बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तानसेन–बुटवलखण्डको सडक जीर्ण, यात्रा जोखिमपूर्ण

शुक्रबार, १४ माघ २०७३, १२ : ०५
शुक्रबार, १४ माघ २०७३

पाल्पा - सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवलखण्डको सडक जीर्ण बन्दै गएको छ । झन्डै ३९ किमी जीर्ण सडकमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

वर्षात्का समयमा सडकमाथिको पहाडबाट आउने पहिरोले ढुङ्गा र माटो बगाउँदै सडकमा थुपारेका कारण पनि सडकको अवस्था बिग्रँदै गएको हो । वर्षौंदेखि सडककोे मर्मत संहार र स्तरोन्नति नभएका कारण कतिपय ठाउँमा धुलाम्मे हुँदा बाटै देखिदैन ।

पाल्पा, गुल्मी, स्याङ्गजा, पोखरा, बागलुङसम्म दैनिक सयौँ सवारी साधन गुड्ने यस राजमार्गको अवस्था सुधार गर्न सम्बन्धित निकायको ध्यान नपुगेको श्रीनगर यातायात व्यवसायी समितिका अध्यक्ष डिलबहादुर ढुङ्गाना बताउँछन् ।

सडक अस्तव्यस्त भएको धेरै समय हुँदा पनि सम्बन्धित निकायको ध्यान नपुगेको गुनासो उपभोक्ता मञ्चका अध्यक्ष माधव नेपालको पनि छ ।

विसं २०२८ मा निर्माण भएको यस राजमार्गमा पहिरो र सवारी दुर्घटनाका कारण बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको छ । यस आवको ६ महिनामै १३ जनाको ज्यान गइसकेको छ भने २० यात्रु गम्भीर घाइते भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

सडक निर्माण गर्दा भौगोलिक अवस्था ख्याल नगरेका कारण पनि सडकको अवस्था बिग्रँदै गएको समयमै सुधार नभए अन्य थुप्रै व्यक्तिले ज्यान गुमाउनुपर्ने अवस्था आउने विज्ञहरुको भनाइ छ

निर्दिमघाटको पुल निर्माण कार्य बीचमै अलपत्र

कालीगण्डकी नदीमा निर्माणाधीन निर्दिमघाटको पक्की पुल बीचमै अलपत्र अवस्थामा छ । रामपुर नगरपालिका–११ र चापाकोट नगरपालिका–५ जोड्ने निर्दिमघाटमा निर्माणाधीन पक्की पुल एक वर्षयता अलपत्र अवस्थामा रहेको हो ।

विसं २०६८÷६९ मा कन्काई नेपाल प्रगति मिलिनियम जेभी कम्पनीले सम्झौता गरेर काम सुरु गरेको थियो ।

निर्माणाधीन पुलको बीचको भागको पिल्लर पुनः डिजाइन गर्नुपर्ने भएपछि निर्माण कार्य एक वर्षदेखि अलपत्र अवस्थामा रहेको हो । कम्पनीका ठेकेदार यमबहादुर श्रेष्ठले नदी थुनेर खाल्डो खन्दा साना साना ढुङ्गा आएपछि निर्माण कार्य रोकिएको बताए।

“चट्टानसहितको ढुङ्गा आउनुपथ्र्यो, साना साना ढुङ्गाका कण आएपछि काम गर्न सकिएन, अब यही महिनाभित्रमा सडक विभागबाट डिजाइन परिवर्तनको नक्सा आएपछि लगत्तै काम सुरु गर्छौं” – ठेकेदार श्रेष्ठले भने। भ्याटसहित रु १५ करोडको लगानीमा तीन वर्षभित्रमा पुल निर्माण सम्पन्न गर्ने गरी काम थालनी गरिएको हो ।

एक सय ५० मिटर लम्बाइ र ९०० मिटर चौडाइ रहेको पुलको पाँच वर्षमा अहिलेसम्म झन्डै पाँच करोडको लागतमा ३० प्रतिशत जति काम भएको कम्पनीले जनाएको छ । पुल समयमा नै सम्पन्न नहुँदा आवतजावतमा कालीनदी वारिपारिका स्थानीयवासीले ठूलो सास्ती भोग्दै आएका छन् ।

यहाँ पुल निर्माण भएपछि रामपुर नगरपालिका, हेक्लाङ गाविस र चापाकोट नगरपालिका गरी झन्डै २० हजारभन्दा बढी जनता प्रत्यक्ष लाभान्वित हुने चापाकोटका भगवान् तिमिल्सिनाले बताए ।

निर्माणाधीन पक्की पुल पुरा नहुँदा यस क्षेत्रका बासिन्दाले केलादीघाट र राम्दीघाटबाट लामो दूरीमा वारिपारि यात्रा गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप