मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गुरुयोजनाका आधारमा पोखराको विकास गरिनुपर्छ – मन्त्री केसी

बुधबार, १३ पुस २०७३, १६ : २४
बुधबार, १३ पुस २०७३

पोखरा - सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले दीर्घकालीन विकास गुरुयोजना बनाएर त्यसकै आधारमा पर्यटकीय नगरी पोखराको विकास गरिनुपर्ने बताएका छन् ।

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराद्वारा आजदेखि पोखराको लेकसाइडमा सञ्चालित १८ औँ सडक महोत्सवको उद्घाटन गर्दै उनले भने “पोखराको पर्यटकीय सुन्दरतालाई दृष्टिगत गरेर चाँडो दीर्घकालीन गुरुयोजना तयार गरी समग्र विकासका योजना अघि बढाउनुपर्दछ ।”

मन्त्री केसीले राष्ट्रिय एवम् अन्तर्राष्ट्रियरुपमा पोखराको पर्यटकीय महत्व रहेको चर्चा गर्दै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित यो सडक महोत्सवले पर्यटकलाई आकर्षित गर्न महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे ।

लामो समयदेखिको सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संविधान कार्यान्वयन वर्तमानको आवश्यकता भएको बताउँदै उनले यसको कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीचको सहकार्य अहिले पनि उत्तिकै आवश्यक भएको छ भने ।

मन्त्री केसीले आजै पोखराको फेवाताल किनारमा अवस्थित वसुन्धरा पार्कको व्यवस्थापन कार्यको पनि शुभारम्भ गरे।

कार्यक्रममा सांसद यज्ञबहादुर थापाले पोखरा क्षेत्रको समग्र विकासका लागि गुरुयोजना बन्न नसकेको बताउँदै यहाँका ताल तलैया, बसपार्कलगायतको संरक्षण एवम् विकासका लागि वृहत्तर गुरुयोजना तयार गरी त्यसै अनुरुप अघि बढ्नुपर्ने धारणा राखे।

सांसद शारदा पौडेलले पोखरा र यस आसपासका पर्यटकीय सम्पदाले स्वदेशी एवम् विदेशी पर्यटकलाई आकर्षित गरेको बताउँदै आकर्षणलाई कायम गर्न यिनीहरूको संरक्षण एवम् विकासका लागि सरकार एवम् निजी क्षेत्रको सहकार्य आवश्यक हुनेमा जोड दिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले वसुन्धरा पार्कको व्यवस्थापन कार्यको शुभारम्भ हुनु महत्वपूर्ण कार्य भएको बताउँदै पोखराका अन्य धेरै सम्पदाको जगेर्ना गर्नु आवश्यक रहेको छ भने ।

रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित सडक महोत्सवले स्वदेशीका साथै विदेशी पर्यटकलाई पोखरामा आकर्षित गर्ने गरेको बताए । महोत्सव संयोजक गोपीबहादुर भट्टराईले सडकमै खाउँ, सडकमै नाचौँं र सडकमै रमाऔंँ भन्ने नाराका साथ सुरु सडक महोत्सव आगामी पुस १७ गतेसम्म हुने जानकारी दिँदै महोत्सव अवधिभर विभिन्न परिकारको स्वादसहित पर्यटकले विभिन्न सांस्कृतिक कार्यक्रमको भरपुर मनोरञ्जन लिन सक्ने बताए ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल लगायतले महोत्सवले पोखराको पर्यटकीय आकर्षणलाई थप मजवुत बनाउने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप