बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुरु भो नेपाल आइडल

बुधबार, १२ माघ २०७३, १८ : ३७
बुधबार, १२ माघ २०७३

नेपालगञ्ज – चर्चित रियालिटी शोको नेपाली संस्करण ‘नेपाल आडल’ को अडिसन नेपालगन्जबाट सुरु भएको छ । बुधवारबाट सुरु भएको नेपालगन्ज अडिसनपछि नेपाली आइडल देशका अरु मुख्य सात सहरहरुमा हुँदैछ ।

नेपालगन्ज अडिसनमा मध्य तथा सुदुरपश्चिमका गायनमा रुची राख्नेहरुको उत्साहप्रद सहभागिता रह्यो । विहान १० बजेदेखि सुरु भएको अडिसनमा सहभागि हुन प्रतियोगीहरु विहान झिसमिसे उज्ज्यालोबाटै लाईनमा बसेका देखिन्थे । अडिसन स्थल प्रवेशका लागि गेट खुल्नु अघि प्रतियोगीहरुले समूह–समूहमा गीत गाउँदै कार्यक्रमस्थल आसपासलाई समेत संगीतमय बनाएका थिए । गीटार बजाउँदै अभ्यासरत प्रतीयोगीहरुको उत्साह देखेर जयबागेश्वरी स्कुलको दक्षिणी गेटतर्फको सडकमा ओहोरदोहोर गर्नेहरु पनि रोमाञ्चित भएका थिए ।

छोटो समयको तयारी र सूचनामा पनि गायनमा रुची राख्नेहरुको उल्लेख्य सहभागिता देखेर आफुहरु उत्साहित भएको नेपाल आइडलका प्रोजेक्ट हेड सुरेश पौडेले बताए ।

प्रोजेक्ट हेड पौडेलले भने, ‘यो क्षेत्रबाट नेपालगन्ज अडिसनमा देखिएको उत्साहबाट नेपाल आइडलको सिंगो टिम नै उत्साहित भएको छ । प्रतियोगीहरुको गायकी र निर्णायकहरुको प्रतिक्रिया सुन्दा हामीले अपेक्षा गरेभन्दा पनि राम्रो पायौं ।’

प्रतियोगितामा १६ देखि ३० वर्ष उमेरका युवाहरूले निःशुल्क प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ । पहिलो अडिसनमा सोह्र बर्ष पुगेर तीस बर्ष ननाघेको प्रमाण नभएका कयौंले प्रतिस्पर्धा गर्न पाएनन् । उमेर हदका कारण धेरैले गायनकला भएपनि प्रतिस्पर्धा गर्न नपाउँदा निराश भएर फर्किएका थिए । नेपाल आइडलमा उमेरको हद किन ? भन्ने प्रश्नमा प्रोजेक्ट हेड पौडेलले प्रष्ट पार्दै भने, ‘यो रियालिटी शो फ्रेन्चाइज आइडलको विश्वव्यापी नियम नै हो । यसमा हामीले तलमाथि गर्न मिल्दैन । उमेर नपुगेकाहरुको हकमा आगामी वर्षहरुमा नेपाल आईडलको ढोका संधै खुल्ला रहनेछ ।’

नेपालगन्जबाट सुरु हुने अडिसन बुटवलमा माघ १५, नारायणघाटमा माघ १८, वीरगन्जमा माघ २१, विराटनगरमा माघ २४ र २५, पोखरामा माघ २९ र फागुन १ एवम् काठमाडौंमा फागुन ७ र ८ गते हुनेछ । प्रतियोगितामा संगीतकार न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी निर्णायक छन् । प्रतियोगिताको स्तर र पुरस्कार राशिले पनि धेरैलाई आकर्षित गरेको छ । विजेताले ३१ लाख ४५ हजार रुपैयाँबराबरको महिन्द्रा कुप १०० कार, २० लाख रुपैयाँ र १५ लाख रुपैयाँबराबरको भिडियो एल्बम रेकर्डको अवसर प्राप्त गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप