मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नेपालको स्वीट्जरल्यान्डमा लाटोकोसेरो उत्सव

बिहीबार, १८ माघ २०७४, ११ : ४०
बिहीबार, १८ माघ २०७४

दीपेन्द्र राई
काठमाडौं । किसानका साथी भनेर चिनिने लाटोकोसेरो संरक्षणका लागि दोलखाको जिरी नगरपालिकामा ‘नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव २०७४’ गरिने भएको छ । 
युवा सञ्जाल जिरी तथा प्रकृतिका साथीहरू नामक गैरसरकारी संस्थाको आयोजना र जिरी नगरपालिका, जिरी प्राविधिक शिक्षालय, गौरीशंकर संरक्षण क्षेत्र परियोजनाको सहआयोजनामा उत्सव मनाउन लागिएको हो । 
नेपालमा सात वर्षदेखि मनाउन थालिएको लाटोकोसेरो तथा हुचिल उत्सव माघ १९ र २० गते जिरीमा गरिँदै छ । उत्सवको पहिलो दिन चरा अवलोकन, प्रकृतिको फोटो खिच्ने, लाटोकोसेरासम्बन्धी अस्थायी लघुसंग्रहालय र टुटुलगायतका स्थानीय लोपोन्मुख खेल प्रदर्शनी गरिनेछ । लाटोकोसेरोकोे महत्व दर्शाउने ‘स्लाइड’ तथा भिडियो प्रदर्शनीसमेत गरिनेछ । माघ २० गते संरक्षण, संस्कृति तथा लाटाकोसेरोसम्बन्धी अन्य सामग्री प्रदर्शन गरिनेछ । 
नेपालबाहेक अमेरिका र इटालीमा समेत लाटोकोसेरो तथा हुचिल उत्सव गरिन्छ । उत्सव जीवन्त बनाउन स्थानीय शेर्पा, जिरेल, नेवार नाच प्रदर्शनी गरिनेछन् । उत्सवमा स्थानीय विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला, कविता, निबन्ध प्रतियोगिता तथा प्रदर्शनी गरिनेछ । प्रदर्शनीमा लाटोकोसेरोबारे जानकारी भएको सूचनापाटी, चित्र, ढुंगामा बनाइएको लाटोकोसेरो तथा फोटोको प्रदर्शनी गरिने तयारी पूरा भएको लाटोकासेरो तथा हुचिल उत्सव आयोजक समिति संयोजक केन्द्रज्योति खड्काले बताए । 
यसैगरी, गहँुको छ्वाली तथा चुराबाट बनाइएका लाटोकासेरोका तस्बिरसमेत प्रदर्शनीमा राखिनेछन् । ‘आठ लाटोकोसेरोको आवाज सुन्न मिल्ने व्यवस्था मिलाइएको छ,’ प्रकृतिका साथीहरूको निर्देशक राजु आचार्यले जानकारी गराए, ‘अन्य आठवटालाई टीभीमा हेर्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागीका अनुहार तथा नङमा लाटोकोसेरो तथा हुचिलको चित्रसमेत बनाइने व्यवस्था छ ।’ सोही अवसरमा संरक्षणसम्बन्धी प्रवचन, नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोट र एक फिट अग्लो लाटोकोसेरोको रोबोट प्रदर्शनी गरिनेछ । एक साताअघि देखि स्थानीय विद्यालयमा लाटोकोसेरो संरक्षणसम्बन्धी चेतना शिविर सञ्चालनमा छन् । 
उत्सवको अन्तिम दिन वेदबहादुर खड्का (सहायक संरक्षण अधिकृत, चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग), कृष्णप्रसाद भुसाल (गिद्व संरक्षण कार्यक्रम अधिकृत, नेपाल पक्षी संरक्षण संघ, काठमाडौं) र शोभा मानन्धर (पत्रकार, नेपाल वातावरण पत्रकार समूह) लाई जनही २५ हजारसहित सम्मान गरिनेछ । 
नेपालका वन, वन्यजन्तु तथा प्रकृति संरक्षणमा योगदान पुर्याएका रिसोर्सेस हिमालय काठमाडौं र कावासोती–१५ मा रहेको अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे नवलपरासी, स्थानीय संरक्षणकर्मी र पत्रकारलाई सम्मान गरिनेछ । 
यसकारण लाटोकोसेरो तथा हुचिल उत्सव 
गैँडालगायतका वन्यजन्तुकै हाराहारीमा सिकार तथा अवैध व्यापार हुन थालेपछि लाटोकोसेरो तथा हुचिल संरक्षणमा चासो बढ्दै गएको छ । औषधि, झारफुक तथा घरमा पाल्न भारत, चीनलगायत विभिन्न खाडी मुलुकमा अवैध कारोबार गरिन्छ । प्रकृतिका साथीहरू नामक संस्थाका अनुसार, ३५ जिल्लामा गरेको प्रारम्भिक अध्ययनका आधारमा नेपालबाट सालिन्दा कम्तीमा दुई हजार लाटोकोसेरो तथा हुचिल मारी अवैध रूपमा विभिन्न मुलुकमा पठाइन्छन् । 
कतिपयले गुलेली प्रयोग गरी लाटोकोसेरोलगायत चरा मार्ने गर्छन् । विभिन्न अध्ययनका अनुसार २५ प्रतिशत विद्यार्थीले गुलेली प्रयोग गर्छन् । मानिसले लाटोकोसेरोको बच्चा गुँडबाट निकालेर पाल्ने गरेकोसमेत भेटिएको छ । लाटोकोसेरोको वासस्थान विनाश तीव्र रूपमा भइरहेको छ । 
लाटोकोेसेरो पाल्ने, दुःख दिने वा बेचविखन गरेमा २० देखि ५० हजार जरिवाना, ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजाय हुने कमैलाई थाहा छ । कृषि क्षेत्रमा लाटोकोसेरोको महत्वपूर्ण योगदानबारे किसान अनभिज्ञ छन् । स्थानीय तथा सरोकारवालालाई जानकारी दिई लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पुर्याउन उत्सव गर्न लागिएको हो । 
लाटोकोसेरोको महत्व 
मुसा नियन्त्रण गर्ने भएकाले लाटोकोसेरोलाई किसानको साथी भनिएको हो । यिनको एक परिवार (भाले, पोथी र बच्चा) ले एक सिजनमा तीन हजार मुसा खाने गर्छन् । मुसाबाहेक कीरा, फट्याङग्रा, सर्प र भ्यागुतासमेत नियन्त्रण गर्ने लाटोकोसेरोलाई देवी लक्ष्मीको वाहन मानिन्छ । 
पर्यावरणलाई सन्तुलित राख्ने मुख्य भूमिका रहने लाटोकोसेरोको उपस्थितिले प्रकृति स्वस्थ छ भन्ने संकेत गर्छ । लाटोकोसेरोसहित सम्पूर्ण चरामा आधारित पर्यापर्यटन विकासमार्फत मानवीय जीविकोपार्जनमा सहयोग पुग्छ । लाटोकोसेरोको आवाजले साँझ परेको र बिहान भएको संकेत गर्छ ।
लाटोकोसेरो कस्तो चरा ?
लाटोकोसेरा राति र बिहान सक्रिय भएर सिकार गर्ने चरा हो । उसले दिउँसो पनि आँखा देख्छ । उसकोे देख्ने र सुन्ने दुवै क्षमता हुन्छ । रूखको टोड्को, भुइँ तथा पहरामा फुल पारेर बच्चा कोरल्ने लाटोकोसेरोको तौल ३१ ग्रामदेखि चार किलो ५०० ग्रामसम्मको हुन्छ । लाटोकोसेराको शरीर हलुका र नरम भुवाले ढाकेकाले उड्दा आवाज आउँदैन । उसले टाउको एकापट्टिमात्रै २७० डिग्रीसम्म घुमाउन सक्छ । 
२३ प्रकारका लाटोकोसेरो प्रजातिका अभिलेख गरिए पनि नौ प्रजाति नेपालमा दुर्लभ मानिन्छन् । अन्य तीन प्रजातिबारे जानकारी कम पाइएको छ । दुई प्रजाति नेपालबाट लोप भएको अनुमान गरिए पनि नेपालमा लाटोकोसेरो संख्याबारे अध्ययन भएको छैन । 
विश्वमा करिब २२५ प्रजातिका लाटोकोेसेरो पाइन्छन् ।
लाटोकोसेरो उत्वसवस्थल जिरीबारे जानकारी
समुद्री सतहबाट २००० मिटर उचाइमा रहेको जिरी उपत्यकालाई नेपालको स्वीट्जरल्यान्ड भनिन्छ । चिया बगान, चीज उद्योग, जिरी प्राविधिक शिक्षालय, मन्दिर, गुम्बा, जिरेल, शेर्पा संस्कृति तथा सल्लेरी वनमा रमाउँदा जिरीमा समय बितेको थाहा हुँदैन । 
प्रकृतिप्रेमीलाई भालु, चितुवा, मलसाँप्रो, मुनाल, डाँफेले त्यत्तिकै लोभ्याउँछ । जिरी उपत्यकाको माथिल्लो डाँडाबाट मनोरम हिमशृंखला देखिनुको साथै कस्तूरी, मृग, रेडपान्डा, थार, नाउर, घोरल तथा दुलर्भ पशुपक्षी अवलोकन गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप