बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीकी ‘घरवाली’ बनिन् ‘रिक्सावाली’ : पतिभन्दा धेरै आम्दानी

बुधबार, १२ माघ २०७३, १७ : ३७
बुधबार, १२ माघ २०७३

बुटवल – वुटवलको दीपनगर निवासी अम्बिका श्रेष्ठ श्रीमान्को कमाईंमा मात्र बाँच्न चाहँदिनन् । उनी आफै आत्मनिर्भर बन्न चाहन्छिन् ।

उनको श्रीमान् महेश कुमाल नेपाल प्रहरीमा छन् । उनी हाल भैरहवा भन्सार कार्यालयमा कार्यरत छन् ।

उनका दुई छोरीहरु पनि छन् । विहान उठेर छोरीहरुलाई स्कुल पठाउनेदेखि घरको सबै काम उनले आफै हेर्नुपर्छ ।

तर, आफ्नो आत्मनिर्भर बन्ने अठोटलाई यसले नछेक्ने उनी बताउँछिन् । त्यही सोच लिएर उनले सानो किराना पसल शुरु गरिन् । त्यसबाट खासै फाइदा नदेखेपछि उनले उक्त पसल बन्द गरेर गत तीन महिनादेखि वुटवलको सडकमा अटोरिक्सा कँुदाउन शुरु गरिन् ।

अहिले उनी नेपाल प्रहरीमा कार्यरत उनका श्रीमानले भन्दा दोव्बर उनले कमाउन थालेकी छिन् ।

विहान उठेर छोरीहरुलाई स्कूलपछि दीपनगरबाट अटोरिक्सा हाँक्दै काममा लाग्छिन् । विभिन्न चोकमा पर्खेर यात्रु भर्नु र साँझ ७ वजे पछि घर फर्किनु उनको दैनिकी बनेको छ ।

घर नारायणघाट र पुर्खेयौंली माईतीघर पाल्पा बताउने श्रेष्ठ जस्तै रुपेन्देहीको भैरवाहदेखि वुटवलको शिद्धवावासम्म दुई दर्जनभन्दा बढी महिलाले अटोरिक्सा चलाउने गरेका छन् । श्रेष्ठले भनिन्, ‘पढेर जागिर खाने सोँच थियो । तर, एसएलसी उतिर्ण गर्न नसकेर जागिर खाने रहर पुरा भएन । त्यसैले आत्मनिर्भर बन्न यो पेशा रोजेकी हुँ ।’

किराना पसलबाट भएको आम्दानीबाट उनले अटो रिक्सा किनेको बताईन् ।

‘दिनमा कति कमाउनु हुन्छ ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘दिनमा १४/१५ सयको हाराहारीमा कमाउँछु , महिनामा त्यस्तै ३० देखि ५० हजारसम्म बचाइरहेकी छु ।’

‘त्यसो भए त श्रीमानको तलबभन्दा बढी नै कमाउनु हुँदो रहेछ त ?’ भन्ने अर्को प्रश्नमा उनले हाँस्दै भनिन्, ‘उहाँको भन्दा त दोव्बर नै कमाउँछु ।’

पहिले महिलाले यस्तो काम गर्नुहुँदैन भन्नेहरु भए पनि अहिले स्थिति बदलिएको उनी बताउँछिन् । रुपन्देहीको भैरहवा देखि वुटवलको शिद्धवाव सम्म अहिले २५/२६ जना महिलाहरुले अटोरिक्साबाट राम्रो आम्दानी गर्ने गरेको बताइन् । तर, अझै पनि साँझ ७÷८ बजेदेखि रिक्सामा चढ्ने कतिपय पुरुषहरु जिस्किन खोज्ने भएकोले महिला चालकहरु अझै असुरक्षित महसुस गर्ने उनको भनाई थियो ।

साढे दुई लाखमा किनेको अटोरिक्सा शुरुमा भाडामा चलाउन दिए पनि त्यसको सही जतन नभएपछि तीन महिनादेखि आफैले चलाउन थालेको र हाल लगानी पनि उठाई सकेको बताइन् ।

त्यति नै रकम खर्चेर महिलाहरु बिदेशमा पुगेर विभिन्न प्रकारका जोखिम मोल्नभन्दा यहीँ बसेर केही गर्न सकिने उनले बताइन् ।

पुरुषले गर्ने सबैखाले काम महिलाहरुले पनि गर्न सक्छन् भन्ने देखाउन आफुले रिक्सा चलाउन सुरु गरेको उनी बताउँछिन् । ‘रिक्सावाली भएकोमा मलाई गर्व छ,’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप