मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

गणेश हिमालको नाममा खर्चिएको ३ करोड २० लाख बालुवामा पानी

बुधबार, २७ पुस २०७३, १७ : २९
बुधबार, २७ पुस २०७३
काठमाडौं । गणेश हिमाल क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माण गर्ने नाममा टे«किङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले खर्चेको करोडौं रुपैयाँ रकममा व्यापक अनियमितता भएको रहस्य सार्वजनिक भएको छ । टानले डिएफआइडी–सामाथ्र्यसँग सम्झौता गरी अघि बढाएको मनास्लु–गणेश हिमाल भौतिक पूर्वाधार विकास परियोजनामा अनियमितता भएको हो । जम्मा रु. ३ करोड २० लाख लागतको उक्त परियोजना सन् २०१४ मार्चमा सुरु गरेर अगष्ट महिनासम्म सक्ने सम्झौता टानले सामाथ्र्यसँग गरेको थियो । तर आजको मितिसम्म पनि उक्त परियोजनाको काम सकिएको छैन । उल्टै परियोजनाको लागत सम्झौताभन्दा झण्डै रु. २९ लाख रुपैयाँ बढि देखाएर संस्थाको ऋणभार थप्ने काम भएको छ । सम्झौतापछि परियोजनको लागि ३ करोड ८ लाख रुपैयाँ रकम निकाशा भइसकेको छ भने रु. १२ लाख रुपैयाँ निकाशा हुन बाँकी छ । तर परियोजना अघि बढाउने क्रममा विभिन्न बाहाना बनाएर सम्झौताभन्दा रु. २९ लाख बढि अर्थात् रु. ३ करोड ४९ लाख रुपैयाँ खर्च देखाइएको छ । रमेश धमला नेतृत्वको तत्कालिन टान कार्यसमितिले संस्थागत प्रस्ताव गरेपछि सामाथ्र्यमार्फत अन्तर्राष्ट्रिय संस्था डीएफआइडीले लगानी गरेको हो । जुन परियोजनाको प्रमुखको जिम्मेवारी टानका तत्कालिन द्धितीय उपाध्यक्ष कुलबहादुर गुरुङले लिएका थिए भने परियोजना इन्चार्जको जिम्मेवारी टानकै तत्कालिन सिइओ गंगासागर पन्तले लिएका थिए । उनीहरुकै मिलेमतो र अगुवाईमा परियोजनामा आर्थिक अनियमितता भएको विभिन्न तथ्यहरुले पुष्टि गरेको छ । परियोजनामा मनास्लु र गणेश हिमाल क्षेत्रको भौतिक संरचना निर्माणको लागि भनेर स्पष्ट उल्लेख गरिएपनि परियोजना प्रमुख कुलबहादुर गुरुङलगायको राजनीतिक अभिष्ट पूरा गर्न सामाथ्र्यलाई ललाईफकाई गरेर गणेश हिमालमा मात्रै लगिएको छ । छानविन गर्न समितिसमेत गठन गरिएको थियो । उक्त छानविन समितिले काममा ढिलाई भएको तथा आर्थिक पारदर्शीता नदेखिएको निष्कर्ष निकालेको थियो । त्यसोत टानले यसअघि गरेको आन्तरिक लेखापरिक्षणले पनि आर्थिक अनियमितता भएको स्पष्ट देखाएको थियो । त्यत्तिमात्रै होइन टानको वार्षिक साधारण सभामा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदनमासमेत उक्त परियोजनामा आर्थिक अपचलन भएको उल्लेख गरिएको छ । परियोजनासम्बन्धि फिल्ड रिपोर्ट पटक पटक ताकेतापछि बल्ल पठाइएको छ । तर सो रिपोर्ट पनि मनोमानी ढंगको देखिन्छ । रिपोर्टअनुसार यस क्षेत्रमा भ्यूटावर, बाटोघाटो, पुलपुलेसो तथा पोर्टर सेल्टरहरु निर्माण गरिएको छ । तर जानकारहरुकाअनुसार सो त्यत्ति धेरै खर्च गरेर बनाइएको कुनैपनि भौतिक संरचना चित्तबुझ्दो छैन । पोर्टर सेल्टर निर्माण गरिएको भनिएपनि भेडा, च्याङ्ग्रा राख्ने जस्तो छ । जसकारण जुन प्रयोजनका लागि निर्माण गरिएको हो त्यो प्रयोजनमा ल्याउन सकिएको छैन । पर्यटकीय पूर्वाधार निर्माणको नाममा आफ्नो स्वार्थपूर्ति गर्नेगरी बाटो खनेर परियोजनाको रकम दुरुपयोग गरिएको जनगुनासोसमेत आइरहेको छ । त्यस क्षेत्रमा यत्तिका लगानी गरिएपनि पर्यटक जाने वातावरण छैन । यसरी खुलेआम आर्थिक अनियमितता गर्दै वर्षौसम्म काम नसकिएपनि सम्बन्धित निकाय अहिलेसम्म मौन बसेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप