बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

मधेशमा विखण्डनको स्वर उठाउनेलाई जनताले नै ठीक पार्नेछन् : प्रधानमन्त्री

आइतबार, ०९ माघ २०७३, १६ : ३५
आइतबार, ०९ माघ २०७३

सिरहा – प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सबै राजनीतिक दलसँग समझदारीको प्रयास भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता विश्वनाथ साहकी आमा सागरदेवी साहको १३ औं पूण्य तिथीको अवसरमा सिराहाको गोलबजारमा आईतबार आयोजित शोकसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनले दलित, मधेशी, थारु, आदिवासी जनजातिसहित मधेश, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने भएपनि शान्ति नचाहनेहरुले संविधान संशोधन प्रक्रियालाई भाँड्न खोजेको आरोप लगाए ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘मधेशमा अहिले देशलाई विखण्डित गर्ने स्वरहरु सुनिन थालेको छ । तर आफ्नो देशविरुद्ध भड्काउनेहरुलाई जनताले नै तह लगाउँछन् ।’ प्रधानमन्त्री प्रचण्डले मधेशलाई बर्बाद गर्न चाहने, विखण्डित गर्न चाहने सबै मधेशका बैरी भएको भन्दै तिनीहरुको प्रतिवाद गर्न मधेशी जनतालाई आग्रह गरे ।

देशलाई एकीकृत पारेर मात्र विकास र पहिचानका मुद्दालाई दरिलो पार्न सकिने भन्दै प्रधानमन्त्रीले मधेशविना पहाडको कल्पना र पहाडविना मधेशको अस्तित्व स्वीकार गर्न नसकिने पनि बताए ।

‘नेपालको सँस्कृति, भुगोल, परम्परा र रहनसहन यसरी एकअर्कासँग गाँजिएको छ कि मधेश, पहाड र हिमाललाई छुट्टयाएर सबैको स्वामित्व स्थापित हुनै सक्दैन ।’ कार्यक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मधेश केन्द्रित दलहरुको मुद्दालाई जतिसक्दो चाँडो सम्बोधन गरी सबैलाई निर्वाचनतर्फ लैजाने प्रयास गर्न सरकारसँग माग गरे ।

यसअघि प्रधानमन्त्री दाहालले कर्जन्हाको वस्तीपुरमा द्वन्द्वकालिन अवस्थामा शहिद तथा बेपत्ता पारिएका माओवादी कार्यकर्ताहरु रामशरण नायक, हजारी यादव, दिलीप यादव तथा रामप्रसाद यादवको शालिक अनावरण गरेका थिए ।

त्यस्तै यसैगरी प्रम दाहालले गोलबजार–३ जम्दहस्थित तेतरियाको पर्यटकीय स्थल कुम्भीखाँडी दह क्षेत्रको मरम्मत तथा संरक्षण कार्यको शिलान्यास पनि गरे ।

उक्त पर्यटकीय स्थलको लागि चालु आर्थिक वर्षमा सरकारले दुई करोड ३५ लाख बजेट विनियोजन गरेको बताइएको छ । श्रद्धाञ्जली समारोहमा कानुनमन्त्री अजयशंकर नायक, पूर्व शिक्षा मन्त्रि गिरिराजमणि पोखरेल लगाएत माओवादी नेताहरुको सहभागीता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप