बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संशोधन विधेयक पास वा फेल जे भएपनि फरक पर्दैन : उपेन्द्र यादव

बिहीबार, १३ माघ २०७३, १४ : ४७
बिहीबार, १३ माघ २०७३

काठमाडौं– संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संसदमा दर्ता भएको संविधान संशोधन बिधेयक काम नलाग्ने भएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौमा भएको साक्षात्कारमा बोल्दै संयोजक यादवले भने,‘संशोधन विधेयक काम नलाग्ने छ, यो पारित गरेपनि वा नगरेपनि काम छैन, यसले समस्याको निकास दिँदैन ’

साक्षात्कारमा बोल्दै यादवले संसदमा दर्ता भएको विद्येयक काम न काजको भएको समेत टिप्पणी गरे । उनले अघि थपे, ‘यो विधेयक पास गरेपनि केहि हुनेवाला छैन, फेल भएपनि केहि हुदैन ।’

संघीय समाजवादी फोरम नेपालका समेत अध्यक्ष रहेका संयोजक यादवले अहिले आँफैले बनाएको संविधान आँफै उल्लंघन गर्ने काम भैरहेको समेत आरोप लगाए । यादवले भने,‘अहिलेको सरकारले आफूले बनाएको संविधान आँफै उल्लंघन गर्ने काम गरिरहेका छ, संविधानमा २५ जनाभन्दा बढि मन्त्री बनाउन नपाउने व्यवस्था छ, तर अहिले ४३ सदस्य पुगिसके, अझै ६/७ जना लाईनमा बसिरहेका छन् ।’

स्थानीय तह पूर्नसंरचना आयोगले अघि सारेको प्रतिवेदन आफूहरुलाई स्वीकार्य नभएको जिकिर गर्दै यादवले भने ‘५२ प्रतिशत जनसख्या ओगटेको तराईमधेशमा मुस्किलले २५ प्रतिशत छ, यो न्यायोचित होईन, संरक्षित क्षेत्र, विशेष क्षेत्र र स्वायत्त क्षेत्रको पनि कुरै छैन, अनि कसरी चुनाव गराउने ? ’

कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले आफ्नो पार्टी निर्वाचनको पक्षमा रहेको भन्दै यसको लागि संविधान संशोधन बाधक नभएको स्पष्ट पारे । भट्टराईले संविधान संशोधन सुनियोजित तरिकाले संसदमा दर्ता गराएर निर्वाचनको वातावरण विथोल्ने षड्यन्त्र भैरहेको समेत आरोप लगाए । उनले प्रचण्ड नेतृत्वको वर्तमान सरकार संविधान कार्यान्वयन गर्न र प्राप्त उपलब्धिहरुको रक्षा गर्न गठन भएको भए बैशाखको अन्तिमसम्म स्थानीय तहको निर्वाचन गर्नुपर्ने र आगामी ०७४ माघ ७ गतेभित्रै बाँकी निर्वाचनहरु गर्नुपर्ने माग गरे । ‘चुनावको लागि सकारात्मक सहयोग गर्न एमाले जहिलेपनि तयार छ,’ उनले भने ।

माओवादी केन्द्रका नेता एव्म पूर्वमन्त्री हरिबोल गजुरेलले प्रमुख प्रतिपक्षी दल संविधान संशोधनको पक्षमा नउभिएको र मधेशी मोर्चाले संशोधन हुनैपर्छ भनिरहेको अवस्थामा आफ्नो पार्टीले समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताए ।

गजुरेलले भने,‘संविधान कसैलेपनि भनेकोजस्तै छैन, यो सबैको साझा दस्तावेज हो, हामीलेपनि भनेका कुराहरु लागु भएका छैनन् ।’ प्रमुख दलहरुवीच राजनीतिक निकास दिनेवारे ढिलो चाँडो सहमति हुने समेत उनको विश्वास थियो ।

उनले समयमै निर्वाचन गर्नुपर्ने भन्दै संविधान कार्यान्वयनको लागि पनि ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन गर्नुपर्ने र त्यसका लागि दलहरु मिलेर जानुको विकल्प नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप