बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ शेरबहादुरका प्रतिद्वन्द्वीको कृषि फर्म (तस्बिर र भिडियो)

मङ्गलबार, ११ माघ २०७३, १३ : १३
मङ्गलबार, ११ माघ २०७३

काठमाडौँ – चार हजार केन्द्रीय सदस्य रहेको माओवादी केन्द्रमा अहिले करिब एक सय जनाको केन्द्रीय सचिवालय छ र त्यसको एक सदस्य हुन खगराज भट्ट । मन्जु बम उनकी पत्नी, जो माओवादी शान्ति प्रक्रियामा आएपछि बनेको अन्तरिम व्यवस्थापिका संसदकी सदस्य थिइन् र अहिले माओवादी पोलिटब्युरो सदस्य ।

तर, यो जोडीको दैनिकी चाहिँ किसानको जस्तो छ । राजनीतिक दौडधूप त छ नै, उनीहरु जीवन चलाउने मेसोका रुपमा कृषि फर्म चलाएर बसेका छन् ।

झन्डै दुई वर्षदेखि उनीहरुले कृषि फर्म चलाएर बसेका छन् । चन्द्रागिरी नगरपालिका २ घट्टेडाँडामा उनीहरुको कृषि फर्म छ । दुवै मान्छन्, ‘आत्मसम्मानसहित राजनीतिक गर्न सकियोस् भनेर यो काम थालेका हौँ ।’

पाँच वर्षका लागि आठ रोपनी जग्गा भाडामा लिएर कृषि फर्म चलाइएको भट्टले बताए । उनको फर्ममा गाई छन्, कुखुरा छन् र तरकारी खेती छ । पाँच लाखबाट सुरु भएको यो फर्ममा अहिलेसम्म १० लाख खर्च भएको बमले बताइन् । उनका अनुसार क्रमशः ऋण पनि तिर्ने काम भएको छ ।

भट्टका दाजु जयराज जनयुद्धकालीन सहिद हुन् । उनीे ०५९ जेठ २३ राज्यपक्षबाट मारिएका थिए । जनयुद्धका सहिद दाजुका नाममा खगराजले कृषि फर्म चलाएका हुन् ।

‘आत्मसम्मान, स्वच्छ वातवरण यहाँको विशेषता हो ।’ भट्टले सुनाए । उनको फर्ममा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी, हरिबोल गजुरेल पुगेका छन् । नयाँ शक्ति नबन्दै देवेन्द्र पौडल र नवराज सुवेदी पनि पुगेका थिए ।

‘यो रातारात करोड पति हुने पेसा होइन । आत्मसम्मानसहित जीवन चलाउने मेसो हो ।’ भट्टले भने, ‘यो कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता श्रम गरेर बाच्नुपर्छ भन्ने सन्देश पनि हो ।’ भट्टका अनुसार पैसा नभएका नेताले कसरी राजनीति गर्ने भन्ने सोचसहित फर्म जन्मेको बताए ।

मन्जुलाई अहिले यो काम गर्न ढिला भएको लाग्न थालेको छ आजकल । ‘यो शान्ति प्रक्रियापछि लगत्तै गरेको भए हुन्थ्यो भन्न लाग्छ अहिले ।’ ३६ वर्षकी उनले भनिन्, ‘जमेर काम गरे राम्रै फाइदा हुन्छ ।’

यो दम्पतीको कृषि फर्ममा दुई जनाले रोजगारी पनि पाएका छन्, त्यो पनि राम्रै तलबमा ।

डडेल्धुरा निवासी भट्ट पहिलो र दोस्रो संविधानसभामा शेरबहादुर देउवासँग चुनाव लडेका थिए । पहिलो चुनावमा उनले १३ सय मतले हारेका थिए । दोस्रो संविधानसभा चुनावमा चाहिँ हारजीतको अन्तर धेरै भयो । पहिलो संविधानसभा चुनावमा माओवादीको चुनावमा चिन्हमा मतदान भएका चार हजार मत्र बदर भएका थिए । यही कारण देउवाले भनेका थिए, ‘मेरो जित प्राविधिक ।’ भट्टले प्रचण्ड र बाबुराम भट्टराईलाई चुनावी प्रचारका लागि एक दिन आफ्नो निर्वाचन क्षेत्रमा आउन आग्रह गरेका थिए । तर, त्यसबेला दुवै नेता नगएको र हार्नु परेको उनको बुझाइ छ ।

बाबुरामले माओवादी नछाडुन्जेल भट्ट बाबुरामपक्ष मानिन्थे तर, जब बाबुरामले माओवादी छाडेर नयाँ शक्ति बनाए । तर, भट्ट बाबुरामसँग गएनन् ।

भट्ट पार्टी काम, जिल्ला र सुदूरपश्चिमबाट आएका व्यक्तिहरुको काम लिएर तथा भेटघाटका लागि सहर आइरहन्छन् । उनी ठान्छन्, ‘राजनीतिलाई पेसा बनाउने कि सेवा ? यसैका उत्तर हो, यो कृषि फर्म ।’ यति मात्र भनेका उनले प्रस्टै सङ्केत गरे, ‘राजनीतिलाई पेसा बनाउनेले जे गरे पनि भयो, सेवा बनाउने चाहिँ काम गर्नुपर्यो, काम गरेर जीवन चलाउनुपर्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप