बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तिनाउमा अवैध उत्खनन रोकिएन

शुक्रबार, १४ माघ २०७३, ०८ : ०६
शुक्रबार, १४ माघ २०७३

बुटवल - रुपन्देहीको तिनाउ नदीमा ढुङ्गा गिट्टी उत्खननका लागि पूर्णतयाः निषेधित क्षेत्रबाट अवैध रुपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन भइरहेको छ ।

सो क्षेत्र सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको लापर्बाहीका कारण अवैध रुपमा नदीमा उत्खनन गरिराखेको अवस्थामा बा१च ६४६९ नंको स्काभेटर केही महिनाअघि स्थानीय विकास अधिकारी, युवराज सुवेदी आफैँ पुगेर नियन्त्रणमा लिइ प्रहरीलाई बुझाउनुपरेको थियो ।

स्थानीय विकास अधिकारी आफैँ निषेधित क्षेत्रमा पुगेर अवैध उत्खनन कार्यको ‘अपरेशन’ गरी कारबाही थाल्दा पनि नदीमा दोहन कार्य अझै रोकिएको छैन । त्यस क्षेत्रमा स्काभेटर प्रयोग गरी जथाभावी उत्खनन गर्ने र टिपरमार्फत ढुङ्गा गिट्टी नजिकैको क्रसर उद्योगमा स्टक राखी बेच्ने गरेको स्थानीयवासीले जनाएका छन् ।

तिनाउ खोलामा जथाभावी उत्खनन गर्दा वातावरणीय समस्या बढेपछि केही वर्षदेखि उत्खनन ठप्प छ । स्थानीय अनुगमन समितिले अन्य समयमा पुलको ५०० मिटर दायाँ र बायाँ उत्खनन गर्न नपाइने गरी पूर्णतयाः निषेध गरेको छ । तर अमुवाको पुल नजिकै ६० मिटर भित्र दिनदहाडै अवैध उत्खनन हुँदा नजिकै रहेको सशस्त्र प्रहरी र जनपद प्रहरी रमिते बनेर बसिरहेका छन् ।

अमुवा पुल नजिकै बसेको सशस्त्र प्रहरीको सुरक्षा बेसका सशस्त्र प्रहरी निरीक्षक युवराज दाहालले नदीजन्य पदार्थ चोरी निकासीमा नियन्त्रणको प्रयास भइरहेको बताउनुहुन्छ । राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक पर्ने ढुङ्गा, गिट्टी, बालुवा र माटो निकासीका लागि जिविसबाट अनुमति पाएका कम्पनीबाहेक अन्यले निकाल्न नपाएको दाबी उहाँ गर्नुहुन्छ ।

स्थानीय विकास अधिकारी युवराज सुवेदीले आफूहरुले पटक पटक निकासीका नाकाहरुमा अनुगमन गर्दा त्यस किसिमका चोरी निकासी गर्ने काममा संलग्नलाई नियन्त्रणमा लिएर कारबाही गर्ने गरेको बताउँछन् । उनले पछिल्लो पटक राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक पर्ने स्रोत उत्खननका लागि तीन वटा निर्माण कम्पनिले अनुमति पाएको र तिनको समेत कडा निगरानी भइरहेको बताए ।

पछिल्लो पटक रुपन्देहीका मुख्य तीन वटा तिनाउ, दानव र रोहिणी नदीबाट नदीजन्य स्रोत निकासीका लागि ठेक्का भएको र १९ वटा नाका खोल्ने तयारी भइरहेको जानकारीसमेत दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप