बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चितवनलाई दिएको अर्नाको साटो कोसीमा गैँडा माग

शुक्रबार, १४ माघ २०७३, १६ : १०
शुक्रबार, १४ माघ २०७३

चितवन - चितवनमा अर्ना ल्याइएपछि अहिले कोसीटप्पु आसपासका स्थानीय बासिन्दा तथा संरक्षणकर्मीले चितवनबाट गैंँडा दिन माग गरेका छन् ।

अर्ना नभएको चितवनमा अर्ना स्थानान्तरण हुँदै गर्र्दा स्थानीय संरक्षणकर्मीले भने कोसीमा दुर्लभ एक सिङ्गे गैँडाको माग गरेका हुन् । कोसीबाट चितवनमा पठाइएको दुई वटा अर्ना आज सार्वजनिक हुँदैछन् ।

‘चितवनमा अर्ना लगिएपछि हामीलाई पनि यहाँ गैँडा दिनुपर्छ,’ पश्चिम कुशाहालौकही मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष राजकुमार सिंहले भने ।

आफूहरुले अहिले मन कुँड्याएरै अर्ना दिएको बताउने सिंहले अब जसरी हुन्छ आफूहरुले पनि गैँडाको संरक्षण गर्न पाउनुपर्ने माग गरे । अर्ना स्थानान्तरण हुन लागेको थाहा पाएपछि पहिले आन्दोलनको अगुवाई गर्नेमा उनी पनि एकजना छन् ।

‘विरोधका बीच अहिले अर्ना लैजान दिन सहमति जनाएका छौंँ, वंश संरक्षणका लागि हो भने त गैँडाको पनि वंश संरक्षणका लागि कोसीवासीलाई दिनुप¥यो नि ?’ – उनले प्रतिप्रश्न गरे ।

कोसीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले समेत कोसीलाई गैँडा दिन माग गरिएको बताए । विभागमा समेत यो माग पु¥याइएको र यसप्रति सकारात्मक रहेको उनको प्रतिक्रिया छ ।

‘नदी तटीय क्षेत्र भएकाले दुई मिटरमै पानी निस्कन्छ, बर्दियामा जस्तो ढुङ्गा छैन, गैँंडाको स्याउ भनेर चिनिने भेल्दर पनि छ,’ प्रमुख शाहले भने, – कोसीमा गैँडाका लागि उपयुक्त बासस्थान छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ढुङ्गा गेग्य्रान हुँदासमेत गैँडा राखिएको तर कोसीमा उपयुक्त स्थान हुँदा पनि गैँडा नहुनु बिडम्वना भएको स्थानीयवासी बताउँछन् ।

चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल कोसीमा गैँडा लैजाने सम्भावनाका बारेमा बहस भइरहेको बताउँछन् । परापूर्वकालमा यहाँ गैँडा रहेको भए पनि निकुञ्जको अभिलेखमा भने नरहेको तर कोसी गैँडाका लागि अत्यन्त राम्रो बासस्थान उनको दाबी छ ।

कोसी क्षेत्रफल अलि सानो छ । सुरक्षा चुस्त पार्नुपर्ने आवश्यकता भएकाले यसतर्फ आफूहरु गम्भीर भएर लागेको आरक्षका प्रमुख शाह बताउँछन् । अहिले भगवती गुल्म भएकाले आरक्षले सेनाको गण नै माग गरेको छ ।

एक सय ७५ वर्ग किलोमिटरमा फैलिएको कोसीमा अहिले चार सय ३२ अर्ना छन् । चराहरु ५२० प्रजातिका छन् । डल्फिन ११ वटा छ भने गोही ७ वटा र गिद्ध २५० भन्दा बढी छन् । यो आरक्ष २०३२ सालमा स्थापना भएको हो ।

कोसी गैँडाको बासस्थानका लागि समेत उपयुक्त क्षेत्र भएको यहाँका संरक्षणकर्मीको दाबी छ । सीमाक्षेत्र भएकाले संरक्षणमा अलि चुनौती छ । चितवन निकुञ्जबाट बर्दिया र शुक्लाफाँटामा यो वर्ष पनि गैँडा स्थानान्तरण गरिँदै छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्का कोसीटप्पुबाट अर्ना ल्याउने काम सकिने बित्तिकै गैँडा स्थानान्तरणको प्रक्रिया सुरु गरिने बताउँछन् ।

तर कोसीमा गैँडा लाने विषयमा भने कुनै निर्णय भएको छैन । गैँडा बर्दिया र शुक्लाफाँटामा लैजाने तयारी छ ।

अघिल्लो वर्ष चितवन निकुञ्जबाट पाँचवटा गैँडा बर्दिया पठाइएको थियो । तीन वर्षमा चितवनबाट बर्दिया र शुक्लाफाँटामा गरी ३० गैँडा स्थानान्तरण गरिने २०७१ सालको सरकारी निर्णय छ । नेपालमा ६४५ गैँडा छन् जसमा चितवनमा मात्रै ६०० को हाराहारीमा रहेको अनुमान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप