बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रोल्पाबाट हराएका महिला–बालबालिका काठमाडौँको इँटाभट्टामा

मङ्गलबार, ११ माघ २०७३, १५ : ४७
मङ्गलबार, ११ माघ २०७३

रोल्पा - घरबाट विद्यालय जान भनेर हिँडेकी गैरीगाउँ – ५ रोल्पाकी १३ वर्षीया मीना बुढाथोकी गत पुस ५ गतेदेखि हराइरहेकी छिन् ।

हराएपछि उनी कहाँ, किन र कोसँग गइन्, भन्नेबारे परिवारलाई कुनै किसिमको जानकारी भएन । चारैतिर उनको खोजी भयो, कहीँ कतै फेला नपरेपछि पुस १२ गते उनका अभिभावकमार्फत जिल्ला प्रहरी कार्यालय रोल्पामा खोजतलासका लागि उनको हुलियासहित निवेदन प¥यो । निवेदन परिसकेपछि प्रहरीमार्फत उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका सेवा केन्द्र रोल्पाले जनाएको छ ।

यस्तै मिझिङ– ८ रोल्पाका ११ वर्षीय सेरे महरा गत मङ्सिर ९ गतेदेखि घरबाट हराइरहेका छन् । बिहानसम्म घरमा रहेको छोरो साँझसम्म पनि घर नफर्किएपछि गाउँघर, टोलछिमेक चारैतिर उनको खोजी भयो तर कहीँ कतै फेला पर्न सकेनन् । उनका अभिभावकमार्फत खोजतलासका लागि मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय रोल्पामा निवेदन प¥यो । यसरी निवेदन परेपछि प्रहरी कार्यालय मार्फत हालसम्म पनि उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै बडाचौर– ४ रोल्पाकी २१ वर्षीया पार्वती थापा पुस २८ गतेदेखि घरबाट निस्किएर हराइरहेकी छन् । उनलाई घरपरिवारमार्फत गाउँ, घर, इष्टमित्र तथा माइती मावलीसम्म पनि खोजी गरियो तर कहीँ कतै फेला पर्न नसकेपछि उनको खोजीका लागि प्रहरीमा निवेदन प¥यो । उनको पनि प्रहरीले हालसम्म खोजी जारी राखेको छ ।

प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरका अनुसार खोजतलासका लागि देशका सबै जिल्लामा हराएका व्यक्तिको हुलियासहित जानकारी पठाइसकिएको छ । महिला तथा बालबालिका सेवा केन्द्र, रोल्पाको तथ्याङ्कानुसार चालु आवमा मात्र जिल्लाबाट करिब ४१ जना हराएकामा १८ महिला, १० बालक र १३ बालिका छन् ।

विशेषगरी ११ देखि १६ वर्ष उमेर समूहका किशोरी–युवती तथा ५० वर्ष उमेरसम्मका महिला हराउने गरेको तथ्याङ्कमा उल्लेख छ । हराएकामध्ये ११ जना फेला परिसकेका छन् भने अन्य ३० जनाको अवस्थाका बारेमा प्रहरीलाई थप जानकारी छैन ।

यसैगरी आव २०७२/७३ मा जिल्लाबाट ८५ जना हराएकामा ३६ जना, ३१ बालिका तथा १८ बालक रहेको सेवा केन्द्रको तथ्याङ्कमा उल्लेख छ । आफूले रोल्पामा काम गर्दाको अनुभव सुनाउँदै मगरले भने– “हराएकामध्ये अधिकांश महिला तथा बालबालिका काठमाडाँैका विभिन्न इँटाभट्टामा पुग्ने गरेका छन् ।

गत पुस ७ गते काठमाडौँको इँटाभट्टा जाँदै गरेका दुई महिला, एक पुरुष र अन्य ३१ बालकालिकालाई इँटाभट्टामा जाँदै गरेको अवस्थामा लिबाङको सदरमुकामस्थित टुँडिखेलबाट प्रहरीले फर्काएको थियो ।

यसरी हराएका व्यक्तिका अभिभावकले खोजतलासका लागि प्रहरीमा निवेदन दिने तर फेला परिसकेपछि पनि जानकारी नदिने भएको हुँदा सही तथ्याङ्क उपलब्ध गराउन नसकिने अवस्था रहेको बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप