मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भुरुङ तातोपानी कुण्ड सङ्कटमा

मङ्गलबार, २६ पुस २०७३, १० : ५५
मङ्गलबार, २६ पुस २०७३
म्याग्दी - म्याग्दीको भुरुङस्थित प्राकृतिक तातोपानी कुण्ड सङ्कटमा परेको छ । बेनी–जोमसोम सडक विस्तारका क्रममा तातोपानीको मुहान पुरिने अवस्था आएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाले कुण्डको मुहान पुरिने गरी सडक विस्तार गर्ने तयारी गरेपछि स्थानीयले विरोध जनाउँदै विकल्प खोज्न माग गरेका छन् । बेनी–जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदी किनारमा रहेको भुरुङ तातोपानी कुण्ड जिल्लाकै प्रमुख पर्यटकीय स्थल मानिन्छ । सडकदेखि करिब तीन मिटर तल कुण्डको मुहान रहेको छ । कुण्ड संरक्षण समिति र भुरुङ तातोपानीमा क्रियाशील राजनीतिक दलका नेताले कुण्डलाई असर नपर्ने गरी नक्साङ्कन गर्न दबाब दिएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का स्थानीय नेताले आयोजनासँग कुण्ड प्रभावित नहुने गरी नक्साङ्कन गर्न अनुरोध गरेका हुन् । आयोजनासँगै, जिल्लास्थित कार्यालय र राजनीतिक दललाई ध्यानाकर्षण गराइएको नेकपा (माओवादी केन्द्र)का नेता ओमबहादुर फगामीले बताए । नेपाली काँग्रेसका स्थानीय नेता आत्म तुलाचनले पर्यटकीय महत्वको तातोपानी कुण्डको संरक्षणका लागि सडकको ट्र्याक परिवर्तन वा अन्य विकल्प खोज्नुपर्ने बताए । महत्वपूर्ण प्राकृतिकस्थल नै सङ्कटमा पर्ने गरी सडक विस्तार गर्न नहुने बताउँदै एमालेका स्थानीय नेता श्याम रानाले विकल्प खोजे समुदायले सहयोग गर्ने प्रतिबद्धता जनाए । कालीगण्डकी किनारमा निस्कने ५० डिग्री सेल्सियसभन्दा बढी तातो पानी सङ्कलन गरिने तलाउबाट हाल स्थानीय निकायलाई वार्षिक करिब रु ४० लाख आम्दानी हुने गरेको छ । सो कुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको छ । कुण्डको आम्दानीमध्ये आधा पूर्वाधार निर्माण र संरक्षण तथा ५० प्रतिशत सर्वोदय मावि सञ्चालनका लागि खर्च हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप