बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

यसकारण पड्किन्थ्यो नोट सभेन : के छ सामसुङको रिपोर्टमा ?

सोमबार, १० माघ २०७३, १४ : ३६
सोमबार, १० माघ २०७३

सिओल – सामसुङको ग्यालेक्सी नोट सेभेन तातिने र पड्किने समस्याबारे अध्ययन गर्न बनेको समितिले फोनको ब्याट्रीमा देखिएको कारण सो घटना हुने गरेको निश्कर्ष निकालेको छ ।

फोनमा समस्या देखिएपछि गत अक्टोबरमा कम्पनीले नोट सेभेनको उत्पादन बन्द गरेको थियो ।

यस प्रकरणमा कोरियाली कम्पनीलाई ५.३ बिलियन डलर घाटा लागेको र छविमा ठूलो धक्का लागेको थियो ।

सोमबार कम्पनीले फोनको कुनै सफ्टवेयर वा हार्डवेयर नभएर ब्याट्रीका कारण यस्तो समस्या देखिएको बताएको हो ।

कम्पनीको आफ्नै र बाहिरी अध्ययनले यस्तो निश्कर्ष निकालेको सामसुङले एक विज्ञप्तिमार्फत जनाएको छ ।

कम्पनीका अनुसार ब्याट्रीका डिजाइन र उत्पादन दुवैमा समस्या देखिएको छ ।

ब्याट्रीमा पर्याप्त इन्सुलेसन सामग्री नभएको र त्यसको डिजाइनले गर्दा ब्याट्रीको इलेक्ट्रोडहरुलाई सुरक्षीत रुपमा राख्न पर्याप्त स्थान नभएको अध्ययनले देखाएको छ ।

सामसुङले गल्तीको सबै जिम्मेवारी लिँदै यस्तो गल्तीलाई आगामी दिनहरुमा घट्न नदिन सर्तकता अपनाउने बताएको छ । नयाँ एस ८ मा यस्तो समस्या नदेखिने कम्पनीको दाबी छ ।

सामसुङले कुन कम्पनीबाट ब्याट्री लिने गरेको भन्ने कुरा खुलाएन ।

एप्पलको आइफोनलाई टक्कर दिन अगस्त २०१६ मा सामसुङले ग्यालेक्सी नोट सेभेन लञ्च गरेको थियो । तर, फोनमा समस्या देखिएपछि सेप्टेम्बरमा २५ लाख फोन फिर्ता लिनुपरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप