बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री बोल्दै गर्दा विद्युत् गएपछि ...

शुक्रबार, १४ माघ २०७३, १२ : ००
शुक्रबार, १४ माघ २०७३

पर्वत - नेपाल विद्युत प्राधिकरणले केही दिनअघि पर्वत जिल्लालगायत धौलागिरि अञ्चल नै विद्युत्भार कटौतीमुक्त घोषणा गरेको थियो । तर बिहीबार भने विद्युत्भार कटौतीमुक्त पर्वत जिल्लामा प्रधानमन्त्रीले महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै गर्दा नै विद्युत् आपूर्ति बन्द हुन पुग्यो ।

पाँचौँ पर्वत महोत्सवको उद्घाटन मन्तव्य व्यक्त गरिरहँदा अकस्मात विद्युत् आपूर्ति बन्द भएको हो । विद्युत् आपूर्ति पनि त्यतिबेला बन्द भयो जतिबेला प्रधानमन्त्रीले पर्वत र सम्पूर्ण धौलागिरिलाई विद्युत्को हव भएको भन्दै प्रशंसा गरिरहेका थिए ।

उनले कालीगण्डकी प्रसारण करिडोरको काम भइरहेको र यस क्षेत्रमा ठूला जलविद्युत् आयोजना बनिरहेको बताइरहेका थिए । केहीबेर विद्युत् आउने प्रतीक्षामा उभिरहनु भएका प्रधानमन्त्री विद्युत् नआएपछि सोफामा बस्न पुगे ।

करिब सात मिनेटपछि जेनेरेटरबाट विद्युत् आपूर्ति गरिएपछि प्रधानमन्त्रीले मन्तव्य सञ्चालन गरेका थिए। विद्युत् सञ्चालन नहुँदा आयोजक र सुरक्षाकर्मीका बीचमा दौडादौड नै चलेको थियो ।

नेपाल विद्युत् प्राधिकरण, पर्वत वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले केन्द्रीय तहबाट नै सिस्टम आउट भएकाले विद्युत् आपूर्ति बन्द हुन पुगेको बताए । अवरुद्ध विद्युत् सेवा भने प्रधानमन्त्री काठमाडौँ फर्केपछि झन्डै डेढ घन्टापछि सञ्चालन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप