बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचनबारे प्रम र प्रमुख आयुक्त यादवबीच छलफल, निर्वाचनको तयारी गर्न आग्रह

सोमबार, १० माघ २०७३, १९ : ४८
सोमबार, १० माघ २०७३

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको तयारीका बारेमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा निर्वाचनका लागि सरकारले अवलम्बन गर्नुपर्ने नीति र आवश्यक कानुन तथा प्राविधिक तयारीका बारेमा कुराकानी गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले व्यवस्थापिका–संसद्मा विचाराधीन विधेयकलाई पारित गराउने विषयमा आफूले विशेष पहल गरिरहेको जानकारी गराउँदै आयोगलाई आफ्नोतर्फबाट निर्वाचनको तयारी गर्न प्रमुख आयुक्त यादवलाई अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

स्थानीय तहको निर्वाचनका बारेमा प्रमुख तीन दलबीच सहमति भइसकेको, मधेस केन्द्रित दलसँग सहमति जुटाएर एकाध दिनभित्रै निर्वाचनको मिति घोषणा गरिने जानकारी गराउँदै प्रधानमन्त्रीले दाहालले कुनै पनि द्विविधा नराखी निर्वाचनको तयारी गर्न प्रमुख निर्वाचन आयुक्त यादवलाई आग्रह गरेका हुन् ।

स्थानीय निकाय पुनःसंरचना आयोगले प्रतिवेदन बुझाइसकेको र सरकार निर्वाचनका लागि आतुर रहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्रीले संविधान कार्यान्वयनको पहिलो सर्त नै निर्वाचन भएको बताएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि १०० दिन आवश्यक रहेकाले सरकारले तत्काल निर्वाचन कानुन बनाउन आग्रह गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप