बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

मध्यपहाडी लोकमार्ग निर्माणमा लापर्वाही

आइतबार, ०९ माघ २०७३, १६ : ०१
आइतबार, ०९ माघ २०७३

जाजरकोट - निर्माण सुरु भएको ७ वर्षसम्म पुष्पलाल मध्यपहाडी लोकमार्गको ट्र्याक खोल्ने कार्य पूरा भएको छैन । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो लोकमार्गको सम्बन्धित पक्षको उदासीनताका कारण जाजरकोट खण्डको ट्र्याक खोल्ने काम निर्माण कार्य सुरु भएको लामो समयसम्म पनि नसकी अलपत्र छ ।

एकैसाथ निर्माण कार्य सुरु गरेको लोकमार्गको रुकुम र दैलेखखण्डमा समयमै काम पुरा गरेर दुईवर्ष अघिदेखि यातायात सेवा सञ्चालन भइरहेको छ । लोकमार्गको जाजरकोटखण्ड सडक आयोजना र निर्माण कम्पनीको चरम लापर्वाहीले अलपत्र परेको हो । ठेक्का सम्झौता भएको मितिले दुई वर्षमै पुरा गर्नुपर्नेमा सडकको ट्र्याक खोल्ने कार्यसमेत ७ वर्ष बित्दा पनि अलपत्र छ । लोकमार्गको जाजरकोटखण्डको सडक निर्माणको जिम्मा लिएका आधा दर्जन कम्पनीको चरम लापर्वाहीले लोकमार्गको दर्जनभन्दा बढी ठाउँमा निर्माण कार्य अलपत्र पारिएको छ ।

जाजरकोटको कुदुदेखि दैलेखको सुयाँडासम्मको ८२ किलोमिटरअन्तर्गत जिल्लाको कार्कीगाउँ तथा झाप्राको बीचको मन्ताभिर, कालढुङ्गा थलहबजार, चुवादेउली भिर, फाल्मा, साल्माको भुसखोलालगायतका स्थानमा निर्माण कार्य अलपत्र पारिएको छ । उक्त लोकमार्गअन्तर्गत थलहगाड पुल, भेरी पुल, बङ्ग्रेखोला पुल र झुप्राखोला पुलको निर्माण कार्य पनि अधुरै भएको छ ।

सडक निर्माण रोकिएपछि दुई वर्षभित्रै यातायात सञ्चालन गर्ने सरकारी लक्ष्य अधुरै छ । काम नै सुरु नभएका मन्ताभिर र थलहगाडको पुल निर्माण, ट्र्यक खोल्ने कार्य सम्पन्न भएको प्रतिवेदन दाङस्थित मध्यपहाडी लोकमार्ग पश्चिमखण्ड आयोजना कार्यालयले एक वर्षअघि सडक विभागमा बुझाइसकेको छ ।

एक किलोमिटर दूरीको मन्ताभिर र थलहगाडको पुल निर्माण कार्य अझै पनि सुरु भएको छैन । आयोजनाले जाजरकोटखण्डको निर्माणमा एक अर्ब बढी खर्च गरेको छमन्ताभिर खण्डको निर्माण जिम्मा लिएको दिव्यज्योति निर्माण सेवाले कडा चट्टान भन्दै निर्माण पूरा गर्न सकेको थिएन । विगतमा ढिलासुस्तीका कारण काम सुरु नगरेका निर्माण कम्पनी तथा व्यवसायीलाई काम सुरु गर्न ताकेता गरेको कार्यालयका इन्जिनियर नारायणप्रसाद निउरेले बताए ।

“जसरी भए पनि सम्झौताको काम म्यादभित्र पूरा गराउन कार्यालय लागेको छ, तोकिएको मितिमा काम पूरा नगर्ने व्यवसायीको ठेक्का तोड्ने र उनीहरूको फर्मलाई कालोसूचीमा राख्छौँ” –निउरेले भने। “मन्ताभिरको चट्टान काट्न व्यवसायी तयार भएकाले अब छिट्टै काम सुरु हुन्छ, अबको केही दिनमै मन्ताभिरको चट्टान काट्न मेसिन जाँदै छ”–उनले भने ।

लोकमार्गको समयमा निर्माण कार्य पूरा नहुँदा निर्माण भएको सडक पनि ठाउँठाउँमा जीर्ण हुन थालेको भुरका स्थानीयवासी पूर्णदेव शर्माले बताए । “ग्याभिङ, वाल, नाली, वाइडिङ, पुल निर्माणलगायत कार्य निर्माणमा चरम लापर्वाही छ, फाउन्डेसन बिनाको वाल बनाइएको छ, गरेको काम पनि गुणस्तरहीन छ”–शर्माले भने ।

राष्ट्रिय महत्वको लोकमार्ग निर्माणमा लापर्वाही गर्ने व्यवसायी तथा सम्बन्धित निकायलाई कारर्वाहीको दायरामा ल्याउनुपर्ने शर्माको माग छ । लोकमार्ग निर्माणमा भएको ढिलाइप्रति सरकार पनि उदासीन भएको भेरीमालिका नगरपालिका–११ का इमाश्वर देवकोटाले बताए । “हामीले प्रधानमन्त्रीलाई यसमा भएको अनियमितता ढिलासुस्ती तथा सरकारबाट अनुगनमनका लागि ज्ञापनपत्र बुझाएको थियौँ, कुनै सुनुवाइ भएन”, देवकोटाले भने । पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको जुलाघाट पुग्ने एक हजार ६६५ किलोमिटरको लोकमार्गको जाजरकोटखण्डले सदरमुकामलाई समेत छुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप