बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

ढुक्क हुनुहोस् दशैँमा काठमाडौँवासीलाई मेलम्चीको पानी उपहार दिन्छौँ (अन्तर्वार्ता)

शुक्रबार, १४ माघ २०७३, १४ : ४२
शुक्रबार, १४ माघ २०७३

०मेलम्चीको खानेपानी योजनको काममा अहिले केही समस्या आएको हो ?

मेलम्चीको काममा खाशै समस्या आएको छैन । केही समय अघि टर्नेल खन्ने काममा कमलो ढुङ्गा माटो भेटियो । यसलाई प्राविधिक भाषमा लुज रक भनिन्छ । यसले काममा अलिकति ढिलो गरेको हो । अरु खासै समस्या आएको छैन । अरु आउने सानातिना समस्या सामधान हुने गरेका छन् । टनेल खन्ने काममा जति कडा ढुङ्गा भयो, त्यति राम्रो मानिदोरहेछ । तर, यो समस्या पनि धेरै रहदैन । रात दिन मेलम्चीको काम भइरहेको छ ।

०तर पनि तपाईले आगामी दशैँसम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ, होइन र ?

यसमा म प्रतिबद्ध छु । आगामी दशैँमा मेलम्चीको पानी काठमाडौँमा ल्याउने गरी काम भइरहेको छ । जति अप्ठयारो भए पनि रातदिन काम गरी दशैँमा मेलम्चीको पानी काठमाडौमा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको छ । यसमा म आफैले पनि हेरिरहेको छु । असोजभित्र मेलम्चीको पानी काठमाडौँमा आउँछ । निश्चिन्त भए हुन्छ । म खानेपानी मन्त्रालयमा बहाल हुने बित्तिकै मेरो चासो र चिन्ताको विषय काठमाडौँका जनतालाई मेलम्चीको पानी कति चाँडो ल्याउन सकिन्छ भन्नेमा नै थियो । काठमाडौका पचास लाख जनतालाई शुद्ध खानेपानी पु¥याउने विषय हो यो । मेलम्चीको बारेमा लामो समयदेखि चर्चा हुँदै भइरहेको छ । यसका धेरै समस्या पनि छन् ।

मन्त्रालयमा वहाल भएको केही दिनमै म आफै मेलम्ची पुगे । ठेकेदारहरुसँग कुरा गरेँ । टनेल खनेको ठाउँमा पुगे । कर्मचारीहरूसँग बसेर कुरा गरेँ । उहाँहरूलाई मैले सरकारको तर्फबाट पनि एक मिनेट पनि काम ढिलो हुन दिन्न । तपाईँहरुले पनि चाँडो काम गर्नु होस्, काम गर्नुभएन भने कारबाही हुन्छ भनी निर्देशन दिएर फर्केको छु । स्थानीय जनताले सकारात्मक तरिकाबाट कामलाई सहयोग गरेका छन् । टनेल खन्ने काम अब साढे तीन महिनामै सकिन्छ । यसमा केही प्राविधिक कुराहरु पनि छन् । यसको लागि के के उपकरण चाहिन्छ, सरकारको तर्फबाट के आवश्स्यक पर्छ, त्यो सबै काम मन्त्रालयले गर्छ भनी मैले प्रतिबद्धता गरेको छु ।

० मेलम्चीको पानी काठमाडौँमा आयो भने काठमाडौको सबै ठाउँमा खानेपानीको समस्या समाधान हुन्छ त ?

यसमा पनि बुझनु पर्ने हुन्छ । काठमाडौंमा पानी आइसके पछि त्यसलाई फिल्टर गरेर वितरण गर्न अरु केही दिन लाग्न सक्छ तर काठमाडौमा पानी आउने बित्तिकै काठमाडौंको सबैको घरमा पानी पुग्छ भन्ने हुदैन । पानीको टयाकीं भरिनुपर्छ । त्यसलाई टेष्ट गर्नु पर्छ ।‘रि टेष्ट’ गर्न पर्छ । त्यस्तो गर्न समय लाग्छ नै । तर असोजमै काठमाडौमा पानी ल्याउन हाम्रो प्रतिबद्धता हो ।

०भने पछि सबैको घरमा पानी आउदैन ?

–सबै घरमा पानी आउने अबस्था असोजमै हुँदैन । कात्तिक, मंसीर या अरु केही समय लाग्न सक्छ ।

०लतिलपुर र भक्तपरमा पानी जान्छ कि जान्न ?

–योजना अनुसार मेलम्चीको पानी भक्तपुर,ललिपुर र काठमाडौंमा पठाउने नै हो तर पहिलो चरणको संरचनाले नपुगेको ठाउँमा दोश्रो संचरनाले पु¥याउँछ । पहिलो चरणमा १७ करोड लिटर पानी आउँछ । अर्को संरचनामा ३४ करोड लिटर पानी आउन अर्को पाँच वर्ष लाग्छ । दुई चरणको काम पुरा भएमा ५१ करोड लिटर पानी दैनिक आउँछ । पहिलो चरणको पानी आउँदा त्यसले जाँहा जाँहा भेटेको छैन, दोश्रो चरणको पानीले ती ठाउँहरूहरुलाई कभर गर्छ । त्यसै अनुसार काम भइरहेको छ ।

० काठमाडौँको हाइट भएको ठाउमा मेलम्चीको पानी आउदैन भनिदैछ नि ?

हाइट भएको ठाउँ या होचो ठाउँ भन्ने होइन । अहिले हामीले रिङरोड भित्रकोलाई पहिलो प्राथमिकतामा राखेका छौँ । रिङ्गरोडमा मेलम्चीको पानी आयो भने रिङरोड भित्रको स्रोत त्यसपछि रिङरोड बाहिरकोलाई जान्छ । त्यतिले पनि काठमाडौंमा पानी पुग्छ भन्ने छैन । नपुगेमा अरु बिकल्पहरुबाट पनि पानी जम्मा गर्ने योजना मन्त्रालयको छ । काठमाडौंको जनसंख्या यसरी बढ्दै गयो भने भोलि काठमाडौंको जनसख्यालाई दैनिक ५१ करोड लिटर पानीले पनि नपुग्न सक्छ ।

०अहिले मेलम्चीको खानेपानीको पाइप बिछ्याउने काम भइरहेको छ । यो कहिलेसम्म सकिन्छ ?

पाँच महिनाभित्रै काठमाडौंका सबै ठाउँमा पाइप बिछ्याउने काम सकिन्छ । अहिले रातभर पाइप बिछ्याउने काम हुने गरेको छ । यो त तपाईहरुले पनि देख्नु भएको छ ।

०तर यसले काठमाडौलाई धुलाम्य बनाएको छ । काठमाडौको धेरै ठाउँ अस्तव्यस्त नै भएको छ ?

–यो अस्तव्यस्ता केही समयमै हट्छ । साधनहरूहरुको आवजावतमा अस्तव्यस्ता नहोस भनी हामीले रातीको समयमा काम गरिरहेका छौँ । विहान पाँच वजे काम सकिन्छ । तर अहिले सडकमा धुलो निस्कने गरेको छ । धुलोले स्वास्थ्यमा हानी गर्ने गरेको गुनासो आउने गरेको छ । यसको न्युनीकरण गर्न पनि हामीले काम शुरु गरेका छौँ । अस्थायी रुपमा पनि न्युनीकरण गर्ने काम भएको छ ।

०तर धुलोको काम हटाउन मन्त्रालय मन्त्रालयबीचमै समन्वय हुन सकेको छैन भनिँदैछ नि ?

यो कुरा मैले पटक–पटक उठाउदै आएको छु । समन्वयको लागि खानेपानी मन्त्रालले यसको नेतृत्व गर्ने र अरु सम्बद्ध मन्त्रालय सदस्यरहने गरी म मन्त्रालयमा बहाल हुने वित्तिकै निर्णय गरेको छु । समन्वयमा समस्या छन् । सडक निर्माणकोमा भौतिक मन्त्रालयले गर्छ तर, बाटो भत्काउने वित्तिकै खानेपानीका पाइप भत्कने गर्छन् । पाइप विछ्याउन खानेपानीले बाटो भत्काउँछ । तर भत्केकको बाटो तत्काल कसले बनाउने ?खानेपानीले आफै बाटो बनाउन त सक्दैन । यस मन्त्रालयले भत्केको बाटो बनाउन भौतिक मन्त्रालयलाई पैसा दिएको हुन्छ तर भोतिक मन्त्रालयले समयमा काम गर्दैन । यसमा विद्युत प्राधिकरणको उर्जा मन्त्रालय पनि जोडिन्छ । बाटो खन्दा बिजुलीका पाइप, विजुलीका पोल विग्रन सक्छन् यी काममा पनि समन्वय हुन सकेको छैन । काठमाडौँबाहिर पनि यस्तै समस्या छ । खानेपानीको स्रोत जङ्गलमा हुन्छन । बन मन्त्रालयले यो मेरो क्षेत्र हो, मलाई नसोधी किन आयो, भनेर प्रश्न उठाउछ । उता, भूमिसुधारले यो सरकारको जग्ग्गा हो,यो बाटोमा खानेपानीको पाइप विछ्याउन दिन्न भन्छ । यस्ता खालका समस्या देखिएका छन । यी समस्याको कारण काममा ढिलासुस्ती हुने, सरकारको वजेट अनावश्यक खर्च हुने गर्छ र यसैगरी जनताले दुःख पाउने गरेका छन् । त्यसैले यो समस्याको सामधान गर्न खानेपानी मन्त्रालयको नेतृत्वमा समन्वय गरौ भनी मैले भनेको छु । यस्तो भएमा अनावश्यक वजेट खर्च हुने काम कम हुन्छ र काम पनि छिटो छरितो हुन्छ ।

आखिर सबै मन्त्रालयले, सबै दलहरुले काम गर्ने भनेको जनताको लागि नै हो । राष्ट्र त सबैको साझा हो । तर, कसले कति काम गर्ने भन्नेमा अलमलिएको मैले देखेको छु । यसबारेमा मन्त्रालय, मन्त्रालयवीच केही गृहकार्य भएमा सामधान हुन्छ जस्तो मलाई लाग्छ ।

०अब फेरि मेलम्चीको प्रसङ्गमा जाऔ, मेलम्चीको पानी काठमाडौंसम्म आउँदा कति रुपैयाँ खर्च हन्छ ?

– पहिलो चरणको कामको लागि २२ अरब ४५ करोड रुपैयाको खर्च हुन्छ । योे योजनामा १७ करोड लिटर पानी आउँछ । यस रकममा सामाजिक र प्राविधिक पक्षको लागि पनि खर्च भएको छ । अर्को चरणमा लार्के खोलाको पानी काठमाडौमा ल्याउन काम बाँकि नै छ । लार्के खोलाको पानी काठमाडौ ल्याएमा प्रति दिन ३४ करोड लिटर पानी आउछ । यसको डिपिआर तयार हुँदैछ । दुई वटा योजना तयार भए पछि सुख्खा याममा पनि ५४ करोड लिटर पानी काठमाडौँमा आउने छ ।

० ५४ करोड लिटर काठमाडौमा आउन कति समय लाग्छ ?

– यसमा अरु चार पाँच वर्ष लाग्छ । यसको लागि ९ किमी टनेल खन्नु पर्छ । अहिले काठमाडौको माग प्रतिदिन करिव अरु थप १७ करोड लिटर पानी हो । मैले यसअघि पनि भने, भोली यसले नपुग्न सक्छ । १५–१६ करोड लिटर त अहिले पनि विभिन्न मुहानबाट यहाँ पानी आइरहेको छ । त्यसमा करिव आधा नपुगेको हो भन्ने सरकारको अनुमान हो । काठमाडौका जनताको अहिलेको माग मेलम्चीबाट आउने १७ करोड लिटर पानीले पुरा हुने देखिन्छ । मेलम्चीबाट पानी आयो भने काठमाडौमा जनताले अहिले जसरी घर घरमा टुबेलहरु प्रयोग गरिरहेका छन्, त्यो प्रयोग गर्नु पर्देन ।

मेलम्चीको पानी आएमा एउटा घरमा आबस्यक पर्ने पर्याप्त पानी धारामा आउँछ त्यसबेला जति पानी प्रयोग ग¥यो, त्यति नै पैसा तिर्नु पर्ने स्थिति हुन्छ ।

०काठमाडौ बाहिर पनि खानेपानीको उत्तीकै समस्या छ, मन्त्रालयका अरु योजनाहरु के–के छन् ?

– हो, काठमाडौ बाहिर पनि अहिले खानेपानीको समस्या झन्–झन् बढदै गएको छ । यस मन्त्रालयले खानेपानीको काम नभइ सरसफाइको कामपनि गर्छ । अहिले देशभर खानेपानीको समस्या छ । तराइमा टुबेलबाट आउने आर्सनिक नामको पहेँलो पदार्थले खानेपानीलाई दुषित बनाएको छ । आर्सानिक स्वस्थ्यको लागि अत्यन्त हानीकारक मानिन्छ ।

यसले छालालाई पनि नोक्सान पार्छ । जनतलाई आर्सनिकमुक्त पानी खुवाउनको लागि डिप बोरिङ गरी एउटा ठूलो टयाँकी बनाउने र सो टयाँकीको पानी पाइप पाइपबाट प्रत्येकको घर–घरमा पठाउने योजना बनाएका छौँ । जमिनको धरै मूनिबाट पानी निकाल्ने हो भने आर्सानिक आउन बन्द हुन्छ । तर यो योजना अलि खर्चिलो पनि छ र केही समय पनि लाग्छ ।

पहाडमा पनि खानेपानीको समस्या छ । एकातिर खानेपानीका मुहान सुक्दैछन् । त्यसमा पनि भूकम्प आए पछि केही ठाउँमा खानेपानीको स्रोत नै सुकेको छ । खोला तल छ बस्ती माथि छ । पहाडका केही ठाउमा त मरुभुमि झै पानी नभएकै कारणले बसाइ सराइ गर्नु पर्ने स्थिति आएको छ । हामी गाँउ घरमा हुर्केका हौ । त्यतिखेर सय मुरी धान फल्न खेत अहिले पानीको कारण बाँझो भएका छन । त्यसको सामधानको लागि तल खोलाबाट माथि पानी ल्याएर गाँउमा पानी वितरण गर्ने योजना मन्त्रालयको छ । केही ठाउँमा यो काम पनि भएको छ । पानी नभएको सबै ठाउमा पानी पु¥याउन मन्त्रालय लागेको छ ।

०देशभर खानेपानीको समस्या कहिलेसम्म सामधान हुन्छ त ? – आगामि पाँच वर्ष भित्र देश भर प्रत्यक घरमा एउटा एउटा धारा,एक घर एक धाराको नारा कार्यन्वयन गर्ने उदेस्यका साथ हामीले काम गर्दैछौ । मानवजीवनमा खानेपानी आधारभुत आवश्यकता हो । हाम्रो रेकर्ड अनुसार १६ प्रतिशत जनताले आधारभुत खानेपानी पाएका छैनन् । त्यसको लागि हामीले काम गरीरहेका छौ ।अर्को कुरा पानीको स्रोतको संरक्षण कसरी गर्ने भन्नेबारेमा पनि मन्त्रालयको ध्यान गएको छ ।

सरसफाइको काममा पनि मन्त्रालयले योजना बनाएको छ । सबैको घरमा शौचालय हुने गरी मन्त्रालयले काम गर्दै छ । तर केही महिना भित्रै देशभर नै सबैको घरमा शौचालय हुने गरी मन्त्रालयले काम गरीरहेको छ तर शौचालय बनाएर मात्र हुदैन, शौचालयको लागि आवश्यक पर्ने पानी नहुदा एक पटक शौचालय बनाउने तर त्यसलाई निरन्तरता नदिने काम भइरहको छ । शौचालयको निरन्तरता कसरी दिन सकिन्छ भन्नेबारेमा पनि मन्त्रालयले काम गरीरहेको छ । यसैगरी ठाउँ–ठाउँमा सार्वजनिक शौचालय बनाउने काममा पनि हामीले गम्भिर भएर काम गर्दैछौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप