डीआईजी ठुले राईको जीवन : अपराधमुक्त मुलुकको परिकल्पना
डीआईजी ठुले राईले अपराधमुक्त मुलुकको सपना देखेका छन् । परिकल्पना गरेका छन् । अपराधमुक्त मुलुक बनाउन आफ्नोतर्फबाट योगदान पुर्याउन सकुँ भन्ने उद्देश्यले डीआईजी राईको रोजाइमा प्रहरी संगठन परेको हो ।
प्रहरी संगठकमात्रै नभएर, उनी गायक पनि हुन् । उनका आवाजमा कर्णप्रिय थुप्रै गीत रेकर्ड भएका छन् । संगीतज्ञ स्व. अम्बर गुरुङले समेत उनलाई पत्याएका थिए । अपराधमुक्त मुलुक निर्माणका लागि राज्य, प्रहरी संगठन र व्यक्तिले अझै योगदान गर्न बाँकी भन्ने डीआईजी ठुले राईसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :
मेरो खाना
विशेषतः नेपाली खाना दाल, भात, तरकारी, अचार असाध्यै मन पर्छ । त्यसो भन्दा अन्य खानेकुरा मन पर्दैन भन्न खोजेको होइन । अगाडि जे आउँछ स्वाद मानीमानी खान्छु । खानकै लागि महिनामा एकपटकजस्तो रेष्टुरेन्ट पुग्छु । रेष्टुरेन्ट पुगिहाल्दा स्न्याक्समध्ये फिङ्गर चिप्स मगाउन छुटाउँदिनँ । आइलाग्यो भने पकाउन पछि पर्दिनँ । विद्यार्थीजीवनमा सिकेको पाककला बिर्सेको छैन ।
मेरो पोसाक
आइरन गर्न नपर्ने भएकाले जिन्स कपडा लगाउन सजिलो लाग्छ । आफन्त, साथीभाइ र शुभचिन्तकले समेत कपडा पठाइदिन्छन् । युवा अवस्थामा जस्तो परिवर्तन गरिरहनु नपर्ने भएकाले कपडामा ठूलो खर्च छैन । नीलो रङको कपडा रोजाइमा पर्छन् । कपडा किनेर सिलाउनुभन्दा ‘रेडिमेड’ बढी हुन्छन् । पाएसम्म ‘ब्रान्ड’ राम्रो, नभए ‘ननब्रान्डेड’ मा चित्त बुझाउँछु ।
मेरो फिटनेस
पहिले–पहिले एक–डेढ घन्टा ब्याडमिन्टन खेल्थें । हिजोआज हल्का ‘जगिङ’ र ‘मर्निङवाक’ गर्छु । बिदाको दिन समय भए साइक्लिङ जान्छु । साइक्लिङमा दुई–तीन घन्टा बिताउँछु । ‘डाइटिङ’ गर्ने बानी छैन । कहिलेकाहीं योगा गर्छु । ट्रेडमिलमा दौडन मन लाग्दैन ।
मेरो अध्ययन
भर्खरै मदनकष्ण श्रेष्ठको ‘महको म’ पढिसकें । केही समयअघि सल्लिपिर, फिरफिरे, सेतोधर्ती ब्लुज, कर्णाली ब्लुज पढें । पछिल्लो सयम बजारमा आएका सबै किताब पढिसकेको छु । समसामयिक, सामाजिक र ऐतिहासिक विषयमा लेखिएका किताब पढ्न जाँगर चल्छ । नयाँ पुस्ताका लेखकको लेखनशैलीले त्यत्तिकै तानेको छ । श्रवण मुकारुङ, राजन मुकारुङ, बुद्धिसागर, नयनराज पाण्डेको लेखनशैली लोभलाग्दो छ । पेसागत विषयबाहेक हिजोआज केही लेखेको छैन ।
मेरो निजी पुस्तकालयमा दुई–चार सय किताब होलान् । बजारमा आउनसाथ नयाँ–नयाँ किताब किन्ने गरेको छु ।
मेरो घुमफिर
घुमफिरमा अभिरुचि छ । कर्णालीका केहीबाहेक नेपालका सबै जिल्ला पुगेको छु । ३० देश घुमेको छु । घुमेकामध्ये जापान असाध्यै मन पर्यो । जीवनमा एकपटक दक्षिणी अमेरिकी मुलुक पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ ।
मेरो फुर्सद
नेपाल प्रहरीको जागिर ‘स्ट्रेसफुल’ हुन्छ । चौबीसै घन्टा तयारी अवस्थामा रहनुपर्छ । फुर्सद सम्बन्धित सुरक्षाकर्मीको ‘पोस्टिङ’ अनुसार हुन्छ । दैनिक जनताको काममा जुट्नुपर्ने ठाउँमा फुर्सद कमै हुन्छ । मेरो जीवनशैली सामान्य भएकाले फुर्सद पाइहालेमा सामाजिक काम, घरपरिवार र आफन्तसँग बिताउँछु । कार्यालयीय समयबाहेक घरपरिवारसँगै हुन्छु ।
मेरो खेलकुद
हेर्नका लागि फुटबल मन पर्छ । आफ्नै शरीरलाई संलग्न गराउने हो भने ब्याडमिन्टन मन पर्छ । हेरे पनि हकीले त्यति तान्न सकेन । ‘स्कुल’ र ‘कलेज लाइफ’ सम्म भलिबल खेलेको थिएँ । मेस्सी खेल्ने बार्सिलोना क्लब मन पर्छ । रियल म्याड्रिड पनि ठिकै लाग्छ । पछिल्लो समय क्रिकेट हेर्न थालेको छु । इन्डियन, अस्ट्रेलियन र न्युजिल्यान्डो खेल र खेलाडी मन पर्छ ।
मेरो मोबाइल
मैले प्रयोग गरेको आइफोन सिक्स एस हो । आइफोन भान्जाले बेलायतबाट ल्याइदिनुभएको थियो । मोबाइल फेरी–फेरी प्रयोग गर्ने बानी छैन । आवश्यकताअनुसार मोबाइलका एप्लिकेसन प्रयोग गर्छु ।
मेरो टेलिभिजन
टीभीमा समाचार, मनोरञ्जनात्मक कार्यक्रम हेर्ने गर्छु । टीभी हेर्ने साइत बेलुका जुर्छ । घरमा भएको सामसुङ टीभी ४२ इन्चको छ ।
मेरो चलचित्र
पछिल्लोपटक चलचित्र ‘मिस्टर झोले’ हलमै पुगेर हेरेको थिएँ । टीभी, भिसिडीमा चलचित्र हेर्न सहज लाग्दैन । हेरेकामध्ये नेपाली चलचित्रमा ‘छक्कापन्जा’, ‘कबड्डी कबड्डी’, ‘कालो सूर्य’ र ‘कबड्डी’ मन पर्यो । पछिल्लो समय नेपाली कलाकार सबैले मिहिनेत गरेका छन् । सबै राम्रा छन् । त्यसमध्ये दयाहाङ राई र सौगात मल्ललगायतका अभिनय अब्बल लाग्छ ।
मेरो रोग
स्वस्थ छु । समय–समयमा ‘होलबडी चेकअप’ गर्दै आएको छु । मसम्बद्ध पेसाले मलाई स्वस्थ राख्न सहयोग गरेको छ ।
मेरो भाषणशैली
प्रहरी संगठनमा रहे पनि कहिलेकाहीं भाषण गर्नुपर्छ । मेरो भाषणशैली सामान्य भए पनि भन्न खोजेको विषयवस्तु श्रोतासमक्ष प्रस्तुत गर्न सक्छु । भाषण गर्दा थेगो प्रयोग गरेको सम्झना छैन । कसैले सिकायत गरेको पनि छैन । पेसागत हिसाबले मैले आक्रामक भाषण गर्न पर्दैन । समारोहविशेष भाषण गर्नुपर्छ । भाषण गरेकै आधारमा विवादमा तानिएको छैन । भाषण गर्नअघि विषयवस्तु बुझ्नुपर्छ । भाषणमार्फत दिनुपर्ने सन्देशमा प्रस्ट हुनुपर्छ ।
मेरो मापसे
पहिल्यैदेखि मादक पदार्थ खाइनँ ।
मेरो संगीत
फुर्सदको समय गीत–संगीत सुन्छु । यात्रामा निस्कँदा गीत–संगीत सुन्दा बाटो काट्न सजिलो हुन्छ । नारायणगोपाल, बच्चुकैलाश, दीप श्रेष्ठ र प्रेमध्वज प्रधानको गायनशैली मन पर्छ । पछिल्लो समयका गायक–गायिकाको मिहिनेत त्यत्तिकै राम्रो छ । त्यसमध्ये कत्तिको नाम सम्झना छ । कत्तिको छैन । नारायणगोपाल, बच्चुकैलाशको गीत हिजोआज पनि गुनगुनाउँछु ।
मेरो भूल
मानिस भएपछि जान–अन्जानमा गल्ती गर्नु अस्वाभाविक होइन । तर, पश्चाताप लाग्नेगरी गल्ती गरेको छैन । कहिलेकाहीं गल्ती नगरी पनि सजाय पाइन्छन् । प्रहरी संगठनमा जोडिएपछि ‘बेसिक कोर्स’ गर्नुपर्छ । त्यो ‘टिपिकल’ हुन्छ । त्यतिबेला ‘इन्डिभिजुअल’ भन्दा ग्रुप स्पिरिट’ को काम हुन्छ । ‘ग्रुप स्पिरिट’ मा काम गर्दा एकजनाले गल्ती गरे सिंगो समूहले सुधार गर्नुपर्छ । त्यस्तो अवस्थामा सजाय पाइएको थियो ।
मेरो घर
झन्डै १३ वर्षअघि ललितपुरमा घर बनाएको हुँ । तीनपटक युएन सेवामा गएँ । विपत व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय प्रशिक्षक भएकाले पटक–पटक तालिमका लागि स्वदेश तथा विदेश जाँदा प्राप्त पारिश्रमिकले घर बनाएको हुँ । घरको डिजाइन सामान्य छ । घर बनाउँदा वास्तुशास्त्र हेराइएन ।
मेरो राशी
मेरो राशी कन्या हो । ग्रहदशा हेराउने र ग्रहशान्ति गराउने गरेको छैन ।
मेरो सौन्दर्यचेत
कहिलेकाहीं कपालमा तेल लगाउने गर्छु । फेसियल नगरे पनि जाडो मौसममा अनुहारमा सामान्य लोसन लगाउँछु । ‘बडी स्प्रे’ प्रयोग गर्छु । कहिलेकाहीं साउना र स्टिम बस्छु ।
मेरो सपना
अपराधमुक्त मुलुक बनाउन पाए हुन्थ्यो भन्ने सपना देखेको छु । परिकल्पना गरेको छु । त्यस्तो मुलुकमा सबैले उन्मुक्त भएर हिँड्न सक्थे । त्यस्तो समाज र मुलुक बनाउन आफ्नोतर्फबाट योगदान पुर्याउन सकुँ भन्ने उद्देश्यले प्रहरी संगठन रोजाइमा परेको हो । त्यस्तो समाज निर्माणका लागि राज्य, प्रहरी संगठन र व्यक्तिले अझै धेरै योगदान गर्नुपर्छ । आफूलाई समर्पित गरेर प्रहरी संगठनमार्फत सेवामा लाग्नेभन्दा अरू लोभ छैन ।
यो जीवनकथा पनि पढ्नुहोस्
सांसद सुदन किरातीको जीवन : २७ रात कुटाइ खाएपछि आफ्नो मृत्यु आफैंले घोषणा गरें