बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

अन्तरजातीय प्रेमसम्वन्धका कारण आत्महत्या गरेका लोकनाथको काजकिरिया सुरु

मङ्गलबार, ११ माघ २०७३, १२ : १६
मङ्गलबार, ११ माघ २०७३

झापा - नागरिक समाजले दबाब दिएपछि मृत्यु भएको चार दिनपछि बल्ल कनकाई नगरपालिका–७ निवासी लोकनाथ भट्टराई (ईश्वरी) को हिन्दू परम्पराअनुसार सोमबार अपराह्नदेखि काजकिरिया सुरु भएको छ ।

अन्तरजातीय प्रेमसम्वन्धका कारण आत्महत्या गरेको भनिएका कनकाई नगरपालिका–७, मन्सापुर निवासी भट्टराईको काजक्रिया नहुँदा पीडित परिवारमा थप पीडा थपिएको थियो ।

भट्टराई परिवारले विगत १२ वर्षदेखि पुज्दै आएका पुरोहित सोही ठाउँ निवासी रोहिणीप्रसाद गौतमले उनको काजकिरिया नगरिदिएपछि मृतक भट्टराईको काजक्रिया हुन नसकेको बताइएको छ ।

उनको काज किरियाका लागि सोमबार दिउँसो नागरिक समाजको टोलीले भट्टराईको घरमा गएर पुरोहित यादवप्रसाद खतिवडालाई काजक्रिया गराउन आग्रह गरेपछि अपराह्न ३ बजेदेखि उनको काजकिरिया थालिएको हो ।

सोमबार अपराह्नदेखि मृतकका ठूलोबुबा लीला भट्टराई भतिजाको काजकिरियाका लागि कोरोढिकुरो गरेर कोरामा बसेको सामाजिक अगुवा कुमारप्रसाद खरेलले बताए ।

भट्टराईको काजकिरिया गराउन गङ्गा उप्रेती, धनपति चुडाललगायतले पुरोहित गौतमलाई अनुरोध गरेपनि उनले आफूले नभ्याउने भन्दै उनको काजकिरिया नगराएपछि अर्को पुरोहितको व्यवस्थापन गरिएको खरेलले बताए ।

स्थानीय समाजसेवी गोपाल सिवाकोटीले भन्नुभयो, तुरुन्तै ‘मन्सापुरे समाज’ गठन गरी एउटा हिन्दूले अर्को हिन्दूलाई उपहास गरेको र अन्तरजातीयताको नाममा गरिएको विभेदको अन्त्यका लागि चाँडै हिन्दू महासङ्घमा समेत छलफल गरी यस्तो सामाजिक अन्योलताको अन्त्यका लागि अभियान चलाइने बताए । भट्टराईले पुज्दै आएका पुरोहित गौतमलाई अब अन्य व्यक्तिले समेत नपुज्ने बताइएको छ ।

गत शुक्रबार भट्टराई र सोही ठाउँ निवासी अस्मिता तोलाङ्गी स्थानीय विरीङ्ग नदीको किनारामा सिसौको रुखमा एउटै डोरीले पासो लगाई आत्महत्या गरेका थिए ।

मृतकको शव परीक्षण गरेपछि वैदिक परम्पराअनुसार दाहसंस्कार गर्ने समयमा पुजेका पुरेतलाई खबर गर्दा आफू नभ्याउने भन्दै पन्छिएको र अन्य पुरोहितले पनि काजक्रिया गर्न नमान्दा पीडित परिवारमा शोकमाथि शोक थपिएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप