेको थियो । धुन्चेमा बासको प्रबन्धका लागि धुन्चेमै कार्यरत अर्का नुवाकोटे मित्र दिनेश लामिछाने उर्फ असीम अगाडि सरे र उनले नै एक होटेलमा बास बस्ने प्रबन्धको पहल गरिदिए । त्यस रात त्यहीँ बास बसियो र भोलिपल्ट बिहान हामी धुन्चेबाट रसुवागढीको नाकातर्फ अघि बढ्यौँ ।

धुन्चेबाट ओरालो लागेपछि नुवाकोट, धादिङ, गोरखा, चितवन हुँदै गड्गडाएर बग्ने त्रिशुली नदीको निम्छरो अनुहार देखियो । रसुवामा सानो खोल्सोझैँ लाग्ने त्रिशुली दक्षिणतिर आइसकेपछि विशाल बन्दै आउँदोरहेछ र धादिङ आइसकेपछिको त्रिशुलीको रौद्र रूप त्यहाँ सानो खोल्सामा रूपान्तरित भएको देखियो । त्रिशुलीले प्रत्येक वर्ष धेरै मान्छे निलिरहेको छ । त्यसो त त्रिशुलीको नामकरणमा पनि धार्मिक हस्तक्षेप देखियो । त्रिशुलीभन्दा चीनको तिब्बततिरको हिमालको फेदबाट बग्दै आउने खोला जसलाई स्थानीयहरू भोटेकोशी भन्दा रहेछन्, भोटेकोशी कैयौँ गुणा ठूलो रहेछ । अनि नदीको नामकरणको सामान्य सिद्धान्त पनि धेरै पानी बग्ने खोलालाई मूलधार मानिन्छ र त्यसैको नामले तल्लो तटीय क्षेत्रको पहिचान बन्छ । यदि खोलामा बग्ने पानीको मात्राकै आधारमा नामकरण गर्दा त अहिलेको त्रिशुलीलाई भोटेकोशी नामकरण गर्नुपर्ने हो तर त्यहीँनेर सत्ताको धर्म र संस्कृति अनुरूप त्यसलाई एउटा मिथकका आधारमा त्रिशुली नामकरण गरेको देखियो । धुन्चेको चियापसलमा चिया पिउँदै केही पाका स्थानीयसँग त्रिशुलीको नामकरणको प्रसंग कोट्याउँदा उनीहरूले पनि यो तर्कमा सहमति जनाए ।

जेहोस् त्रिशुली तरिसकेपछिको चट्टानी सडकले कर्णाली लोकमार्गको झल्को दिन्थ्यो । स्याफ्रु पुगेपछि रसुवागढीको लागि कच्ची बाटोको यात्रा सुरु भयो । कच्ची सडकमा धुलो उडाउँदै भोटेकोशीको तिरैतिर हामी हुईंकियौँ । रसुवागढीको सीमा नजिकैको बजार टिमुरे पुग्दा त्यस्तै दश बजेको हुँदोहो । तिहारको चटारोमा रहेको टिमुरे बजारमा खासै चहलपहल देखिएन । अनि रसुवागढीको भोटेकोशी किनारमा दर्जनौँको संख्यामा मालवाहक कन्टेनरहरू थन्किएका थिए, सायद तिहारको कारण भन्सार कार्यालय बन्द भएकोले ती कन्टेनरहरू चलानीको पालो कुरेर बसेका थिए । डेढ वर्षअघिको शक्तिशाली भूकम्पका कारण चीनबाट सामान आयात गर्ने एकमात्र नियमित नाका सिन्धुपाल्चोकको तातोपानी पहिरोका कारण अवरुद्ध भएपछि रसुवागढी सीमा नाकाको चर्चा बढी सुनिन थालेको हो । त्यसैबेलादेखि सरकारले पनि यो नाकाको व्यवसायिक प्रयोगका लागि कूटनीतिक पहल सुरु गरेको देखिन्छ । चीनले पनि तिब्बतको सिगात्सेसम्म आएको रेल्वेलाई केरुङसम्म विस्तार गर्न लागेको र तिब्बतको केरुङ बजार रसुवागढीबाट मात्र २४ किलोमिटर टाढा भएकोले केरुङसम्म आउने रेल्वेलाई नाकाहुँदै काठमाडौँसम्म ल्याउन सकिने सम्भावनाको चर्चा अहिले नेपालमा भइरहेको छ ।

रसुवागढी नाकामा भेटिएका सवारी चालक तथा केही व्यवसायीहरूको अनुसार अहिले चीनबाट यो नाका हुँदै तयारी पोसाक एवं लत्ताकपडा, केही विद्युतीय सामान र मुख्य गरी चिनियाँ स्याउ भित्रिने गरेको बुझियो । दैनिक औसतमा २०/२५ कन्टेनर सामान नेपाल भित्रिने गरेकोमा नेपालबाट रित्ता कन्टेनर सामान लोडगर्न केरुङसम्म जाने बाहेक खासै केही निर्यात नहुने बुझियो । कहिलेकाहीँ सिजनमा केही कन्टेनर मैदा, ध्यू र हस्तकलाका वस्तुहरू निर्यात हुने गरेको बुझियो । केही समयअघिसम्म नेपालबाट हरियो तरकारी चीनमा निर्यात हुने गरेको तर नेपालको तरकारीमा अत्यधिक विषादी प्रयोग भएको भन्दै चीनबाट त्यस्तो तरकारी लैजान प्रतिबन्ध लगाएको सुनियो । यसबाट हामीले आफ्नो व्यवसायमा इमानदारिता प्रदर्शन गर्न नसकेको महसुस भयो । केही मात्रामा निर्यात हुने सामग्रीहरू पनि प्रतिबन्धको मारमा पर्नु साँच्चिकै दुःखद कुरा हो तर यसतर्फ नेपालका कृषक तथा व्यवसायीहरूले चासो राखेको बुझिएन ।

रसुवागढी नाकाको दृश्यले हामी गरिब मुलुकका नागरिक भएकै कारण अर्को छिमेकी मुलुकमा सहजै प्रवेश पाउन नसकेको र हामीले आफ्ना नियमित आवश्यकता पूर्तिकै लागि पनि उनीहरूको भर पर्नुपर्ने परनिर्भरताका कारण उनीहरूले हामीलाई हेर्ने दृष्टिकोणमा अन्तर भएको महसुस भयो । जुन दिन रसुवागढी नाकामा यी दृश्यहरू देखियो, ठीक त्यसैदिन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनकै ग्वाङ्जाओबाट हङकङसम्मको रेलयात्रामा अपमान व्यहोर्नुपरेको अभिव्यक्ति फेसबुक स्टाटसमार्फत दिए । उनले फेसबुकमा पोष्ट गरेका थिए– ‘ग्वाङ्जाओबाट हङकङसम्म रेलमा यात्रा गर्दा महात्मा गान्धीको दक्षिण अफ्रिका यात्राको दुःखद सम्झना भयो । सामान्य यात्रीको रूपमा नेपाली पासपोर्टको विदेशमा कति अपमान हुँदोरहेछ भन्ने प्रत्यक्ष अनुभूति भयो ।’ यदि हामी पनि आर्थिक रूपले सक्षम हुन्थ्यौँ र उताबाट जति सामान भित्रिन्छ, त्यही अनुपातमा यताबाट पनि सामान निर्यात गथ्र्यौं भने हामी सीमामा त्यसरी अपहेलित हुने थिएनौँ ।

हो, केहीबेरको रसुवागढी नाकाको गतिविधि नियाल्ने क्रममा देखिएको दृश्यले मन अमिलो बनाइदियो । किनकि एउटै भूगोल वारि र पारि एउटा खोलाले छुट्याएको सिमाना अनि सिमानामा एउटा मोटरेवल पुल । पुलवारि अस्थायी टहरोमा बसेको नेपाल प्रहरीको चेकपोष्ट अनि पुल पारि विशाल व्यवसायिक कम्प्लेक्सझैँ देखिने भवनमा अत्याधुनिक प्रविधियुक्त सुरक्षा उपकरणजडित इन्ट्री प्वाइन्ट । वारि र पारिको दृश्यमा विशाल भिन्नता थियो । यतिसम्म कि भूकम्पका कारण भोटेकोशी खोलामा रहेको मितेरी पुलको नेपालतर्फका आधा भाग भूकम्पका कारण क्षतिग्रस्त भएर बेलीब्रिज जडान गरिएको तर चीनतर्फको आधा पुलमा भने कुनै क्षति नपुगेको देखियो । यसबाट निम्सरो देशलाई प्रकृतिले पनि पेल्दो रहेछझैँ लाग्यो । अनि हामी नेपालीलाई पारि जान मनाही तर चिनियाँहरू पासपोर्ट देखाएर सहजै नेपाल प्रवेश गर्न सक्ने अवस्था त्यहीँ देखियो । रसुवावासीहरूलाई भने एक दिनका लागि केरुङसम्म जान स्थानीय प्रशासनले प्रवेश पास बनाइदिने रहेछ तर अन्य नेपालीहरूका लागि भने चीनतिर सहज प्रवेशको कुनै गुञ्जायस थिएन । हामीले चीनतिर जानको लागि प्रशासनसँग कुनै प्रकारको अनुमति पनि नलिएको हुँदा हामी मितेरी पुलमै केहीबेर सुस्ताएर फर्कियौँ । रसुवागढी सीमाको अवलोकनबाट फर्किंदै गर्दा छिमेकमा अग्लाअग्ला पर्खाल लगाएर घर छेक्ने धनाड्य छिमेकीले छेवैको झुपडपट्टीमा बस्ने गरिब छिमेकीलाई गर्ने व्यवहारको झल्को दियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप