मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सुन्तलाबारीमा क्यानोनिङको सम्भावना

बुधबार, २७ पुस २०७३, १५ : २३
बुधबार, २७ पुस २०७३

पोखरा-क्यानोनिङ (छाँगावरोहण) को गाउँमा सम्भावना देखिएपछि स्याङजाको इलादीस्थित सुन्तलाबारीका स्थानीयवासीमा उत्साह थपिएको छ । इलादीस्थित सुन्तलाबारीमा नेपाल क्यानोनिङ एसोसिएसनका पदाधिकारी बोलाएर हालै प्रशिक्षण समेत सञ्चालन गरेपछि गाउँमा क्यानोनिङको सम्भावना रहेको कुराले स्थानीयवासीमा खुसीयाली छाएको स्थानीय समाजसेवी मोहन खनाल बताउछन् । क्यानोनिङको साथै यहाँ वरपरका प्राकृतिक दृश्यावलोकन, स्थानीय कला संस्कृतिमार्फत पर्यटकलाई आकर्षित गर्ने अत्यधिक सम्भावना रहेको उनको भनाइ छ । यहाँका सातवटा घरमा दुई वर्षयता होम स्टे सञ्चालन गरिएको र यसको विस्तार गरी १५ वटा घरमा होम स्टे सञ्चालन गर्न लागिएको खनालले बताए । सुन्तलाबारीको खाल्टे झरना करिब ६० मिटर उचाइमा रहेको छ । सो झरनाका साथै यहाँ नजिकै रहेको वसन्ती दह माथिको ३० मिटर उचाइको अर्को झरनामा समेत क्यानोनिङको सम्भावना छ । साहसिक पर्यटनलाई रुचाउने आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँमा आकर्षित गरी आयआर्जनका विभिन्न अवसर सिर्जना गर्न सकिने स्थानीयवासीले विश्वास लिएका छन् । क्यानोनिङ प्रशिक्षक दवीन्द्र तामाङका अनुसार साहासिक पर्यटकीय खेलमा रमाउन चाहने जो कोही पर्यटकले अब सुन्तलाबारीमा पुगी क्यानोनिङको मज्जा लिन सक्नेछन् । वालिङ नगरपालिका–८ त्रियासीदेखि करिब सात किलोमिटरको दुरीमा रहेको सुन्तलाबारीमा एसोसिएसनले हालै स्थानीय आठजना युवालाई क्यानोनिङको तालिम दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप