बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

१३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारी शुरु

बिहीबार, १३ माघ २०७३, १७ : २५
बिहीबार, १३ माघ २०७३
काठमाडौ–युवा तथा खेलकुद मन्त्रालयले १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको छ । युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाईलीले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति बनाई खेलकुद प्रतियोगिताको तयारीको कामलाई अघि बढाइएको जानकारी दिएका हुन् । व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको विहिबारको बैठकमा बोल्दै मन्त्री श्रीपाईलीले खेलकुद प्रतियोगिताको संचालन तथा व्यवस्थापनका लागि सचिवालयको समेत स्थापना गरिएको पनि जानकारी दिए । उनले मन्त्रालयले बजेटको अभावमा खुलेर कुनै पनि कार्यक्रम गर्न कठिनाई भइरहेको गुनासो समेत गरे । मन्त्रालयका सम्पूर्ण काम कार्वाहीबारे जानकारी दिन समितिको बैठकमा उपस्थिति मन्त्री श्रीपाईलीले बजेटकै अभावका बीच सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नु परेको बताएका थिए । बैठकमा समितिका सदस्यहरुले मन्त्रालयले संघीय संरचना अनुसार नै खेलकुदको विकासलाई अघि बढाउनुपर्ने बताएका थिए । उनीहरुले खेलकुदको विकासका लागि छुट्टै एकेडेमी सञ्चालन गर्नुपर्ने बताए । यस्तै मुलुक संघीय संरचनामा गइसकेकाले खेलकुदको विकासमा ध्यान दिन मन्त्रालयको ध्यानाकर्षण गराएका थिए । बैठकमा समितिका सदस्यहरुले प्रशिक्षार्थी खेलाडीहरुलाई आवश्यक प्रशिक्षण दिन सरकारले आवाससहितको प्रशिक्षण केन्द्र स्थापना गर्नुपर्नेमा पनि जोड दिएका थिए । केपी ओली नेतृत्वको सरकारले गत असार २१ नै आगामी दुई वर्ष पछि नेपालमा आयोजना हुने १३ औं दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीको कामलाई अघि बढाउने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप