बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मधेशवादी दललाई सिके राउतको चिन्ता, प्रचण्डलाई एमालेको

बुधबार, १२ माघ २०७३, १६ : ५२
बुधबार, १२ माघ २०७३

काठमाडौँ – देश कति गम्भीर मोडमा उभिएको छ ? मंगलबार साँझ सरकार र मधेशी मोर्चाबीच भएको वार्ता यही विषयमा केन्द्रीत रह्यो ।

अहिलेको राजनीति ‘सेटल’ नभए भने क–कसलाई के के आपत्त आइलाग्छ, हिजोको बैठकमा त्यसबारेमा नेताहरुले लामै गन्थन गरे ।

सन्दर्भ थियो, सिके राउतको । मधेशमा राउतको पक्षमा बढ्दै गएको जनलहरले मधेशी मोर्चाका नेताहरु प्रधानमन्त्री प्रचण्डसमक्ष चिन्ता जाहेर गरेका थिए ।

बैठकमा सहभागि एक नेताका अनुसार तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सिके राउतका कारण आफू निकै अप्ठ्रोमा परेको उल्लेख गरेका थिए । सिके राउतको गतिवधिलाई नियन्त्रण नगर्नु सरकारको गैरजिम्मेवारीपन रहेको टिप्पणी गरेका थिए ।

‘हामी अहिले जहाँ जान्छौँ, सबैले सिके राउतकै बारेमा मात्र सोध्छन्, जिल्ला जाँदा कार्यकर्तादेखि त्यहाँका स्थानीय पत्रकारहरुले पनि सिके राउतकै बारेमा प्रश्न गर्छन्, काठमाडौँ आउँदा यहाँका पत्रकारहरुले सिके राउतकै बारेमा सोध्छन्, हामीले के जवाफ दिने ?,’ अध्यक्ष ठाकुरले प्रधानमन्त्री प्रचण्डसँग भने, ‘माघ ५ गते बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा भएको कार्यक्रमले गर्दा सिके राउतको चर्चा बढेको छ, यसले हामीलाई निकै अप्ठ्यारोमा पारेको छ ।’

सिके राउतको आन्दोलनसँग आफूहरुको कुनै सम्बन्ध र सरोकार नरहे पनि उनको आन्दोलनको बारेमा आफूहरुसँग नै सबैले जिज्ञासा राख्ने गरेकाले दिक्क भएको बताउँदै ठाकुरले भने, ‘जतिजति राजनीतिक सक्रमण बढ्दै जान्छ, यो विषय झन् गम्भिर भएर उठ्नेछ ।’

‘हामीले यही संविधानमा संशोधन चाहेका छौ, यही देशमा आफ्नो अधिकार मागेका छौँ । तर, हामीलाई जबर्जस्ती एक्ल्याउने प्रयास भइरहेको छ,’ उनले भने, ‘यो सबै सरकारले गर्दा भइरहेको छ ।’

आफूहरुको हालत अफ्रिकी जस्तो भएको बताउँदै उनले त्यहाँका कथा पनि सुनाएका थिए । ‘गोराहरुले अफ्रिकी नागरिकको हातमा बाइबल राखेर एकछिन आँखा बन्द गर्न भनेका थिए, पछि आँखा खोल्दा त (अश्वेत) अफ्रिकीहरु क्रिश्चियन भइसकेका थिए र उनीहरुको आफ्नो केही रहेन । यो कथाको जस्तै हाम्रो पनि त्यस्तै हालत भएको छ,’ अध्यक्ष ठाकुरले प्रधानमन्त्रीलाई भने, ‘तपाईहरु पनि हामीलाई पटक–पटक गरिएको सहमतिपत्र हातमा थमाई दिनुहुन्छ, सबै लिनुहुन्छ तर केही दिनुहुन्न ।’

स्रोतका अनुसार अध्यक्ष महन्थ ठाकुरले बोलिसकेपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो कुरा राखेका थिए । उनले भने, ‘आज म लामो बोल्दिन, महन्थजीले बोलेको कुरामा मेरो समर्थन छ र अन्त्यमा यही भन्न चाहन्छु कि जुन दिन तपाईहरु निर्वाचनको मिति घोषणा गर्नुहुन्छ, त्यही दिन हाम्रो आन्दोलन पनि घोषणा हुन्छ । त्यो आन्दोलनबाट हुने के क्षतिको जिम्मेवार तपाईहरु स्वयम् हुनुहोला ।’ आफूहरुले शुरुदेखि नै पहिला सविधान संशोधनको प्रस्ताव पारित गर्नुस् भनेर भन्दा पनि त्यसलाई छाडेर निर्वाचनको लागि कसरत भइरहेको कुरा आफूहरुलाई स्वीकार नरहेको कुरा उनले कडा शब्दमा राखेका थिए ।

त्यसपछि बोल्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘सबैले सबै कुरा राखि सक्नुभयो । मैले के राखुँ ? तर, यहाँ एउटा कुरा भन्न चाहन्छु, मधेशी जनताले हामीबाट धेरै अपेक्षा गरेका छन् । हामीले भनेपछि यत्रो आन्दोलन भयो, तर आज उनीहरुले केही पाइरहेका छैनन् । यो अवस्थामा मधेशी जनता कहाँ जान्छ, तपाईहरु आफै विचार गर्नुस् ।’

‘यदि मधेशको माग पुरा भएन भने हामी त समाप्त हुन्छौ नै, त्यसको साथै तपाईहरु पनि उता (मधेश) जान पाउनु हुन्न,’ महतोले प्रधानमन्त्री प्रचण्डलाई भने, ‘समयमा यो कुरामा गम्भीर हुनुस्, हामीले अलग देश मागेका होइनौँ, यही देशमा आफ्नो अधिकार मागेका छौँ, यही सविधानलाई संशोधन गर्न भनिरहेका छौंं, अब यसलाई धेरै नलम्ब्याउनुस् ।’

युरोपिय युनियनको चासो

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले चाइनिजहरुको नयाँ वर्षको उपलक्ष्यमा भएको कार्यक्रममा युरोपियन युनियनका अधिकारीहरुले बडो गम्भीरका साथ चुनावको विषय उठाएको कुरा राखेका थिए । ‘तपाईहरुले चुनावको मिति घोषणा किन हुन नदिएको ? चुनाव भयो भने तपाईहरुलाई के घाटा लाग्छ ?,’ उनीहरुको कुरा उद्धृत गर्दै झाले भने ।

जवाफमा आफूले युरोपियन युनियनका अधिकारीहरुलाई आफूहरुले चुनावविरोधी नभएको तर, त्यसअघि संशोधन विधेयक पारित हुनुपर्ने माग मात्र राखेको बताएका थिए ।

उनले एक्ला एक्लै छलफल गरेर नहुने भन्दै गम्भीर र बृहत छलफलका लागि एमालेसहित चारै पक्ष बस्नु पर्ने प्रस्ताव पनि गरेका थिए ।

राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले चुनावको मिति घोषणा गरेपछि विधेयक पारित हुन्छ भन्ने कुराको आधार मागेका थिए । उनले प्रधानमन्त्री प्रचण्डलाई भने, ‘चुनावको मिति घोषणा भएपछि विधेयक पारित हुन्छ भने कुरामा हामीलाई विश्वास लाग्दैन । आज चुनावको मिति घोषणा हुन्छ, हामी पनि चुनाव घोषणामा साथ दिउँला तर भोली गएर विधेयक पारित भएन भने के हामी आफ्ना कार्यकर्तालाई विधेयक पारित भएन अब चुनावमा नजाउँ भन्न मिल्छ ?’

यसअघि पनि आफूहरुसँग भएका धेरै सम्झौताहरु विभिन्न बहानामा टारिएकै कारण आज आएर मधेश यस्तो अवस्थामा आएको बताउँदै उनले मधेशी जनताले अहिले विकल्प खोज्ने परस्थितिमा पुगिसकेको बताए । उनले भने, ‘अब पनि त्यस्तै आलटाल भयो भने समस्या समाधान गर्न निकै गाह्रो हुनेछ ।’

त्यसपछि प्रचण्डले भने..

मधेशी नेताहरुले आफ्नो कुरा राखिसकेपछि प्रधानमन्त्री प्रचण्डले डेढ घण्टा आफ्नो कुरा राखेका थिए । उनले पटक–पटक आफूमाथि अविश्वास नगर्न मोर्चाका नेताहरुसँग आग्रह गरेका थिए । यो गठबन्धन आफूले धेरै सोच विचार गरेर बनाएको भन्दै विगतमा जे जस्तो आफूबाट गल्ती भएपनि अब चाहीँ आफूबाट त्यस्तो नहुने प्रष्ट पारेका थिए ।

‘अहिलेको राजनीति केही तलमाथि भयो भने तपाइँहरु त अप्ठ्यारमा पर्नु हुन्छ नै हामी पनि यता ठूलै अप्ठ्यारोमा पर्छौँ । माओवादी केन्द्रले कुनै गल्ती गरोस् र त्यसको फाइदा लिउँ भनेर एमाले तयार भएर बसेको छ । उता मधेशवादी दल केही गल्ती गरोस् र त्यसको फाइदा लिउँ भनेर सिके राउतहरु बसेका छन् । त्यसैले यसलाई गम्भीर ढंगले चाँडै सेटल गर्नुपर्छ,’ उनले भनेका थिए ।

मधेशी मोर्चाका नेतालाई पटक पटक विश्वास दिलाउने प्रयास गर्दै प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्ताव पनि पारित हुने र निर्वाचनको मिति घोषणा हुने भन्दै मधेश मोर्चाका नेताहरुलाई ढुक्क रहन आग्रह गरेका थिए । चुनावको मिति घोषणा भएपनि मधेशी मोर्चासँग सल्लाह गरेर नै हुने प्रचण्डले आश्वास्त पारेका थिए ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चाबीच हिजो बालुवाटारमा चार घण्टा लामो छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप