मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मानेरिम्दु पर्व हेर्ने विदेशी बढ्दै

बिहीबार, ०९ मङ्सिर २०७३, १२ : ३९
बिहीबार, ०९ मङ्सिर २०७३

सोलुखुम्बु - हिमाली भेगका शेर्पा जातिले मनाउँदै आएको धार्मिक तथा सांस्कृतिक पर्व मानेरिम्दु हेर्न विभिन्न देशबाट विदेशी पर्यटक नेपाल आउनेक्रम बढ्दै गएको पाइएको छ ।

कार्तिक शुक्ल पूर्णिमामा मनाइने मानेरिम्दु पर्वमा गरिने पूजापाठ, अवतारी लामाद्वारा प्रदान गरिने वोङ अभिषेक, राक्षसी शैलीका नृत्यबाट बुद्ध शिक्षा सिकाइने भएकाले अध्ययन, अवलोकनका लागि उनीहरु नेपाल आउने गरेको बताइन्छ । सदरमुकामस्थित दूधकुण्ड नगरपालिकामा रहेको चियोङ छ्याङछ्युप छ्योलिङ गोन्पामा मानेरिम्दु हेर्न आउने पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा ३५ प्रतिशतले वृद्धि भएको सो गोन्पाका अध्यक्ष आङ दोर्जी शेर्पाले बताए ।

मानेरिम्दु हेर्न विशेषगरी अमेरिका, फ्रान्स, बेल्जियम, जर्मनी, इटाली लगायतका देशबाट पर्यटक आउने गरेका छन् । कतिपय विदेशी पर्यटक दोस्रो–तेस्रो पटकसम्म लगातार मानेरिम्दु हेर्न आउने गरेका छन् । बुद्ध शिक्षालाई नजिकबाट अध्ययन गर्न यसरी पटकपटक दोह¥याएर आउने गरेको आठ सदस्यीय फ्रान्सेली टोलीका नेतृत्वकर्ता पासाङ शेर्पा बताए ।

सगरमाथा क्षेत्रका त्याङबोचे, थामुत्याङ, थुप्तेन छोलिङ, चियोङ लगायतका गोन्पामा मानेरिम्दु आयोजना हुन्छ । अन्य पूजापाठभन्दा बेग्लै र विशेष महत्वका हुने भएकाले पनि पर्यटकले निकै रुचिका साथ मानेरिम्दु पर्वलाई लिने गरेको आयोजकहरु बताउँछन् ।

पर्यटकको मनै लोभ्याउने यस्ता पर्वको संरक्षणका लागि सरकारीस्तरबाट कुनै सहयोेग प्राप्त नभएको भन्दै गुम्बाका अध्यक्ष शेर्पा भन्छन्, “यस्ता पर्वमा सरकारको पनि केही सहयोग पाएमा धार्मिक पर्यटकको सङ्ख्या बढाउन सकिने थियो ।”

ब्रजगुरु मन्त्रजप, मानेरिम्दुजस्ता धार्मिक एवम् सांस्कृतिक पर्वको जगेर्ना गर्न सकेमा पर्यटन प्रवद्र्धन र विकासमा ठूलो टेवा पुग्ने बुद्ध धर्मावलम्बी एवम् पर्यटन व्यवसायी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप