बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कोसीटप्पुका दुई अर्ना चितवनमा ल्याइयो

शुक्रबार, १४ माघ २०७३, १२ : १८
शुक्रबार, १४ माघ २०७३

चितवन - कोसीटप्पु वन्यजन्तु आरक्षबाट दुई वटा अर्ना आज बिहान चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा ल्याइपु¥याइएको छ ।

ती अर्नालाई वनमन्त्री शङ्कर भण्डारी र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्कालगायतको उपस्थितिमा निकुञ्जको पदमपुर क्षेत्रमा आजै छोडिने कार्यक्रम रहेको छ ।

निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा यी जनावरका लागि खुल्ला खोर (इन्क्लोजर) निर्माण सम्पन्न गरिएको छ भने त्यहाँसम्म पुग्ने सडक पनि मर्मत गरी तयार पारिएको छ ।

बाघले अर्नाको सिकार गर्ने भएकाले खुल्ला खोरमा राख्ने व्यवस्था गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय बाघको सङ्ख्या बढेकाले अर्ना बथानमा परिणत नभएसम्म खुल्ला खोरमै राख्ने तयारी गरिएको छ । बाघजस्ता मांसाहारी जनावरबाट बच्नका लागि प्रकृतिले अर्नालाई बथानमा बस्ने स्वभाव दिएको कँडेलले बताए ।

कँडेलका अनुसार दुई हजार मिटर जाली लगाएर ३० हेक्टर क्षेत्रफलमा खोर निर्माण गरिएको छ ।

भुइँमा सोलिङ गरेर जालीलाई पिसिसीले च्यापेर ६ फिट अग्लो खोर बनाइएको उनले बताए । खोरमा वरिपरि सोलार फेन्सिङ गरिएको छ । जसका कारण अन्य जनावर खोरभित्र पस्न सक्ने छैनन् ।

इन्क्लोजरभित्र ४०० मिटर लामो र १५ मिटर चौडा भएको पानीको ताल बनाइएको छ भने बाँकी भाग घाँसे मैदान हो ।

सौराहाको हात्ती प्रजनन केन्द्रस्थित खोरसोरमा स्थानीय पर्यटन व्यवसायी, क्षेत्रीय होटल सङ्घ, मध्यवर्ती सामुदायिक वन, स्थानीयवासी लगायतले अर्नाको स्वागत गर्ने कार्यक्रमसमेत रहेको छ । सो पश्चात् बद्रेनी हुँदै राप्तीको गाईघाट तारेर पुरानो पदमपुरमा अर्ना पु¥याइने निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताए।

स्थानीयवासीले पहिले स्वागत गरेपछि पुरानो पदमपुरमा विशेष कार्यक्रमकाबीच मन्त्री भण्डारीले एक जोडी अर्ना छोड्ने कार्यक्रम रहेको उनले बताए ।

कोसीटप्पुबाट भाले र पोथी गरी दुई वटा अर्ना ल्याइएको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलसहित संरक्षणकर्मी र प्राविधिकको टोलीले कोसीटप्पुबाट अर्नासहित बिहीबार साँझ हिँडेको थियो ।

कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख श्यामकुमार शाहले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख कँडेललाई आवश्यक कागजात दिएर अर्ना हस्तान्तरण गरेका थिए ।

तीन वटा अर्ना ल्याउने तयारीस्वरुप तीन वटा खोर लगिएको भए पनि दुई वटा खोरमा मात्र अर्ना ल्याइएको हो । चितवनमा पाँच भालेसहित २० वटा अर्ना ल्याउने योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप