बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

चुनावका लागि मधेशी मोर्चालाई कसरी फकाउलान् प्रधानमन्त्रीले ?

सोमबार, १० माघ २०७३, १८ : ४९
सोमबार, १० माघ २०७३

काठमाडौँ – तीन दलले माघ १५ गतेभित्र चुनावको मिति घोषणा गर्ने सहमति गरेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरु अलमलमा परेका छन् ।

सविधान संशोधनको विधेयक पारित नभएसम्म चुनावको मिति घोषणा नगर्न मधेशी मोर्चाले सरकारलाई पटक–पटक आग्रह गर्दै आएको छ । तर ती आग्रहकै बीचमा संशोधन पारित नभई चुनावको मिति घोषणा गर्ने समय नजिकिँदै गइरहेको छ ।

मधेशी मोर्चाको दवावमा संशोधन विधेयक संसदमा टेबल भएपनि त्यो पारित हुने नुहुनेमा दुविधा देखिएको छ भने यता प्रमुख तीन दलले मिति घोषणा गरेर चुनावमा जाने तयारी गरिरहेका छन् ।

आफूहरुसँग सल्लाह नै नगरी तीन दल चुनावको तयारीमा गएको भन्दै मधेशी मोर्चाका नेताहरु आक्रोशित भएका छन् । मधेशी मोर्चाका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग भेटेर यस विषयमा कुरा गर्ने तयारी गरिरहेका छन् ।

माघ ८ गते बसेको तीन दलले चुनावको मिति चाँडै घोषणा गर्ने सहमति गरेपनि संशोधन विधेयकको बारेमा केही बोलेको छैन ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले संशोधन विधेयकको बारेमा कुरा नउठाएको होइन तर एमालेका अध्यक्ष केपी शर्मा ओलीले संशोधन विधेयकको कुरा गर्दै नगर्नु भन्दै विधेयक फिर्ता लिन आग्रह गरेका थिए । त्यति आग्रह गरेपछि विधेयकको बारेमा खासै कुरा हुन सकेन ।

यसअघि, यस्तै गरि चुनावको मिति घोषणा गर्ने निर्णय गरेपछि मधेशी मोर्चाका नेताहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डलाई भेटेर सो निर्णयलाई थामथुम पारेका थिए । सोही बेला संशोधन विधेयक संसदमा टेबल गरिएको थियो ।

मधेशी मोर्चा भोलि बैठक बसेर यस विषयमा निर्णय लिने तयारीमा छ । ‘बैठक बसेर प्रधानमन्त्री प्रचण्डसँग चुनावको वास्तविकता र त्यसको बारेमा जानकारी लिने तयारी छ,’ मोर्चाका एक नेताले भने ।

मधेशी मोर्चाको आक्रोश

मधेशी मोर्चाका नेताहरुले आफूहरुसँग सल्लाहै नगरिकन चुनावको मिति घोषणा गर्ने तयारीप्रति आक्रोश व्यक्त गरेका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले चेतावनी दिए, ‘चुनावको मिति घोषणा गरेर हुँदैन, चुनाव पनि हुनु पर्ने हो नि । मधेशी मोर्चाको सल्लाह बिना हुने निर्वाचन कुनै पनि हालतमा सफल हुँदैन ।’

प्रधानमन्त्री प्रचण्डले आफूहरुसँग पटक–पटक विधेयक पास गरेपछि मात्र चुनावको मिति घोषणा हुने बताएको तर, आज आफ्नै प्रतिबद्धताबाट पछाडि हट्ने भन्नेमा आफूलाई विश्वास नलागेको लालले बताए ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले भने, ‘जुन दिन सरकारले चुनावको मिति घोषणा गर्छ, त्यही दिन हामीले आन्दोलन घोषणा गर्छौ ।’

पहिला विधेयक पारित हुन्छ, त्यसपछि मात्र चुनावको मिति घोषणा हुन्छ भन्ने कुरा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले पटक पटक भनेको तर आज ती कुरा विर्सेर चुनावको मिति घोषणा गरे ठूलै मूल्य चुकाउनु पर्ने चेतावनी दिए ।

उनले भने, ‘हामी पनि सरकारका सेयरहोल्डर हौं । तर, कुनै पनि सरकारी निर्णय गर्दा हामीसँग सल्लाह हुँदैन । के मत हाल्नका लागि मात्र हो त हामी ? चुनावको बारेमा हामीसँग पनि सल्लाह हुनुपर्छ । हामीसँग सल्लाह नै नगरिकन मिति घोषणा भयो भने त्यसलाई स्वीकार गर्न बाध्य हुनेछैनौँ ।’

के छ सरकारको फकाउने योजना ?

‘टेबलसम्म मात्र गर्न दिनुस्,’ भनि एमाले अध्यक्ष केपी ओलीलाई फकाएका प्रधानमन्त्री प्रचण्ड अब मधेशी मोर्चालाई त्यसैगरी फकाउने तयारीमा छन् । अहिले ‘मिति घोषणासम्म मात्र गर्न दिनुस्,’ भन्दै मधेशी मोर्चालाई फकाउने तयारी गरिरहेको बालुवाटार स्रोतले जनाएको छ ।

‘मिति घोषणा गरेर मात्र के हुन्छ ? मिति घोषणा गरेको तीन चार महिनापछि चुनाव हुन्छ । त्यस बीचमा संशोधन विधेयक पनि पारित हुन्छ,’ भनेर मधेशी मोर्चालाई फकाउने तयारी छ प्रचण्डको । ‘अहिले चुनावको मिति घोषणा गरिएन भने तोकिएको समयमा चुनाव गराउन नसकिने भनि मधेशी मोर्चासँग ब्ल्याकमेलिङ,’ गर्नसक्छन् प्रचण्डले ।

तर, यता मोर्चा भने त्यतिमै मान्ने पक्षमा देखिएको छैन । बरु, चुनावलाई नै आफ्नो बार्गेनिङ प्वाइन्ट बनाउने मोर्चाको तयारी रहेको छ । संशोधन विधेयक पारित नहुन्जेलसम्म चुनावको मिति घोषणा हुनै नदिने मोर्चाका नेताहरु भन्छन् । चुनावको मिति घोषणा गर्न ढिलाई हुन थालेपछि मात्र प्रमुख तीन दल गल्ने भन्ने बुझाई मधेशी मोर्चाको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप