बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नदीजन्य पर्दाथ ठेक्का : नक्कली भ्याट बिल प्रयोग गर्दै, राजस्व छल्दै

बुधबार, १२ माघ २०७३, १० : १६
बुधबार, १२ माघ २०७३

कपिलवस्तु – जिल्लाकै सबैभन्दा ठूलो बाणगंगा नदीको कोपवा–भगलापुर–सुठौली स्थित नदीजन्य पर्दाथ निकासी ठेक्कामा ठेकेदारले नक्कली भ्याट बिल प्रयोग गरिरहेका छन् । भ्याट छली तथा घन परिमाण जोगाउन ठेकेदारले किर्ते गरेको पाइएको हो ।

नाकाको ठेक्का लिएको खड्का काष्ठ तथा फर्निचर सप्लायर्सले जिविसको बिल तथा छाप किर्ते गरि राजस्व तथा बालुवा दुबै चोरी गरिरहेको पाइएको छ ।

०७४ जेष्ठ मसान्त सम्मको लागि १ करोड ७७ लाखमा जम्मा ७४ हजार ३ सय ५७ घन मिटर नदीजन्य पर्दाथ निकासीका लागि ठेक्का लिएका ठेकेदार राजु खड्काले नक्कली बिल प्रयोग चोरी गरेका छन् ।

विप्लव माओवादी नेता समेत रहेको ठेकेदार खड्का तथा कांग्रेसका स्थानीय नेता दुनिका भुसालले राजनीतिक आडमा स्थानीय प्रशासन तथा प्रहरीलाई मिलाएर अवैध कार्य गरिरहेको सर्वसाधारणको आरोप छ ।

प्राप्त दुई वटा बिलबाट उक्त नाकामा नक्कली रसिद प्रयोग भएको देखिन्छ । पुस ९ गते लु २ त ५००२ नम्बरको ट्याक्टरको बिल नम्बर ५५३५ छ । तर पुस २५ गते लु २ त ६१७३ को ट्याक्टरलाई ५५११ बिल नम्बरको रसिद काटिएको छ । एउटै ठेली भित्र पर्ने यी दुई रसिद बीच १६ दिनको अन्तर छ । रोलक्रम समेत उल्टो छ ।

फोटो विवरण : बाणगंगा नदी अन्र्तगतको कोपवा–सुठौली नाकामा प्रयोग गरिएको नक्कली भ्याट बिल

नक्कली बिलको आधारमा मात्रै ठेकेदारले करिब २ लाख १५ हजार राजस्व छली गरेका छन् भने २३ हजार ५ सय ३३ घन मिटर नदीजन्य पर्दाथ चोरेको पाइएको छ । दुबै बिलको घन परिमाण जोडेमा ४६ हजार सय ६४ घनमिटर निकसी भइसकेको स्पष्टै छ । जिविस ठेक्का सम्झौता अनुसार उक्त नाकाबाट अब जम्मा २७ हजार घनमिटर नदीजन्य निकासी बाँकी देखिन्छ ।

जिविसले निर्धारण गरि दिएको निकासी परिमाण जोगाउन उक्त नाकामा सुरुदेखि नै नक्कली बिल प्रयोग गरिएको हथौसाका स्थानिय ट्याक्टर चालक बुधई थारु बताउँछन् । ‘बिल पनि नक्कली दिन्छन्, अनि बढि पैसा पनि लिन्छन्, विरोध गरे कुट्न खोज्छन्’ उनले भने । प्रति ट्याक्टर १ सय रुपैया र प्रति टिपर ३ सय रुपैयाँ बिलभन्दा बढि लिने गरेको स्थानीयबासी राकेश चौधरी बताउँछन् । ठेकेदारले जिविसले तोकेको क्षेत्र भन्दा बाहिर गई समेत बन क्षेत्र किनारबाट गिट्टी, बालुवा निकालीरहेको उनको आरोप छ ।

जिल्ला विकास समितिले फेला परेको दुई वटा बिल मध्ये एक नक्कली हुन सक्ने बताएको छ ।

राजस्व फाँट प्रमुख शान्ताराज आचार्यले उक्त नाका निरन्तर चलिरहेको हुदा एउटै ठेलीभित्र यति धेरै मितिको फरक हुन नसक्ने बताउँछन् । ‘हामीले यसबारे छानबिन गर्छौँ’ उनले भने । यसो त जिल्ला विकास समितिले निरन्तर अनुगमन तथा जरिवाना समेत गरेको छ ।

जजनगुनासोपछि आइतबार भगलापुर नाक पुगेकास्थानीय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले ठकेदारलाई कारवाही गरेका छन् । आफुले ५ हजार जरिवाना गरि पहिलो पकट चेतावनी दिइ छाडेको उनले बताए । ‘अब अर्को पटक पुनः गल्ती दोहरिए लाइसेन्स खारेज गर्छौँ’ उनले भने ।

नक्कली बिल प्रयोगबारे आफुले गुनासो सुने पनि प्रमाण फेला नपरेको कारण कारवाही गर्न नसकेको न्यौपानेले बताए ।

जिविसले पटक पटक उक्त नाकाका ठेकेदारलाई चेतावनी तथा जरिवाना समेत गरिसकेको छ । तर, ठेकेदारहरुले भने स्थानीय विकास अधिकारीलाई उल्टै धम्क्याउने गरेका छन् । ‘यो एलडिओले बढी गरे नवलपरासीझैँ सरुवा गरिदिन्छाँै’ कतिपय ठेकेदारले भन्ने गरेको सरोकारवाला बताउँछन् ।

सरकारी छाप तथा प्याड किर्ते गरेको, राजस्व छली गरेको, ठेक्का सम्झौता विपरित गएको उक्त ठेकेदारको ठेक्का रद्द तथा ६ बर्षसम्म जेल वा दुबै सजाय हुन सक्ने कानुन व्यवसायी बताउँछन् ।

अवैध असुली र नक्कली बिल प्रयोग गरि उपभोक्ता ठग्नेलाई नियमानुसार कारवाही गर्नुपर्ने सरोकारवालाको माग छ । एक करोड ७७ लाखमा लिएको ठेक्काबाट करिब २ करोड ४० लाख रकम असुल गरिसकिएको र जिविसले निर्धारण गरेको स्टक समेत सकिएको श्रोतको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप