मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

उपेक्षित षडानन्द गुठी संरक्षण गरियोस !

शनिबार, ०४ मङ्सिर २०७३, १२ : ०१
शनिबार, ०४ मङ्सिर २०७३

 १८२ वर्षअघि भोजपुरको दिङ्लामा जन्मेका आवाल ब्रह्मचारी षडानन्द अधिकारी संसारभर शिक्षाका ज्योतिका रुपले परिचित छन् । षडानन्द अधिकारीले पूर्वी पहाडी जिल्ला भोजपुरको उत्तरी दिङ्लामा जनताका छोराछोरीले पढ्ने पहिलो विद्यालय १९३२ सालमा खोले । तत्कालीन राणाहरुको कठोर शासनका बीच पनि उनले सङ्घर्ष गरेर स्थापना गरेको संस्कृत पाठशालामा विभिन्न देशहरुबाट पढ्न विद्यार्थीहरु आउने गर्थे । उनले तत्कालीन राणाहरुको अत्याचारका बीच पनि निरन्तर पाठशाला सञ्चालन गरे पनि १९३५ सालमा बमविक्रम शाहको पालामा सुरेन्द्र वीरविक्रम शाहले गुरुकुल विद्यालय सञ्चालन गर्नका लागि तोक आदेशसहितको पत्र बालागुरु षडानन्दलाई पठाएका थिए ।

यसरी स्थापना भएको पाठशाला र यसको सम्पत्ति बाघको छालामा स्यालको रजाइँ जस्तै भएको छ । संस्कृत भाषाको पठनपाठन गरेकै कारण षडानन्द संस्कृत पाठशाला तत्कालीन माओवादी द्वन्द्वका बेला चपेटामा पर्यो । आफ्नो जीवनको बाल्यकालमा दमिनीको दूध खाएर त्यसको भारा तिर्न गुरुकुल स्थापना गरी सञ्चालनका लागि सहयोग पुगोस् भन्दै षडानन्दले आफ्ना धान फल्ने खेतसहितका सबै सम्पत्ति पाठशालाका नाममा दिएका थिए ।

दिङ्ला (हाल षडानन्द नगरपालिका)का तोया गौतमले तत्कालीन माओवादी र राज्यपक्षबीचको द्वन्द्वसँगै पाठशालाको अस्तित्व समाप्त पार्नका लागि ठुलै प्रयास भएको दाबी गरे । उनले भने षडानन्द सीताराम गुठीका नाममा रहेका सम्पत्ति पनि व्यापक रुपमा दुरुपयोग गर्नेकाम भइरहेको छ । गौतमले थपे “गुरु षडानन्द त्यतिखेरको माओवादी कमान्डरको नेता कि गुरु षडानन्दले खोलेको विद्यालयमा बम हानेर ध्वस्त बनाउने माओवादी कमान्डर नेता ?” राणाहरुका छोराछोरीसरह सर्वसाधारण नागरिकका छोराछोरीले पनि पढ्न पाउनुपर्छ भनेर नेपालमै पहिलो विद्यालय खोलेर अध्ययन अध्यापन गराउने पहिलो व्यक्ति गुरु षडानन्द अनि उनले खोलेको विद्यालयमा बम हान्ने चैँ माओवादी । माओवादी समाजवादको सिद्धान्त बोकेर हिँडेको कि गुरु षडानन्द ध्वस्त पार्न हिँडेको भन्दै उनले दुखेसो पोखे ।

बालागुरु षडानन्दले आफूले गुठी स्थापना गर्दा कसैले पनि गुठीको संरचनाभित्र ठूला, पक्की र गारोलगाएका घरहरु बनाउन नदिने गरी नीति बनाएका थिए । तर दिङ्लामा पछिल्लो समय विभिन्न राजनीतिक दलको आडमा रहेर गुठीको जग्गामा आरसीसी ढलान गरेका घरहरु बन्नेक्रम चलेको छ । जनताको विरोध रहँदा रहँदै पनि राजनीतिको आडमा रहेर घर बन्ने गरेको स्थानीय सुमन राईले बताए । उनले गुठी संरक्षण र समग्र मन्दिरको विकास र विस्तार गर्नेभए सबै गुठीको सम्पत्ति राष्ट्रियकरण गरी गुठीको जग्गा मिचेर बनाएको घरहरु सरकारले भत्काउनुपर्ने धारणा राखे । यसरी सबैले घर बनाउने हो भने गुरु महाराजको सबै संरचना समाप्त भएर जाने छ, उनले भने गुठी भन्ने कहाँ जग्गा, कहाँ मन्दिर, रुद्रक्षकहाँ हाम्रा ऐतिहासिक धरोहर मेटिएर जानेछन् । यसैगरी स्थानीय राजनीतिक नेताहरुको चाल चलन जारी रहने हो भने दिङ्लाको इतिहास खोज्नेलाई देखाउन टुक्रोसम्म रहने छैन, राईले थपे ।

करोडौँ सम्पत्ति छ तर चन्दा मागेर गुरुकुल सञ्चालन

बाला गुरु षडानन्दको नाममा १८ सय रोपनी जग्गा रहेको छ । वार्षिक लाखौँ रुपियाँ मात्रै रुद्रक्षबाट आमदानी हुन्छ । तर द्वन्द्वकालीन समय पश्चाल गुठीको सम्पत्तिमा राजनीति घुसेपछि गुठीको आम्दानी शून्य भएको दिङ्लाबासी बताउँछन् । माओवादीको जसको जोत उसकोपोत नीति भन्दै षडानन्द सीताराम गुठीको सम्पत्ति कमाउनेहरु लागेपछि गुठीको आम्दानी विगत १० वर्षदेखि शून्य भएको छ । माओवादी द्वन्द्व र रकम अभावकै कारण गुरुकुल शिक्षाको पढाइ बन्द भएपछि पुनः गुरुकुल सञ्चालनमा ल्याउन चन्दा माग्नुपरेको गुरुकुल संरक्षक समेत रहेका तोया गौतम बताउँछन् ।

मन्दिर प्राङ्गणमा लगाएको विराट महायज्ञबाट बचेको एक लाख ५० हजार रुपियाँ र एमाले सभासद कृपाशुर शेर्पाले उपलब्ध गराएको दुई लाख सहयोग गरी तीन लाख ५० हजार जम्मा गरी गत श्रावण १४ गते गुरु पूर्णिमाका दिनबाट पुनः गुरुकुल शिक्षा सुरु भएको छ । हाल १४ जना विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेका छन् भने बाँकी ५ जना भर्ना भएका छैनन् । दलित विद्यार्थीले समेत अध्ययन गरिरहेका छन् ।

गुरु षडानन्दमाथि राजनीति हाबी

षडानन्द सीताराम गुठी राजनीतिक भागबन्डामा चल्नु राम्रो हैन । राजनीतिकै कारण वर्षौंदेखि हुँदै आएको दैनिक पूजाआजासमेत बन्द छ । गुरु षडानन्दले अथाहा सम्पत्ति जनतालाई छाडेर जानुभयो तर आज गुरुको मूर्तिमा एकसरो लुगासम्म लगाउन नसक्नु दुखद् भएको विश्वनाथ अधिकारी बताउँछन् । गुरु षडानन्दका नाममा रहेका मन्दिर तथा धार्मिक क्षेत्र सङ्कटमा पर्दैगएको छ । यसको संरक्षण गर्नका लागि कसैको ध्यान पुगेको देखिँदैन अधिकारीले भने । उनले भने “यसको संरक्षणमा न त गुठीले नै ध्यान दिन सकेको छ न त राज्यले नै यसका बारेमा चासो दिएको छ ।”

संरक्षणका लागि सीडीओको नेतृत्व

दिङ्लाबासीहरुले शून्यमा पुगेको गुठी र यसभित्र रहेका एतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षणका लागि अब सीडीओे नेतृत्व आवश्यक रहेको औँल्याएका छन् । जिल्लाका स्थानीयदेखि केन्द्रसम्मका नेताहरुबाट आजित बनेका जनताहरुले राष्ट्रकै गौरवका रुपमा षडानन्द रहेको भन्दै धार्मिक तथा ऐतिहासिक क्षेत्र जोगाउन सीडीओे अध्यक्ष हुन आवश्यक रहेको बताए ।

गौतमले भने– “२०५१ सालसम्म गुठीको पदेन अध्यक्ष सीडीओे हुने व्यवस्था थियो । तत्कालीन एमाले नेता तथा सभासद नरेन्द्र बस्नेतको हस्तक्षेपका कारण षडानन्द सीताराम गुठीमा राजनीति प्रवेश भयो । बस्नेतले जनताको छोराले गुठी सम्हाल्नुपर्छ भन्ने फोस्रो भाषण जनतामा दिए । सोही अनुसार अधिग्रहण गरेर सीडीओेले पाइरहेको अधिकार खोसियो । त्यस यता गुठीको संरचना सबै बेवारिसे भएका छन् भने उपयोगमा आएका पनि राजनीतिक नेतृत्वको अधीनभित्र रहेको छ ।” सीडीओेबाट अधिकार खोसे यता एमाले काङ्ग्रेस र माओवादीका स्थानीय नेताहरुले मात्रै अध्यक्ष उपाध्यक्ष र कोषाध्यक्ष बनेर गुठी चलाउने गरेका छन् ।

गुठीको जग्गा एक पाइला मिच्ने त के अस्थायी टहरो हाल्नसम्म सकैले पाउँदैन थिए । गौतमले भने माओवादी नेता दिलकुमार राई अध्यक्ष हुदाखेरी गुठीका जग्गामा घर बनाउन रोक लगाएका थिए । हाल एमालेका स्थानीय नेता किशोर राई अध्यक्षमा आएसँगै उनले रसिद काटेरै गुठीको जग्गाभित्र घर बनाउने अधिकार दिएको आम नागरिकले सार्वजनिक सभामा आरोप लगाए । गुठीको रसिद दिनु भनेको जग्गाको धनीपुर्जा दिए बराबर मान्ने गरेको छ । तत्कालीन समयमा दिलकुमार राई समक्ष स्थानीय सुवास बस्नेत, उद्धव भित्रिकोटीलगायत केही व्यक्तिले घर बनाउन आग्रह गर्दा रोकिएको थियो । अहिले नागरिकले विरोध गर्दागर्दै अध्यक्ष र सचिवले घर बनाउन आफू अनुकुलका व्यक्तिलाई स्वीकृत दिनु आर्थिक मिलेमतो भएको तोया गौतमले बताए । नागरिकहरुले ऐतिहासिक क्षेत्र मसानघाटमा परिणत बन्न लागेको भन्दै रक्षाका लागि सरकारलाई गुहार मागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप