बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

विप्लव माओवादीको राष्ट्रिय महाधिवेशनको लागि थवाङमा एकहजार क्षमताको हल निर्माण

मङ्गलबार, ११ माघ २०७३, १२ : ०२
मङ्गलबार, ११ माघ २०७३

रोल्पा - नेत्र विक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेकपा माओवादीले आगामी फागुन १ गतेदेखि सञ्चालन गर्न लागेको आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि रोल्पाको थवाङमा निर्माणाधीन करिब रु दुई करोड लागतको हल अन्तिम चरणमा पुगेको छ ।

फागुन १ गते काठमाडौँको खुलामञ्चमा उद्घाटन गरी फागुन ४ देखि करिब एक सातासम्म रोल्पाको थवाङमा बन्दसत्र सञ्चालन हुने नेकपा माओवादीका केन्द्रीय सदस्य नन्दबहादुर बुढामगरले बताए ।

एकसय ६५ फिट लम्बाइ र ४० फिट चौडाइको सो हलमा एक हजारभन्दा बढी मान्छे अट्ने क्षमता रहेको बुढाले बताए ।

सहिद स्मृति हल नामाकरण गरिएको उक्त हल निर्माणका लागि हालसम्म राप्तीका पाँच जिल्लाका अतिरिक्त बाँके, बर्दिया, सुर्खेत, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची र बागलुङका झन्डै १८० भन्दा बढी नेता कार्यकर्ताले पाँचदेखि १० दिनसम्म श्रमदान गरेको बुढामगरले जानकारी दिए ।

महाधिवेशनका क्रममा पार्टी स्थायी समिति र पोलिटब्युरोको बैठक प्रयोजनका लागि तीनकोठे छुट्टै भवन समेत निर्माण भइरहेको छ । यसैगरि महिला र पुरुषका लागि छुट्टाछुट्टै १२ कोठे पक्की शौचालय समेत निर्माण भइरहेको बुढामगरले जानकारी दिए ।

हल निर्माणको काम केन्द्रबाट सिधै भएको बताइएको छ । पार्टीका विभिन्न कमिटी, पार्टी सदस्य, शुभेच्छुकबाट सहयोग सङ्कलन तथा नेता कार्यकर्ताबाट श्रमदान गरी सो भवन निर्माण गर्न लागिएको नेकपा माओवादी, रोल्पाका सेक्रेटरी दलबहादुर खत्री जागृतीले बताए ।

वीर बलभद्र माध्यमिक विद्यालय थवाङको हाताभित्र निर्माण गरिएको सो हल महाधिवेशन प्रयोजनपश्चात् संरक्षण र व्यवस्थापनको जिम्मेवारीसहित सोही विद्यालयलाई हस्तान्तरण गरिने बताइएको छ ।

वर्तमान सत्ताको केन्द्र काठमाडौँमा उद्घाटन गरी माओवादी जनयुद्धको केन्द्र थवाङमा बन्दसत्र गर्नु अर्थपूर्ण रहेको खत्रीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप