मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्लेन चढ्दा यी सामान नबोक्नुहोस्, समस्यामा पर्नुहोला

सोमबार, ०६ मङ्सिर २०७३, १५ : ०२
सोमबार, ०६ मङ्सिर २०७३

हरेक स्थानका आफ्नै नियम हुन्छन् । घर होस् वा कार्यालय, विद्यालय होस् वा खेल मैदान तपाईले त्यहाँका निश्चित नियम पालन गर्नैपर्ने हुन्छ । कतिपय नियमहरु दैनिक कार्यलाई सहज बनाउन बनाइएका हुन्छन् भने कतिपय सुरक्षाका लागि अपनाइएका हुन्छन् । तपाई–हामीले गन्तव्यमा पुग्न प्रयोग गर्ने हरेक यातायात मध्यमका पनि छुट्टा–छुट्टै नियम हुन्छन् । आफ्नो गन्तव्यमा पुग्न चाहे तपाई सडक मार्गबाट जानुहोस् वा हवाई मार्गबाट निश्चित नियम त पालना गर्नैपर्छ ।

यातायातका लागि प्रयोग हुने सडक र हवाई सवारी कम्पनीले मात्र हैन, तिनलाई नियमन गर्ने निकायले समेत सुरक्षाका निम्ति निश्चित नियम बनाएका हुन्छन् । तिनलाई यातायात कम्पनीले समेत कडाईका साथ पालन गर्छन् । हवाई यात्रा यसैपनि चुनौतिपूर्ण हुन्छ, यसका लागि त सुरक्षामा सम्झौता गर्ने कुरै भएन । त्यसैले त नेपालमा पनि हवाई क्षेत्रको नियामक नेपाल नागरिक उड्यान प्रधिकरणले निश्चित मापदण्डहरु तोकेको छ । अनि ती मापदण्ड र नियमलाई हरेक हवाई कम्पनीले पनि पूर्णरुपमा पालन गर्दै आएका छन् ।

तपाई हवाई यात्रामा निस्कदै हुनुहुन्छ भने तपाईले टिकट वा उडान समयको मात्र ख्याल गरेर हुदैन । यात्राका क्रममा जहाजबाट के–के लान पाइन्छ ? के–के लान पाइदैन ? भन्ने समेत हेक्का राख्नु पर्छ । जहाजबाट लान नपाइने सामान लिएर जानुभयो भने तपाईले एयरपोर्टबाट सामान फर्काउनु पर्ने हुनसक्छ । कतिपय अवस्थामा जरिवाना समेत तिर्नुपर्ने हुन्छ । नेपालमा हालसम्म जरिवान नै तिर्नुपरेका घटना सुनिएको छैन । तर, अन्तर्राष्ट्रिय उडानमा भने प्रतिबन्धित सामान बोकेको भेटिए सजिलै एयरपोर्टको डस्टबिनमा मिल्काएर जान पाइदैन, त्यो सामान नष्ट गर्न लाग्ने खर्च बराबरको जरिवाना समेत तिर्नुपर्ने हुन्छ ।

नेपाली विमान कम्पनीहरुले पनि सरकारी नियमलाई पछ्याउदै यात्रुहरुले लान पाउने र नपाउने सामानको बारेमा जानकारी दिने गरेका छन् । तपाई चनाखो हुनुभयो भने कतिपय विमान कम्पनीले टिकटमै पनि यसको उल्लेख गरिदिने गर्छन् । उच्च सरकारी अधिकारीको भ्रमण र विशेष परिस्थितीमा विमान कम्पनीको पूर्व स्वीकृतीमा कहिलेकाँही लान नपाइने भनिएका सामान पनि लान दिइन्छ । तर, सामान्यतया यस्ता वस्तु यात्रुले नबोक्नु नै सबैभन्दा बेस हो । यात्रा पूर्व ध्यान दिनुपर्ने अर्को मुख्य कुरा भनेको हाते झोला (ह्यान्ड क्यारी)मा लान नपाइने भनेका कतिपय सामान तपाईले ‘ब्यागेज’मा भने लान पनि सक्नुहुन्छ ।

उसो भए जहाजमा के–के लान पाइन्छ र के–के पाइदैन त ? केही सामानका हकमा विमान कम्पनी अनुसार फरक नियम हुनसक्छ तर अधिकांश विमानमा प्रतिबन्धित सामानको सूची भने एकै खालको हुने गर्छ । नेपाल सरकारको नियम र विमानको सुरक्षाका दृष्टिकोणले यी सामानको सूची बनाइएको बताउछन् बुद्ध एयरका ग्राउण्ड अपरेशनका सिनियर म्यानेज रत्न राई । ‘उडान र यात्रु स्वयंको सुरक्षाका लागि नागरिक उड्यान प्राधिकणको निर्देशनमा हामीले निश्चित वस्तुहरु यात्रुले लान नपाउने भनेर वर्गीकरण गरेका हुन्छौ,’ उनले भने, ‘हामीले पनि केही वस्तुहरु लान नमिल्ने भनेर वर्गीकरण गरेका छौ ।’

बिषालु पदार्थ

विषालु वस्तुहरु तपाईले आफ्नो साथमा लिएर जानु भयो भने हवाई यात्रा गर्न पाउनु हुनेछैन । विमान कम्पनीहरुले यस्ता वस्तु ओसार पसार गर्न पाउदैनन् । कतिपय जडिबुटी समेत बिषालु हुन्छन् तिनलाई लान पाइदैन । किटनाशक औषधी पनि आफ्नो ह्यान्डक्यारीमा राख्न पाइदैन ।

एसिडयुक्त वस्तुहरु

हामीले दैनिक जीवनमा प्रयोग गर्ने कतिपय वस्तुमा एसिड प्रयोग गरिएको हुन्छ । यस्ता वस्तु पनि जहाजमा लान पाइदैन । धेरैले पुरानो सुनलाई उजिल्याउन र पहेलो पार्न तेजाबको प्रयोग गर्छन् । तर तपाई विमानबाट यात्रा गर्दै हुनुहुन्छ भने तेजाब लान सक्नुहुन्न । जस्तो रिमोट कन्ट्रोलदेखि टर्च लाइटसम्ममा विभिन्न खाले ब्याट्री प्रयोग हुन्छन् । ब्याट्रीमा पनि एसिड हुन्छ । त्यसैले ब्याट्री विमानमा यात्रा गर्दा लान सकिदैन । त्यसो भन्दैमा तपाईको मोबाइल, ल्यापटपलगायतमा प्रयोग भएका ब्याट्री लान नपाइने भन्ने चाही हैन ।

हातहतियार र युद्ध सामग्री

विमानमा यात्रा गर्दा यात्रुले कुनैपनि प्रकारका हात हतियार लान पाउदैनन् । तपाईले आफ्नो साथमा सामान्य चक्कु समेत लान पाउनु हुन्न । बन्दुक, गोली, बमलगायतका सामान लान पाउने कुरै भएन । यसैगरी युद्धका बेलामा प्रयोग हुने बारुद तथा विष्फोटक पदार्थ पनि लान पाइदैन ।

पटाका र आतीसवाजी

तपाई कुनै चार्डपर्वको बेला हवाई यात्रा गर्दै हुनुहुन्छ भने पटाका वा आतसवाजी लिएर जाने मन होला । तर, तपाईले यस्ता सामान लिएर जानु भयो भने विमानस्थलमा सुरक्षाकर्मीले तपाईलाई लिएर जान दिने छैनन् । पटाका विभिन्न रुप जस्तै झिरझिरे समेत तपाई लिएर जान पाउनु हुन्न ।

बल्ने र बाल्ने पदार्थहरु

हवाई यात्राका क्रममा तपाई अति प्रज्वलनशील सामान लिएर जान पाउनु हुन्न । जस्तो पेट्रोल, डिजेल, टर्पेन्टाइनलगायतका तेलहरु लान पाइदैन । कतिपयले औषधीका लागि भन्दै टर्पेन्टाइन बोकेर हिड्ने गर्छन् । तर, हवाई यात्रामा यो लिएर जान सम्भव छैन । त्यस्तै बल्ने एरोसोल्स वा तताउन प्रयोग हुने अरु इन्धन पनि लान पाइदैन । सलाई वा लाइटर लिएर जानु भयो भने पनि तपाई विमानस्थलमा पक्राउ पर्नुहुनेछ । तपाईले आफ्नो ह्यान्डक्यारीमा बडी स्प्रे वा पफ्र्युम पनि लान पाउनु हुन्न । यस्ता सामानलाई राम्ररी प्याक गरेर कार्गो ब्यागमा भने राख्न पाइन्छ ।

सेम्पु, मञ्जन तथा श्रृङ्गारका सामान तरल सेम्पु, मञ्जन, साबुनलगायतका सामान पनि ह्यान्ड क्यारीमा तपाइले बोक्न पाउनु हुन्न । यस्ता सामान जहिले पनि कार्गो ब्यागमा राख्नु सबैभन्दा राम्रो हुन्छ । त्यस्तै दुर्गन्धित तथा उत्तेजक पदार्थ समेत जहाजमा लिएर जान पाइदैन । धेरै पटक गुन्द्रुक बोकेर जाँदा यात्रुहरु शंकाको घेरामा पर्छन, कारण चर्को गन्ध । गुन्द्रुकलगायतका खानेकुरा लिएर जादा राम्ररी प्याक गरि ब्यागेजमा राख्नु पर्छ । ह्यान्डक्यारीमा यस्ता सामान लिएर जादा तपाईलाई समस्या पर्न सक्छ ।

चुम्बकीय उपकरण हवाई यात्राका क्रममा यात्रुले विभिन्न खाले प्रसारण उपकरण जस्तै रिसिभर, रेडियो डिटेक्टिभ, चुम्बकलगायतका सामान पनि लान पाउदैनन् । यस्ता उपकरणले विमान र विमानस्थलको सम्पर्कलाई समस्या पार्न सक्ने भएकाले निषेध गरिएको हुन्छ । मोबाइल फोन समेत जहाज उडिरहेका बेला चलाउन निषेध गरिएको हुन्छ ।

ग्याँस र मोटोरेबल सामान तपाई हवाई यात्रा गर्दै हुनुहुन्छ भने भरिएको ग्याँस र मोटोरेबल वसामान पनि लान पाउनु हुन्न । तपाईले आगलागी नियन्त्रण गर्ने फायर इस्टिङगुसर लिएर जाने सोच्नु भयो भने विमानस्थलमा सुरक्षाकर्मीले रोक्नेछन् । तर, बिरामीको प्रयोजनका लागि निश्चित मात्रामा अक्सिजन सिलिण्डर भने लिएर जान पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप