मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कञ्चनजंघा हिरक महोत्सवको तयारी पूरा

सोमबार, ०६ मङ्सिर २०७३, ०८ : २४
सोमबार, ०६ मङ्सिर २०७३

ताप्लेजुङ – ताप्लेजुङको सुकेटारमा मंगलबारदेखि आयोजना हुने कञ्चनजंघा हिरक महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । ताप्लेजुङबासीहरू यतिखेर अतिथिको सत्कार गर्न पूर्ण तम्तयार भएर बसेका छन् । महोत्सव सफल पार्न ठाउँठाउँमा स्वागतद्वारहरू निर्माण गरिएका छन् ।

विश्वकै तेस्रो अग्लो चुचुरो मानिने ८ हजार ५ सय ८६ मिटर उचाइ भएको कञ्चनजंघामा मानव पाइला टेकेको ६० वर्ष पुरा भएको अवसरमा मंसिर ७, ८ र ९ गते तीन दिनसम्म जिल्लाको सुकेटारमा हिरक महोत्सव मनाउने लागिएको हो । महोत्सवलाई ५० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ ।

सर चाल्र्स इन्भान्सको नेतृत्वमा सन् १९५५ मे २५ का दिन जो ब्राउन र जर्ज क्रिस्टोफरको नेतृत्वको टोलीले कञ्चनजंघाको सफल आरोहरण गरेको स्मरणमा यो महोत्सव आयोजना हुन लागेको हो । महोत्सवका तयारीका लागि ताप्लेजुङ सदरमुकाम यतिखेर बेहुलीझैं सिगारिएको छ । यसैबीच, कञ्चनजंघा हिरक महोत्सवमा सहभागी हुन आउने अतिथिहरूको सत्कारमा कुनै कमी नहोस् भनेर हालै आयोजक समितिका तर्फबाट ताप्लेजुङका सबै होटल, रेष्टुरेन्ट, लज तथा रिसोर्ट व्यवसायीहरूका लागि आतिथ्य सत्कारसम्बन्धी विशेष तालिमको आयोजना गरियो ।

काठमाडौंको गेट कलेजको संयोजनमा भएको उक्त दुई दिने तालिममा स्थानीय परिकारहरूको विशेष प्रबद्र्धन, खाना तयारी र प्रस्तुतिकला, होटल तथा रेष्टुँरा व्यवस्थापनसहित आतिथ्य सत्कारका विभिन्न आयामबारे प्रशिक्षण दिइएको थियो । नेपालकै ख्यातिप्राप्त सेफ महेश ढकाल, सेफ कुमार चालिसे, आथित्य सत्कार अध्यापक विज्ञान चापागाईं र टानका सदस्य पेमा शेर्पाले आतिथ्य सत्कारका विभिन्न आयामबारे प्रशिक्षण दिएका थिए ।

तालिममा ताप्लेजुङका होटल, रेष्टुरेन्ट, रिसोर्ट र होमस्टे सञ्चालकहरू गरी १२० जनाको सहभागिता रहेको थियो ।

महोत्सवमा स्थानीय उत्पादन, विभिन्न जडीबुटी, हिमाल चढ्दा आवश्यक सामग्री, खानाका परिकार र कृषि सामग्री प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ भने महोत्सवमा स्थानीय विभिन्न संस्कृति झल्किने झाँकीहरु प्रदर्शन हुनेछन् । वृत्तचित्र प्रदर्शनी, अलैँची महोत्सव, औद्योगिक र कृषि मेला प्रदर्शनी जस्ता कार्यक्रम समेत महोत्सवमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप